
इटहरी, ७ मंसिर – मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा संखुवासभाका उम्मेदवारहरूले उत्तरी नाका सञ्चालनलाई साझा चुनावी एजेण्डा बनाएका छन् ।
खासगरी प्रतिनिधिसभाका लागि संखुवासभा र ताप्जेजुङबाट उम्मेदवार बनेकाहरुले यो मुद्दा प्रमुखताका साथ उठाएका छन । आफ्नो घोषणापत्रमै संखुवासभाका वाम उम्मेदवार राजेन्द्र गौतम र कांग्रेस उम्मेदवार दीपक खड्काले आफ्नो जिल्लाको किमाथांका नाका संचालन गर्ने मुख्य चुनावी मुद्दा बनाएका छन् ।
चुनावी अभियानमा समेत किमाथांका पुगेरै वाम र कांग्रेस उम्मेदवारले जसरी पनि उत्तरी नाका संचालन चाँडो गर्नेमा पहल गर्ने बताएका थिए । ओलाङचुङगोला नाका क्षेत्रका स्थानीयलाई ताप्लेजुङका वाम उम्मेदवार योगेश भट्टराई र कांग्रेस उम्मेदवार केशव दाहाले चाँडो व्यवस्थित नाका खोल्ने बताएका छन् ।
किथाथांकामा सुख्खा बन्दरगाह
विराटनगगर–किमाथांका ३७६ किलोमिटर उत्तरदक्षिण लोकमार्ग बनाउन आफू लागि पर्ने संखुवासभाका पूर्व सांसद तथा हाल कांग्रेस उम्मेदवार दीपक खड्काले बताए ।
सदरमुकाम खाँदवारीबाट किमाथांका जान हिडेर सात दिन लाग्ने तर सडक मार्गले जोडेपछि एकै दिनमा पुगिने बताँउदै खड्काले त्यसको लागी आफूले पूर्ण पहल गर्ने बताँउछन् । ‘अब १६२ किलोमिटर लामो खाँदबारी किमाथांक जोड्ने ट्रयाक खोल्न मात्रै ४० किलोमिटर बाँकी छ’, लोकान्तरसँग खड्काले भने, ‘खोलिएका ट्रयाकलाइ कालेपत्रे गर्ने र चार लेनको बनाएर व्यस्त उत्तरी नाका खोल्ने मेरो प्राथामिकता छ ।’
खड्काले आफूले सांसद हुँदै किमाथांका खोलाउन पहल गरेको बताँउदै अबको चुनावमा पनि जितेमा किमाथांका नाकाको पुर्ण संचालन गर्ने बताउँछन् । भन्छन, ‘पहिले सदरमुकाममा रहेको भन्सार नाका अब किमाथांका पुगेको छ र राष्ट्रिय प्राथामिकताको सडक भएकोले त्यो नाका चाँडै खुल्छ ।’
उत्तरी नाका खोल्नेमा कांग्रेस उम्मेदवार जस्तै आफ्नो पनि पहिलो प्रथामिकतामा किमाथांका नाका संचालन रहेको बताँउछन् वाम गठबन्धनका उम्मेदवार राजेन्द्र गौतम ।
संखुवासभाको व्यापार, पर्यटन र चौतर्फी विकासको लागि किमाथांका नाका बरदान भएको बताँउदै गौतम आफुले जसरी पनि यो नाका चाँडै खुलाउने बताँउछन् ।‘विश्वमा सबैभन्दा धेरै जनसंख्या भएका भारत र चिनलाइ स्थलमार्गबाट छोटो दुरिमा जोड्न किमाथांका नाका महत्वपुर्ण छ’, गौतमले भने, ‘चिन र भारतीय बिहार राज्यसम्म जहाजबाट सामान पुग्न २२ दिनदेखि एक महिना लाग्छ तर किमाथांका खोलेपछि एक हप्तामै संभव हुनेछ ।’
विश्वको सबैभन्दा ठुलो पर्यटकिय बजार चिनका पर्यटकहरु नेपालमा स्थलमार्गबाट तान्न पनि किमाथांक आवस्यक भएको बताँउदै गौतमले भने, ‘किमाथांकाको बाटो चार लेन कालोपत्रे हुँदा प्रदेश एकको व्यापारिक व्यस्तता नै व्यापक हुनेछ त्यसैले पनि यो नाका जसरी पनि खोलिनेछ ।’
ओली सरकारले चिनसँग पारवाहन र प्रचण्ड सरकारले बिआरआइ सम्झौता गरेकोेले पनि यो नाका खुलाएर चिनसँग व्यापार गर्न धेरै सहज भएको गौतम बताँउछन् ।
कृषकलाई बजार भेट्न र बजारलाइ कृषि उपज पाउन पनि किमाथांक नाकाको संचालनले फाइदा पुग्ने गौतम बताँउछन् । आफूले चुनाव जितेमा पाँच बर्षमा गर्ने पहिलो काम नै किमाथांका नाका रहेको बताँउदै गौतम भन्छन्, ‘मैले आफ्नो कार्यकालमा किमाथांकालाई अन्तराष्ट्रिय नाका बनाउन सकिन भने राजनितिबाटै सन्यास लिनेछु ।’
ओलांचुङगोला खोलाउने प्रतिवद्धता
ताप्लेजुङमा वाम गबन्धनका ‘हेभिवेट’ उम्मेदवार योगेश भट्टराईले आफ्नो चुनावी प्रतिवद्धताको पहिलो मुद्धा नै ओलाङचुङगोला हुने भन्दै आएका छन् । भट्टराईले बनाएको एक चुनावी भिडियोमा पनि ओलाङचुङगोला नाका खोल्ने कुरालाइ प्रस्तुत गरिएको छ । ताप्जेजुङका वालुङ समाजले आफ्नै पहलमा बनाएको तिप्तला भन्ज्यांङदेखि किमाथांका जोड्ने बाटो विस्तार गरेर भारतीय राज्य पश्चिम वंगाल तथा चिनको तिब्बतका विचमा व्यापारिक मार्ग बनाउने लक्ष्य रहेको भट्टराईले बताँउदै आएका छन् ।
ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि ओलाङचुङगोला पुग्ने ६२ किलोमिटर सडकमा ३७ किलोमिटर बाँकी सडको ट्रयाक पनि चाँडो खुलाएर उत्तरी नाका संचालन गर्ने लक्ष्य रहेको भट्टराईको चुनावी मुद्दा रहेको छ । अब वाम गठन्धनले सरकार बनाउने बताएका भट्टराई ओली सरकारको पारवन र उत्तरी नाका खोल्ने प्राथामिकता बमोजिम नयाँ गठबन्धन सरकारले आलाङचुङगोला जसरी पनि खोल्ने बताए ।
यस्तै वाम गठबन्धनका उम्मेदवार योगेश भट्टराईलाई चुनावी टक्कर दिँदै आएका कांग्रेस उम्मेदवार केशन दाहाल पनि ओलाङचुङगोला नाकाको संचालन आफ्नो प्रथामिकतामा पर्ने बताँउछन् ।
‘कांग्रेसका भौतिक योजना मन्त्री हुँदा नै तिप्तला भन्ज्याङदेखि ओलाङचुङगोला सम्मको ट्रयाक खोलिएको हो’, दाहालले भने, ‘अब मैले चुनाव जितेभने यो नाका खोलाउन जसरी पनि पहल गर्नेछु ।’ ओलाङचुङगोला नाका खोलेपछि चिनिया पर्यटकहरु पनि ताप्लेजुङ स्थलमार्गबाटै आउन सक्ने भन्दै दाहाल जिल्लाको व्यापार, पर्यटन र पारवाहनको चौतर्फी विकासको लागी ओलाङचुङगोला अत्यावश्यक भएको बताँउछन् ।