२५ असार २०८३, बिहीबार

आमाले गर्ने घरायसी काम कुनै जागिर हुन्थ्यो भने औसत तलब कति होला ?

आमाले गर्ने घरायसी काम कुनै जागिर हुन्थ्यो भने औसत तलब कति होला ?

काठमाडौं, ७ मंसिर — तपाईं यस्तो जागिर खान चाहनुुहुन्छ जसमा घन्टौं काम गर्नुपर्छ, कुनै छुट्टी पाइँदैन र वर्षौंवर्षसम्म प्रमोसनको कुनै सम्भावना हुँदैन ? न यसमा सप्ताहान्तको छुट्टी हुन्छ, न तलब थाप्ने कुनै दिन नै हुन्छ । यो जागिरमा तलबै हुँदैन ।

छक्क नपर्नुस् । संसारभरि आमाहरू यस्तै काम कुनै गुनासोविना नै गरिरहेका छन् । हो, आमाको काम कुनै जागिर होइन तर यो जागिर हुन्थ्यो भने उहाँको तलब कति हुन्थ्यो होला ? 

हालै विश्व सुन्दरी बनेकी मानुषी छिल्लरले आमा नै सबभन्दा बढी तलबको हकदार भएको बताएकी थिइन् । तर वास्तविकतामा आमाले दिनभरि गरेको मेहनतलाई कामको दर्जा नै दिइँदैन र कुनै तलब पनि दिइँदैन । अनि उहाँलाई हाकिमले जस्तो गरी अह्राउनेहरूको चाहिँ कुनै कमी हुँदैन ।

छिमेकी मुलुक भारतमा अर्गनाइजेसन फर इकोनोमिक कर्पोरेसन एन्ड डिभेलोपमेन्टले सन् २०११ मा गरेको एक अध्ययनअनुुसार, एक भारतीय महिला औसतमा दिनको ६ घन्टा तलबविना नै काम गर्छिन् । नेपाली महिलाको स्थिति पनि यही हो ।

अर्थशास्त्रीहरूका अनुसार, गृहिणीको तलब नभएपनि उनीहरूको कामलाई आर्थिक गतिविधिको दर्जा दिनुपर्छ र राष्ट्रिय आम्दानीमा जोड्नुपर्छ । यसलाई बेवास्ता गर्दा अर्थव्यवस्थामा महिलाको योगदानलाई हामी नकार्छौं । 

भारतको इकोनोमिक टाइम्स पत्रिकाले गरेको अध्ययनमा भारतीय मध्यमवर्गीय परिवारकी गृहिणीको काम हेर्दा उनलाई मासिक ७२ हजार रुपैयाँ तलब दिनुपर्ने देखिन्छ ।

झन् कामकाजी महिलाहरूलाई घर सम्हाल्न असाध्यै गाह्रो हुन्छ किनकि अफिसको काम सकिएपछि घरमा उनको शिफ्ट शुरु हुन्छ । पेप्सी कम्पनीकी अध्यक्ष इन्द्रा नूईले एक अन्तार्वार्तामा बताइएअनुसार उनी एक दिन घर ढिलो पुग्दा उनकी आमा गेटमा बसिरहेकी थिइन् र उनलाई दूध ल्याउन लगाइन् । नूईले आफू पेप्सीको अध्यक्ष हुन लागेको बताइन् । उनकी आमाले जवाफ फर्काइन्, ‘तिमी पेप्सीको अध्यक्ष भएर के भो त ? घरमा पसेपछि तिमी एक पत्नी हौ, छोरी हौ, बुहारी हौ अनि आमा हौ । तिमी यो सबै हौ र तिम्रो ठाउँ कसैले लिन सक्दैन । आफ्नो अध्यक्ष पद घरभित्र नल्याऊ ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्