११ साउन २०८३, सोमबार

ललितपुरका मतदाताले पत्याएनन् चुनावी उम्मेदवार

मंसिर ७, २०७४
ललितपुरका मतदाताले पत्याएनन् चुनावी उम्मेदवार

ललितपुर, ७ मंसिर– मंगलबार ललितपुर महालक्ष्मी नगरपालिकाको सिस्नेरीमा ठूलो आवाजमा वाम गठबन्धनको गीत घन्कियो । 

‘स्वाधिनता र समाजवाद सवृद्धिको नारा, 
उठौ, जागौं कम्युनिष्टहरु ए नेपाली सारा !!’

ललितपुर क्षेत्रनंबर दुईका प्रतिनिधि सभा उम्मेदवार कृष्णलाल महर्जन र  प्रदेशसभाका उम्मेदवार माधव पौडेल एमाले र माओवादीका कार्यकर्ताको  साथमा थिए ।
ललितपुर क्षेत्र नंबर दुईमा प्रदेश र प्रतिनिधि सभाको चुनावमा एमालेकै नेताहरुको उम्मेदवारी रहेपनि चुनावी घरदैलो अभियानमा एमाले र माओवादी दुवै पार्टिका कार्यकताको साथमा महर्जन र पौडेल घरदैलो अभियानमा हिडेका थिए ।

गाउँमा ठूलो स्वारमा स्पीकर बजाउँदै मतदाताको घरघरमा पुगेर आफ्नो पाटिको चुनाव चिन्ह देखाउदै उम्मेदवारहरुले हात जोडेर भोट मागे । उनीहरुसंगै रहेका सहयोगीहरुले महर्जन र पौडेलको चुनावी घोषणा पत्र मतदाताको हातमा थमाइदिएर सुर्यमा भोट हाल्न आग्रह गरे ।

एमालेका एक कार्यकर्ताको घरमा चुनावी घरदैलो अभियान सकेर वामगठबन्धका कार्यकर्ताहरु खाना खाने तयारी गर्दै थिए । ठूलो आवाजमा वामपन्थीको प्रसंशा र नाराको गित लगातार बजिरहेको थियो ।
सोही कार्यक्रम भएको घर नजिकै एउटा घरमा ८९ वर्र्षीया कान्छा भुजेल निगालो हातमा लिएर डोको बुन्दै थिए । डोको बुन्न व्यस्त रहेका भुजेललाई ठूलो आवाजमा धन्किएको चुनावी गीतको कुनै वास्ता थिएन ।  चाउरी परेको

बुढेउली अनुहारमा नत चुनावको रौनक देखिन्थ्यो ।

बाटोकै छेउमा घरको पिढिमा बसेर उनी डोको बुन्दै थिए ।
त्यही बाटो हुदै एकजना युवा आएर उनलाई  बोलाए ‘ए बुबा जाम त्यता तिर चुनावी कार्यक्रम हेर्न ।’
उनको आग्रहलाई अस्वीकार गर्दै भुजेलले भने, ‘जुन नेता आएपनि हामीलाई के हुन्छ र जाउ जाउ म जाँदिन ।’ उनी एकनासले डोको बुन्न थाले ।

आँखा अगाडीरहेको मानिसको चहलपहल र चुनावी रौनको उनलाई कुनै वास्ता थिएन ।
‘चुनावको बेला हामीसंग हात जोडेर भोट माग्न आउछन् । जस्लाई दिएपनि हुने केही भएन,’ लोकान्तरलाई  भने, ‘हामी गरिवलाई केही न केही ! ओठ मुख सुकाएर दिनभरी लाइन बसेर भोट हाल्ने मात्रै त हो । जुन नेताले पनि आसा मात्रै देखाउने हुन् । ’

भूकम्पले भत्किएको घर देखाउँदै उनले थपे, ‘अहिलेसम्म भूकम्पले भत्काएको घर बनाउन नसकेर टहराकै बास छ । नेतालाई भोट हालेर के पो भा छ र?’
सरकारले दिएको ५० हजारले घर नपुग्ने र आफुसंग अरु पैसा नहुदा घर बनाउन सुरु नै  नगरेको उनको भनाइ छ ।
राजनीति प्रति चासा राख्ने केही मानिस बाहेक अन्य स्थानीयलाई चुनावको कुनै रौनक थिएन ।

सिस्नेकीकै कमला पौडेलले पनि नेताहरु भोट माग्न मात्रै आफ्नो अगाडि आउने गरेको बताइन् । ‘अहिले यस्तो गर्छु उस्तो गर्छु भनेर आउँछन् । मलाई त कुनै पनि उम्मेदवारको विस्वास लाग्दैन । जसलाई भोट हालेपनि जितेर गएपछि भोट हाल्नेलाई विर्सन्छन् । उहाँहरुको प्रतिवद्धता चुनाव जित्नलाई मात्रै हो ।’

कमला संगै रहेका २१ वर्षीया प्रविन पौडेलले थपे, ‘नेताहरुले घोषणा पत्र बनाउने मात्रै हुन् । कुरा मात्रै गर्छन् काम गर्ने होइनन् । पार्टिका नेताहरु घरमा आएर हामीलाई जिताउनु यस्तो गर्छु उस्तो गर्छु भन्छन् । मलाई त विस्वास लाग्दैन उनीहरुको ।’

यता दुई पार्टिका कार्यकर्ताको साथमा जनताको घरदैलोमा पुगेका खुसी भएको प्रतिनिधि सभाका उम्मेदवार कृष्णलाल महर्जनले जनताहरु आफुप्रति सकारात्मक रहेको बताए । ‘चुनावी अभियान धेरै राम्रो भएको छ । दुई कम्युनिष्टहरु एक साथ मिलेर आउँदा जनताहरु धेरै खुसी भएका छन्,’  महर्जनले ‘दिगो सरकार नहुदा योजनाहरु अलपत्र छन् । धुँवा धुलोको समस्या खानेपानीको समस्या भएको मतदाताको गुनासो छ । वाम गठबन्धनको सरकार बनेमा देशमा दिगो विकास हुन्छ भनेर प्रतिबद्धता जनाउँदै भोट मागेको छु ।’

महर्जनले ललितपुरको सडकमा व्याप्त रहेको धुलो, धुवाँ हटाउने, ललितपुर र महालक्ष्मी महानगरपालिकाको सडक,ढल व्यवस्थापन गर्ने, ऐतिहासिक महत्वका सम्पदाहरुको पुनर्निमाण गर्ने, नगरहरुलाई व्यवस्थित र सुविधायुक्त बनाउने, युवाहरुको सक्रियतामा ललितपुरलाई विश्वकैपर्यटन गन्तव्यको रुपमा विकास गर्ने लगायतका बुँदागत रुपना नै ३२ वटा  प्रतिवद्धताहरु बनाएर मततादाको घरघरमा पुगेका छन् । 
यस्तै लोकातान्त्रिक गठबन्धनका उम्मेदवार  चन्द्र महर्जनले पनि मंगलबार बिहान महालक्ष्मी नगरपालिकाको विभिन्न ठाउँमा चुनावी घरदैलो अभियान चलाए । उनी पनि मतदाताको घरघरमा पुगेर आफ्नो योजनाहरु सुनाउदै आफुलाई भोट दिन आग्रह गरिरहेका छन् । 

कांग्रेसका चन्द्र महर्जनले शान्ति र संविधान कार्यन्वयन गर्ने, ललितपुरको शिक्षा, स्वास्थ्य, खानेपाली, सडक, पर्यटन रोजगारी लगायतका विषयलाई समेटेर २१ बुँदामा आफ्नो प्रतिबद्धता पत्र उम्मेदवार सामु पु¥याएका छन् ।
चुनावी अभियानकै क्रमम रहेका उम्मेदवार चन्द्र महर्जनले जनताले संविधान कार्यन्वयनका लागि आफुलाई जिताउने विश्वास लिएका छन् ।

आगामी मंसिर २१ गते हुने निर्वाचनमा  मतदाताले आफुलाई भोट हालेर जिताउने दुबै गठबन्धनका उम्मेदवारको दावी छ । 

भोट माग्दै गाउँ पुगेका उम्मेदवारको प्रतिवद्धतालाई ललितपुरका मतदाताले विश्वास गरेका छैनन् । हरेक निर्वाचनमा भोट माग्न आउने र जितेपछि गाउँ नफर्कने उम्मेदवारको बानी मतदाताले पहिचान गरिसकेका छन् ।  उम्मेदवारहरु उत्साहका साथ भोटमाग्न गाउँ पसेपनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रति उम्मेदवारको उत्साह कम देखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्