२६ जेठ २०८३, मंगलबार
यात्रा संस्मरण

देवघाटधामको आध्यात्मिक यात्रा

फागुन १०, २०८१
काठमाडौं
देवघाटधामको आध्यात्मिक यात्रा

देवघाटधाममा माघ मेला लागेको थाहा पाएपछि ९२ वर्षीय हजुरआमाले भन्नुभयो, 'जुन दिन तीर्थ वर्त गरें गरें, अब त खै कता जान सकिन्छ र ?'  मैले तत्काल भने, 'जाने भए के गारो छ र ? जाउँ न त। मैले यसोभन्दा हजुरआमाले मोक्ष हुने भए भन्दै मुहार चम्किलो पार्नुभयो । अनि हाम्रो चार पुस्ता, हजुरआमा, आमा, जीवनसंगिनी, छोरा सत्कृत र मसहित पाँच जनाको टोली पावन भूमि देवधाटधामको धार्मिक यात्राका लागि तयार भयौं।

 बिहान ६:४५ मा हामी काठमाडौंको क्षेत्रपाटी पुग्यौं। सौराहा जाने पर्यटकीय बस हामीलाई नै पर्खे जसरी चढ्नेवित्तिकै हिँड्यो। करिब २ बजे हामी आँपटारी पुग्यौं । गाडीहरूको लामो जाम थियो । आँपटारीबाट देवघाटधाम जाने मूल बाटो एकतर्फी बनाइएको रहेछ । देवघाट जाने अधिकांश भक्तजनले चितवनको आपँटारी हुँदै सबैभन्दा छोटो दूरीको रूपमा यही बाटो प्रयोग गर्दा रहेछन् । उनीहरू चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुल तरेर तनहुँपट्टीको क्षेत्र देवघाटमा पुग्ने गर्छन् ।

जीवनसंगिनी सविताले ट्राफिकसँग हजुरआमाको अवस्थाले सानो गाडी लान दिन्छ की भनेर सोध्न थालिन्। ट्राफिक समस्याले त्यो रुटमा त्यो दिन शववाहन पनि लान दिएको रहेनछ। अब वैकल्पिक उपाय खोज्ने हिसाबले नजिकैको सानो होटलमा आमाहरूलाई केहीबेर विश्राम गराई शौचालयको लागि अनुरोध गरे। साहुनीले सहर्ष स्वीकार गरेर चाबी दिइन् । बाहिर केही नखाने आमाहरूलाई पिसाब भने छिटो छिटो लाग्ने, उदार हृदयकी साहुनीलाई मनैदेखि धन्यवाद दिएँ। केहीबेरमा एउटा तीन पाङ्ग्रे अटो रिक्सा लिएर चौधरी थरका एक भाइले भने, 'देवघाट जाने हो ? म सिधै पारी पुर्‍याई दिन्छु, मात्र एक हजार ।'​

समयानुसार चल्नु पर्ने थियो। ननुहाई केही पनि नखाने भनेर आमा र हजुरआमाको अडान हुनाले हामीले पालना गरेका थियौं। त्यसैले सहर्ष स्विकार गर्‍यौं। ठिमुरास्थित त्रिशुली नदी पक्की पुल तर्दै गर्दा बाटोमा रिक्सा चालक भाइले भन्दै थिए, रवि लामिछाने नभएको भए यो पुल अझ पनि बन्दैन थियो। हामी करिब आधा घण्टामा ठिमुराको बाटो हुँदै पारी देवघाटधाम हरिहर आश्रम प्राङ्गण नजिकै पुग्यौं। ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण, भगवान् नारायणका शरीरबाट उत्पन्न भएकी कृष्णगण्डकी र भगवान् शङ्करका त्रिशूल प्रहारबाट उत्पन्न भएकी त्रिशूली नदीको संगमस्थलमा रहेको देवघाटधाम शान्ति र अध्यात्मिक उन्नयनको लागि अति महत्वपूर्ण  तिर्थस्थल हो। 

कतै हराएमा बजाउनु है सानो छोरा सत्कृतको घाँटीमा सिटी बाँधिदिएका थियौं। नदी संगममा पुग्ने बेला कता हरायो भनेको त उसले आफूजत्रै हात्तीको शिला भेटाएछ । त्यसमाथि चढेर सिटी फुक्दै रमाइरहेको थियो ।

देवघाट धाममा पाइला राख्नेवित्तिकै एक प्रकारको आनन्द आएको थियो। हरिहर आश्रममा गएर गुरुसँग भेटघाट गर्‍यौं। गुरुले हामी सबैलाई बस्ने कोठाको व्यवस्था गरिदिनुभयो। हजुरआमा, आमासँग यात्रा गर्दा आवासभन्दा पनि खानाको समस्या हुने गर्दछ, तर आश्रमको बसाइले यी सब कुरा टरेको थियो। देवघाटमा भएका अरू आश्रमहरूभन्दा हरिहर आश्रमसँग हाम्रो आस्था र भावना पहिलेदेखि गाँसिएकाले त्यहाँ बस्यौं। श्री परमानन्द संस्कृत गुरुकुलम् विद्यापीठम्‌सहित हरिहर संन्यास आश्रमको व्यवस्थापन हाल श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजद्वारा भइरहेको छ, जो ब्रह्मलीन स्वामी परमानन्द सरस्वती गुरु महाराजका उत्तराधिकारी हुनुहुन्छ। हरिहरको नित्य–पूजा, हवन, प्रवचन, नित्य भण्डारा, तीर्थयात्रीको लागि आवास तथा भोजनको व्यवस्था, वृद्ध असहायको यथाशक्य सेवा, गोसेवा यस आश्रमका मुख्य कार्य रहेछन् ।

यी सबैको व्यवस्थामा आवश्यक आर्थिक स्रोतको मूल आधार श्रद्धालु भक्तहरूको सहयोग नै रहेको पनि थाह पायौं । गुरूकुलमा हाल आवास भोजनसहित निःशुल्क रूपमा करिब तीन सय विद्यार्थीहरूले गुरूहरूको सान्निध्यमा आधुनिक शिक्षाको साथ–साथमा वैदिक दर्शन, संस्कार, संस्कृति र संस्कृतशिक्षाको शास्त्री तहसम्मको अध्ययन गरिरहेको देख्दा आनन्द आयो।

हरिहर आश्रममा केही क्षणको विश्रामपछि हामी गंगा स्नान गर्न देवघाट संगमतिरको यात्रामा निस्कियौं। सानो छोरा सत्कृतको घाँटीमा कतै हराएमा यो बजाउनु है भनेर हामीले सिटी बाँधिदिएका थियौं। नदी संगममा पुग्ने बेलामा कता हरायो भनेको त उसले आफूजत्रै हात्तीको शिला भेटाएछ र त्यसमाथि चढेर सिटी फुक्दै रमाइरहेको रहेछ।

यता हजुरआमा आफ्नै शैलीको भजन गाउँदै हिँड्नुभएको थियो। आमालाई मैले डोर्‍याएर हिँडाउँदै नदी संगममा पुगियो।

माघ महिना त्यसमा पनि औँशी परेको हुँदा घाट वरपर एकदम घुइँचो थियो। देवताहरूको सञ्चरण क्षेत्र भएकाले नै यसलाई वराहपुराणमा हालको देवघाटलाई देवघाट तथा अन्य शास्त्रमा हरिहरक्षेत्र र प्रयाग पनि भनिएको साधु-सज्जनबाट थाहा पाइयो ।

 सानो छोरा सत्कृत पनि गंगाजीमा नुहाउने रहर गर्‍यो। ऊ पनि पानीमा तीन पटक मसँगै डुबुल्की मार्‍यो। हामीले स्नान गरेर भजन गाउँदै दीप प्रज्वलन गर्‍यौं। संगममा नुहाउँदा सूचनामूलक सन्देश 'नदी गहिरो र तीव्र बहाव छ सुरक्षित साथ स्नान गर्नुहोला' लेखेर मसिनो डोरीको एस धर्के बार लगाइएको रहेछ। तर, सुरक्षा अझ नपुगेको र खतरा न्यूनीकरण गर्न अझ जरुरी देखिन्छ। त्यसपश्चात्, साँझको आरती भेट्टाउन हरिहर आश्रम पुग्यौं। साँझ भण्डारमा भोजन ग्रहण गरेर आश्रमले उपलब्ध गराएको कोठामा सुत्यौं। यसरी चार पुस्तासँगै कुराकानी गर्दै भजन गर्दै एउटै कोठामा आराम गर्दाको आध्यात्मिक आनन्द अविस्मरणीय रह्यो।

हामी बिहान ४ बजे उठ्यौं। प्रातः ५ बजे नित्य आरती हुँदो रहेछ। बिहान र साँझमा परिसरबाट निस्कने शङ्ख र घण्टका साथै ब्राह्मणवटुकका वैदिक मन्त्रोचारणले यहाँको वातावरणलाई नै पवित्र बनाइरहेको हुन्छ, जयजयकार हुन्छ। आरतीपश्चात् हामी भने स्नान गर्न पुन: देवघाट नदी संगममा पुग्यौं। स्थानपश्चात् पारी जान रबर बोटको प्रयोग गरियो। नदीको बीचमा पुगेपछि आमाले ओहो कस्तो निलो भुमरीजस्तो डरलाग्दो ठाउँ भनेपछि बल्ल लाइफ ज्याकेटको याद आयो र नलाएकोमा पश्चाताप लाग्यो।

सकुशल पारि पुगेपछि बद्रिनाथ मन्दिर तथा धार्मिक मेला महोत्सवको दर्शन गरियो। यस्तो शान्त ठाउँमा ध्यान योग गर्ने ठाउँमा धार्मिक महोत्सव गर्दा उत्पन्न चर्को ध्वनि प्रदूषण भने सम्बन्धित पालिकाहरूले ध्यान दिनु पर्ने आवश्यक देखिन्छ। हिँड्दै हामी त्रिशूली नदीमाथिको झोलुङ्गे पुलतिरबाट देवघाट जाने निधो गर्‍यौं। दैनिक हजारौँ भक्तजनले आवतजावत गर्ने यो झोलुङ्गे पुल तर्दै गर्दा पुल एकदम हल्लिएको थियो। विसं २०३७ सालमा निर्मित जीर्ण भइसकेको पुल त्यसमा पनि मोटरसाइकल गुड्ने हुनाले जोखिमपूर्ण बनेको भान भयो। हुन पनि दुर्घटना हुनु पूर्वनै यस्तो जोखिमपूर्ण पुलको तत्काल विकल्प खोज्नुपर्ने देखिन्छ।

पुल तरेर हामी हरिहर मन्दिर पुग्दा ठीक ८ बजेको थियो। एक घण्टाका लागि गुरुको प्रवचन श्रवण गर्ने सौभाग्य प्राप्त भयो। सानो छोरा सत्कृत अलि चञ्चल भएकाले म भने पुरै बस्न सकिनँ। स्कन्धपुराणमा ज्ञान प्राप्त गरेर त्यसलाई सत्मार्गमा लगाएमा मोक्ष पाइने कुरा गुरुका मुखारवृन्दबाट सुन्न पाइयो। श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज रुपाकोट आश्रममा बस्दा मेरो बुबा हेमलाल न्यौपाने भेट्न जानु हुने कुरा थाहा पाउँदा आनन्द आयो र ब्रह्मलीन स्वामी परमानन्द सरस्वती गुरु महाराजले मेरो हजुरबुबालाई साथमा लिई विभिन्न स्थानको सप्ताह तथा धार्मिक कार्यमा सँगसँगै लानुहुने प्रिय पात्र हुनुहुन्थ्यो भनेको सुन्दा, आफू आश्रमसँग जोडिन पाएकोमा गर्व महसुस भयो।

त्यस्पश्चात् हामी सबै त्यही भण्डारामा भोजन गर्‍यौं । करिब २ बजेतिर हामी हाम्रो गन्तव्य काठमाडौंतर्फ लाग्यौं। देवघाटधामको यात्राले सबैको मन प्रसन्न भएको थियो। गुडिरहेको गाडीको अघिल्लो सिटमा बसेको सानो छोरा सत्कृतले मतिर पछाडि हेर्दै भन्यो, बाबा हामी देवघाट फेरि कहिले आउने ?

salt training

कमेन्ट गर्नुहोस्