२२ जेठ २०८३, शुक्रबार

मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

फागुन १४, २०८१
काठमाडौं
मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका-१ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने १८ वर्षीय रविकुमार चौधरी, पाल्पाको तानसेन नगरपालिका-६ घर भई काठमाडौंको नयाँबस्ती बस्ने १९ वर्षीय मनिष थापामगर र सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका-१ घर भई काठमाडौंको नयाँपाटी बस्ने २० वर्षीय विशाल तामाङ रहेका छन् ।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौंको चावहिल गंगाहिटीमा साँझ ५ बजे चोरी भएको मोटरसाइकल फेला परेपछि सोधपुछ गर्दा चौधरीले उक्त मोटरसाइकल तामाङले दिएको बताएपछि प्रहरी अनुसन्धान अघि बढाइएको थियो । 

वास्तविक नम्बर प्रदेश २-०२-००४ प ६६५० भएको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०१७ प ७५०५ राखी चलाइरहेको अवस्थामा फेला परेको थियो । अनुसन्धानका क्रममा तामाङलाई काठमाडौंको जोरपाटी नयाँबस्तीबाट नियन्त्रणमा लिइएको थियो भने मोटरसाइकलमा सवार थापा मगरलाई समेत पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

उक्त मोटरसाइकल काठमाडौंको नरेफाँटबाट हराएको भनी सोनु कारकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए ।

ट्राफिक प्रहरीले सवारी धनीहरूलाई आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न सुझाव दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्