२३ असार २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

भारतसँग सुटुक्क सहमतिदेखि सशस्त्र प्रहरीमा हस्तक्षेपको प्रयाससम्म

फागुन १२, २०८१
काठमाडौं
भारतसँग सुटुक्क सहमतिदेखि सशस्त्र प्रहरीमा हस्तक्षेपको प्रयाससम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारलाई थाहै नदिई भारतबाट आयात हुने विद्युतको महसुल वृद्धि गर्न सहमति जनाएका छन् ।

गत माघ ३० गते भारतको राजधानी नयाँ दिल्लीमा बसेको नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी)को १६ औं बैठकमा घिसिङले सुटुक्क १३२ केभीमार्फत आयात हुने विद्युतका लागि १ दशमलव ५ प्रतिशत र ३३ केभीमार्फत आयात हुने विद्युतका लागि १ दशमलव ६५ प्रतिशत महसुल बढाउन सहमति गरेका हुन् ।
००००
सशस्त्र प्रहरी ऐनको विधेयकमा गृह मन्त्रालयले व्यापक चलखेल गरेको पाइएको छ । 

सशस्त्र प्रहरी मुख्यालयले एसएसपीदेखि आईजीपीसम्मलाई राखेर संगठनको हितमा गरेका निर्णयको सिफारिसलाई गृहले ‘टोकरी’मा फाल्दै आफू अनुकूल हावी हुने गरी विधेयकमा व्यवस्था गरेको हो । 

विशेष गरी मौजुदा ऐन, २०५८ मा संघीय सुरक्षा निकायको रूपमा रहेको सशस्त्र प्रहरी परिचालन नेपाल सरकारले गर्ने र नियन्त्रण, सुपरिवेक्षण तथा अनुगमन गृह मन्त्रालयले गर्ने उल्लेख थियो । 

सशस्त्रले यो दफालाई हेरफेर गर्दै प्रस्तावित ऐनको विधेयकमा परिचालन, नियन्त्रण र रेखदेख नेपाल सरकारले गर्ने र गृहले मात्र निर्देशनात्मक कार्य र सुपरिवेक्षण गर्ने सिफारिश गरेको थियो । 
००००
अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि सोमबार दरखास्त आह्वान गरेको छ । 
सूचनाअनुसार इच्छुक उम्मेदवारले फागुन १८ गतेभित्र आवेदन दिन सक्नेछन् ।
००००
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयको आइतबार बसेको बैठकले नेपाल प्रहरीमा जनपद समूहतर्फका डिआइजी भट्टराईलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
००००
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको ट्विटर (एक्स) अकाउन्ट नभएको र नक्कली आइडी बनाएर गलत प्रचार गरेकाप्रति प्रधानन्यायाधीशको निजी सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ । 

प्रधानन्यायाधीशको निजी–सचिवालयका उपरजिस्ट्रार नवीनकुमार यादवले जारी गरेको प्रेस विज्ञप्तिमा एउटा मिडियाले ‘प्रधानन्यायाधीश राउतको अकाउन्टबाट असान्दर्भिक पोस्ट, ह्याक भएको आशङ्का’ शीर्षकमा प्रकाशित समाचार र सो समाचारमा सङ्लग्न ट्विटर अकाउन्ट एवं सोमा लेखिएको व्यहोराप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
००००
सैनिक कल्याणकारी कोषको रकम रु ८७ अर्ब एक करोड पुगेको छ ।

नेपाली सेनाद्वारा आइतबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०३२ सालमा  ‘बहुजन हिताय बहुजन सुखाय’को उद्देश्य राखेर स्थापित कोषको रकमगत पुस मसान्तसम्म आइपुग्दा त्यो परिमाणमा पुगेको जानकारी दिइयो ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेता कार्यकर्तामाथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन्  ।

कांग्रेसको राप्तीसोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उद्घाटन गर्दै डा कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन् ।
००००
७ महिनामा ७ हजार बढी विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् ।

चालू आर्थिक वर्षको माघ महिनासम्म ७ हजार ५३७ वटा विद्युतीय कार, भ्यान, जीप, मिनी र माइक्रो बसहरू आयात भएका हुन् ।
००००
प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर संसदमा राजनीतिक तरंग उत्पन्न भएको छ । आइतबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा पूर्वराजा शाहको अभिव्यक्तिले स्थान पाएको हो । 

प्रतिनिधि सभा बैठकको शुरूमै आकस्मिक समयमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले गणतन्त्रविरोधी अभिव्यक्ति स्वीकार्य नभएको बताउँदै राजनीति गर्ने भए चुनाव लड्न सुझाव दिइन् । 

 यस्तै नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजा फर्काउन आन्दोलन गर्नु नपर्ने भन्दै प्लेन टिकट काटिदिए पुग्ने बताए ।
००००
‘केपी ओली कप’को शुभारम्भ गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको अवसरमा उनले केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरेका हुन् ।
००००
नेपाल फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ)को ‘ग्रे लिस्ट’मा परेपछि आइतबार शेयर बजार निकै उतारचढावपूर्ण देखिएको छ ।
शुरूमै उच्च अंकले घटेर २६९२ सम्म झरेको नेप्से अन्तिममा ११.६६ अंकले बढेर २७५५.४० अंकमा बन्द भएको छ ।
००००
दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई तत्काल पदबाट हटाउन ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

ऊर्जामन्त्री, जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्काविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेखेका गुरुङलाई पदबाट हटाएर तत्काल त्यसको जानकारी गराउन मन्त्रालयले बिहीबार नै प्राधिकरणलाई पत्र लेखेको पाइएको हो ।
००००
चलचित्र लाज शरणम्ले युनिभर्सल सर्टिफिकेट पाएको छ ।

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले आइतबार लाज शरणम्लाई युनिभर्सल सर्टिफिकेट दिएको हो  । अर्थात् चलचित्र सबैले हेर्न मिल्नेगरि प्रमाणपत्र पाएको निर्देशक कुमार कट्टेल ‘जिग्री’ले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्