२२ जेठ २०८३, शुक्रबार

ससुरालाई भोट माग्दै गगनले भने - कांग्रेसले हारे अर्को चुनावको ठेगान छैन !

ससुरालाई भोट माग्दै गगनले भने - कांग्रेसले हारे अर्को चुनावको ठेगान छैन !

काठमाडौं, ७ मंसिर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले यसपालिको प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले हारेमा पाँच वर्ष पछि आउने अर्को निर्वाचनको ठेगान नहुने बताएका छन् । उनले अहिलेको चुनाव कांग्रेसले नजितेर बामपन्थीहरुले जितेमा पाँच वर्ष पछि चुनाव हुने वा नहुने ठेगान नहुने बताए ।

नुवाकोट क्षेत्र नम्बर एकबाट चुनाव उठेका आफ्ना ससुरा बुवा अर्जुननरसिंह केसीको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेसले आज नुवाकोटको देवीघाटमा चुनावी सभा आयोजना गरेको थियो ।

अहिलेको चुनाव जनमत संग्रह जस्तै भएको बताउँदै थापाले देशलाई सुन्दर भविष्यतर्फ लैजाने वा राजनीतिक प्रयोगशाला बनाउने भन्ने कुराको फैसला जनताले गर्नुपर्ने बताए । उनले यो चुनावमा जनताले विवेक प्रयोग गर्नुपर्ने समेत बताए ।

उनले माओवादी र एमालेको समिकरणतर्फ शंकेत गर्दै कम्युनिष्टहरु देशलाई विगार्ने र भत्क्याउने तत्व मात्रै भएको बताए । उनले कम्युनिष्टहरुले देशलाई जोड्न नसक्ने समेत बताए ।

पहिलो संविधानसभामा माओवादी सांसदहरुले कुर्सी भाँच्दै गर्दा यस्ता उपद्र्याहरुलाई छाडेर जानुपर्छ भन्ने एमालेले अहिले स्वार्थका लागि माओवादीसँग समिकरण गरेको बताए । माओवादीलाई छोडेर दुई तिहाइको दण्डले हान्नु पर्छ भनेर एमाले अघि बढ्दै गर्दा कांग्रेसले माओवादीलाई सँगसँगै ल्याएको थापाले बताए ।

कांग्रेसले अहिलेसम्म देशलाई जोड्ने काम गरेको बताए । चुनाव जित्नु ठूलो कुरा नभएको तर देशलाई जोड्ने कुरा निकै ठूलो भएको उनले बताए । स्थानीय निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बाराको सिमरामा मात्रै गएर मत माग्न सकेको तर बाँकी तराईका जिल्लामा जान नसकेको थापाले बताए । त्यस्तै राजेन्द्र महतोले चाहिँ सिमरनगढमा मात्रै पुगेर मत मागेको बाँकी पहाड उक्लन नसकेको आरोप थापाले लगाए । तर कांग्रेसले देशलाई जोड्दै तराईदेखि हिमालसम्म पुगेर मत मागेको बताए ।

उनले देश जोड्ने विषय कठिन भएको बताउँदै पाँच वर्ष पछि पछुताउने गरी मतदान नगर्न उनले जनतालाई अनुरोध गरे । सोही कार्यक्रममा पुगेका उद्योगपति विनोद चौधरीले यदि यो निर्वाचनमा कांग्रेसले जितेमा ५ वर्षमा नेपालको आर्थिक वृद्धिदर चिनको सरह हुने बताए । कार्यक्रममा उल्लेख्य सर्वसाधारणको उपस्थिति रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्