
महाशिवरात्रि पर्वका कारण आज पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने भीडभाड व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजनका निम्ति ट्राफिक व्यवस्थापनको विशेष व्यवस्था गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सिनामंगलदेखि गौशाला हुँदै चाबहिलसम्मको चक्रपथ क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरिएको छ ।
यसैगरी पुरानो बानेश्वर, भीमसेनगोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोबाट सवारी प्रवेश निषेध गरिएको छ ।
धोबीखोलातर्फ रातोपुल, कालोपुल, सिफललगायत क्षेत्रबाट पनि पशुपतितर्फ जाने सवारीसाधनलाई प्रतिबन्ध लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै चाबहिल, गौरीघाटलगायत क्षेत्रबाट पनि सवारीलाई पशुपति क्षेत्रभित्र प्रवेश नदिइने ट्राफिक प्रहरीले जनाएको छ ।
भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा पार्किङ गर्ने ठाउँ पनि तोकिदिएको छ ।
दर्शनार्थीका सवारीसाधनको पार्किङ तिलगंगा आँखा अस्पतालअगाडि, सिफलचौर र गुह्वेश्वरीपारि करिडोर सडकमा गर्ने व्यवस्था मिलाइएको छ । वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीका ट्यांकरहरू पार्किङ गराइनेछ ।
पशुपति विकास कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारीसाधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका साधन पार्किङको व्यवस्था मिलाएको छ ।