२८ जेठ २०८३, बिहीबार

जीर्ण भवनमा पठनपाठन : सरकार आश्वासन दिन्छ, बजेट दिँदैन

फागुन १०, २०८१
काठमाडौं
जीर्ण भवनमा पठनपाठन : सरकार आश्वासन दिन्छ, बजेट दिँदैन

कञ्चनपुरको बेदकोट नगरपालिका १० चतहरीमा रहेको रत्न माध्यमिक विद्यालय अभावै अभावमा सञ्चालन भैरहेको छ । पुराना जीर्ण जस्तापाताको छानो भएका भवनमा विद्यार्थीलाई पठनपाठन गराउन निकै समस्या हुने गरेको छ । 

विद्यालयमा रहेका आठ  भवनका १२ कक्षा कोठामध्ये आठ कक्षा कोठा मात्रै प्रयोग गर्न योग्य रहेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर सार्कीले बताए । वर्षातका बेला भवन चुहिने भएकाले पठनपाठनमा समस्या हुने गरेको उनले बताए । 

उनका अनुसार हिउँद र गर्मीका बेला पानी नपर्दासम्म भवन प्रयोग गर्न सकिने भए पनि जस्तापातामा खिया लागेर प्वालै प्वाल परेकाले वर्षातमा भवन प्रयोग गर्न सकिँदैन । 'विद्यार्थीका लागि बस्न प्रयाप्त डेस्क बेन्च छैनन्, भएका पनि पुराना भएकाले कुन समय टुट्ने हुन पत्तो छैन, आर्थिक अभावले मर्मत गर्न सकिएको छैन,' उनले भने 'पुराना विद्यालय भवनका झ्याल, ढोका प्लाइउडका भएकाले मक्किएर खस्ने अबस्थामा छन, शौचालय पुराना र निकै जीर्ण हुँदा प्रयोग गर्न लायक छैनन् ।'

खानेपानीको पाइप विद्यालयसम्म ल्याइए पनि निकै कम मात्रै पानी आउने भएकाले विद्यार्थी शिक्षकलाई खानेपानीको पनि समस्या उत्तिकै रहेको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये ९० प्रतिशत जनजाति र दलित समुदायका रहेका छन् । दश प्रतिशत विद्यार्थी मात्रै अन्य समुदायका रहेका छन् ।

अभिभावकको आर्थिक अवस्था दयनीय हुँदा विद्यालयमा भौतिक संरचना निर्माणमा सहयोग गर्न आर्थिक सहयोग माग्न नसकिएको प्रअ सार्कीको भनाइ छ । विद्यालयमा कुल विद्यार्थीको सङ्ख्या पाँच सय ५५ रहेको छ । तीमध्ये ६० प्रतिशत छात्रा रहेका छन् । नियमित विद्यालय आउने विद्यार्थीको सङ्ख्या ७० प्रतिशत रहेको छ ।

अभिभावकमा चेतनाको कमी हुँदा ३० प्रतिशत विद्यार्थी नियमित विद्यालय नआउने गरेको प्रअ सार्की बताउँछन् । केही अभिभावकले बिचमै पढाइ छुटाएर बालबालिकालाई आफूसँगै काम गर्न लैजाने गरेका छन् । बिचमै कक्षा छाड्ने विद्यार्थीको सङ्ख्या २० प्रतिशतको हाराहारीमा रहेको छ । 

बालबालिकालाई नियमित विद्यालय पठाउनु पर्छ भनेर छलफल, बैठक बोलाए पनि अभिभावक उपस्थित नहुने गरेको गुनासो प्रअ सार्कीले सुनाए । विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीले आर्थिक विपन्नताकै कारण एउटै पोशाक वर्षभरि लगाउनु पर्ने अबस्था रहेको छ ।

 विद्यालयका शिक्षक भन्छन्, 'विद्यालयको अवस्थाबारे नगरपालिका कार्यालय र वडा कार्यालयमा अवगत गराए पनि समस्या अझै सम्म समाधान हुन सकेको छैन, आश्वासन पाइने गरे पनि विद्यालयका भौतिक पूर्वाधार सुधारमा ध्यान दिइएको छैन ।'

विद्यालय भवन निर्माणका लागि प्रदेश सरकारले दिने भनिएको २० लाख रकम विद्यालयको स्वामित्वको जग्गा नहुँदा नगरपालिकामार्फत वित्तीय हस्तान्तरण गरी उपलब्ध गराउने भएको छ ।

विद्यालयमा माध्यमिक तहका एक र आधारभूत तह (प्राथमिक तह)का ६ गरी सात जना शिक्षक मात्रै स्थायी रहेका छन् । राहत कोटामा तीन, नगर शिक्षक दुई र संघीय अनुदानबाट तीन जना शिक्षक विद्यालयमा कार्यरत छन् । विद्यालय विसं २०३९ सालमा स्थापना भएको हो । रासस

salt training

कमेन्ट गर्नुहोस्