
भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी)मा ‘विटेक इन कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ’को छैटौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थी निशान्तकुमार झाले नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहार अझै पनि भुल्न नसकेको बताए ।
केआइआइटीमा अध्ययरत नेपाली विद्यार्थी प्रकृति लम्सालले फ्रेबुअरी १६ तारिख (फागुन ४ गते ) आफू बस्ने होस्टलको कोठामा आत्महत्या गरेसँगै उत्पन्न भएको असहज परिस्थितिले नेपाली विद्यार्थीको मनोविज्ञान नराम्रोसँग प्रभावित भएको उनले उल्लेख गरे ।
“प्रकृतिको घटना हुनुअगावै सोही दिन त्यहाँ भारतीय र्यापर बादशाहको साङ्गीतिक कार्यक्रम तय भइसकेको थियो । त्यसैले नेपाली विद्यार्थीहरू पनि सो कार्यक्रमप्रति निकै उत्साहित थियौँ”, धनुषाको विदेही नगरपालिका–३ स्थायी घर भई त्यहाँ अध्ययरत विद्यार्थी झाले भने, “नेपाली विद्यार्थीले प्रकृतिको घटनामा कुनै कमीकमजोरी नहोस् भनेर कलेज प्रशासनलाई अनुरोध गर्यौँ । तर, कलेज प्रशासन सुनुवाइ नगरेपछि घटनाको प्रमाण नष्ट नहोस् भनेर दबाब दिने योजनासहित शान्तपूर्वक रूपमा आन्दोलन पनि गर्यौँ ।”
विद्यार्थीको प्रदर्शन चर्केपछि फ्रेबुअरी १७ तारिखमा केआइआइटीका रजिष्ट्रारले नेपाली विद्यार्थीलाई अर्काे सूचना जारी नभएसम्मका लागि तत्काल छात्राबास छाड्नका लागि निर्देशन दिएका थिए । झाले कलेज प्रशासनले एकएर्फी ढङ्गले नेपाली विद्यार्थीले छात्राबास छाड्नुपर्ने सूचना जारी गरेपछि नेपाली विद्यार्थीको मनोबल खस्किएको स्मरण गरे ।
“नेपाली विद्यार्थीलाई ‘बाउन्सर’ लगाएर अपमानजनक ढङ्गले निकाल्ने प्रयास गरियो । सो घटनाले हाम्रो मन साह्रै कुडिएको छ”, उनले भने, “हाम्रै कतिपय साथीभाइ कुटपिटको कारणले घाइतेसमेत बन्नुभयो ।”
विद्यार्थी झाले कलेज प्रशासनले नेपाली विद्यार्थीलाई बसमार्फत कुर्दह, पुरी भुवनेश्वरलगायत फरक–फरक रेल्वे स्टेशनमा छाडेको दाबी गरे ।
केआइआइटीमा छैटौँ सेमेष्टरमा फेसन डिजाइन अध्ययनरत एक नेपाली छात्राले घटना हुने दिन मृतक लम्सालले आफूसँग जुत्ता मागेको पनि स्मरण गरिन् । “प्रकृति र म फरक–फरक विषय लिएर अध्ययन गर्ने भए पनि बेलाबखतमा भेटघाट भइरहन्थ्यो । घटना हुने दिन पनि प्रकृतिले मलाई जुत्ता दिनका लागि अनुरोध गरेकी थिइन् । मैले सहजै भइहाल्छ नि भन्ने जवाफ फर्काएकी थिएँ”, वीरगञ्ज स्थायी घर भएकी नाम खुलाउन नचाहने ती छात्राले भनिन्, “घटना भएकै दिन प्रकृतिसँग मेरो कुराकानी भएको थियो । उनले आधा घण्टाभित्रै जुत्ता लिन आउने बताएर आफ्नो होस्टेलतर्फ लागेकी थिइन् । तर, कहिल्यै नआउने गरी अस्ताएकी छन् ।”
ती छात्राले प्रकृतिले कुन कारणले आत्महत्या गर्ने परिस्थितिमा पुगिन् भन्ने विषयमा स्वतन्त्र ढङ्गले खोज तथा अनुसन्धान गर्न आवश्यक रहेको बताइन् ।
केआइआइटीमा बिबिए दोस्रो सेमेष्टरमा अध्ययनरत नेपाली विद्यार्थी साहिरकुमार कलवार पनि कलेज प्रशासनले एक्कासी छात्राबास खाली गर्नुपर्ने सूचना दिएपछि समस्याका बीचमा वीरगञ्ज फर्किएको दुखेसो पोखे ।
कलवारले निकै सास्ती खेप्दै वीरगञ्ज फर्किएको बताए। “यति धेरै दुःख झेलेर आइयो । त्यो कहालीलाग्दो क्षण भुल्न पनि सकेका छैनौँ”, उनले भने ।
केआइआइटीबाट फ्रेबुअरी १८ मा घर फर्किएका बाराका अमन कुशवाहले कलेज प्रशासनले नेपाली विद्यार्थीलाई स्वदेश फर्कन पनि पर्याप्त समय नदिएको गुनासो गरे ।
केआइआइटीमा अध्ययरत गर्दै आइरहेका विद्यार्थी वीरगञ्जमा फर्किएपछि आज बिहान वीरगञ्जको घण्टाघरचोकमा प्रदर्शनी गरेका छन् । मृतक प्रकृति लम्सालको न्याय र त्यहाँ अध्ययनरत विद्यार्थीले सहज वातावरणमा अध्ययन गर्न पाउने वातावरण सृजना गर्नका लागि विद्यार्थीले नेपाल सरकारसँग माग गरेका छन् ।
केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थीले आज प्रकृतिलाई मर्न बाध्य पार्ने युवकलाई कारबाही हुनुपर्ने माग राखेका छन् । स्वदेश फर्किएका नेपाली विद्यार्थीले केआइआइटीमा कार्यरत रहेर नेपालको बजेटसँग सम्बन्धित छुद्र टिप्पणी गर्ने दुई महिला कर्मचारीलाई आजीवन कलेजबाट निष्काशन गर्नुपर्ने, नेपाली विद्यार्थीमाथि कुटपिट गर्नेलाई आवश्यक कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।