
काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयका विद्यार्थीहरूले फोहर वर्गीकरण गरेर बिक्री गर्न थालेका छन् । कामपामा वडा नं २२ नयाँ सडकमा रहेको हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयबाट उत्पादन भएको फोहर बेचेर आयआर्जन गर्न थालेका छन् ।
सामुदायिक विद्यालयमा कामपाले कार्यान्वयन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रमअन्तर्गत गठन गरिएको वातावरण र बालबालिका (वाबा) उपसमूहका विद्यार्थीहरू विद्यालयको सरसफाइ गर्दा बटुलिएको फोहर वर्गीकरण गरेर बिक्री गर्न थालेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । विद्यालयमा सफाइ गर्दा सङ्कलन भएको कागज, कडा प्लाष्टिक, रबर, खाना प्याकिङ गर्ने खोल, सुक्खा सामानलाई छुट्टाछुट्टै ठाउँमा राख्छन् । सामान्यतया कुहिने र नकुहिने गरी फोहरलाई दुईवटा बाल्टिनमा राख्ने गरिएको उनले बताइन् ।