२२ असार २०८३, सोमबार
नेपालको वर्तमान स्थिति

राजनीतिमा फुटानीवाद र नेपालको चित्र

फागुन १८, २०८१
काठमाडौं
राजनीतिमा फुटानीवाद र नेपालको चित्र

नेपाललाई नचिनी वा नबुझिकन विकासको कुरा गर्नु एक प्रकारले बकवास नै हो । हाम्रो सामर्थ्य र कमजोरी थाहा नपाइकन प्राथमिकता र आवश्यकता तय हुन सक्दैन । संसारभरिका विकसित राष्ट्रहरूले यस सत्यलाई बुझे, थाहा पाए, अनि अघि बढेका हुन् भन्ने पनि थाहा पाउनुपर्छ । नत्र हाम्रो बहस खोलाको गीत वा अनुत्पादक कार्यमा परिणत हुन जान्छ ।

दुःखका साथ भन्नुपर्छ, नेपालमा यतिबेला यस्तै शृंखला जारी छ । नेपालका राजनीतिज्ञ विभिन्न राजनीतिक सिद्धान्त, वाद र विचारधाराका विषयमा वर्षौंदेखि बहस गरिरहेका छन् । तर, देश जहाँको त्यहीँ छ । बहसले मात्र त कहीँ नपुर्‍याउँदोरहेछ । देशको सामर्थ्यलाई एकढिक्का बनाएर देशका लागि मिलेर अघि बढ्ने बहस चलाएको भए शायद देशको अनुहार बदलिइसक्थ्यो! तँ जान्ने र म जान्ने भन्ने बहसले देशलाई अधोगतिमा लैजाँदैछ । खरायो गतिमा दौडनुपर्ने समयमा कछुवा गतिमा समेत घस्रिन सकेको छैन । योभन्दा विडम्बना के हुनसक्छ ?

सधैँभरी मै जान्ने, मै बुझ्ने भन्ने भावका साथ कुरा गर्ने, आफूले गरेको वा आफूबाट भएको कामभन्दा ज्यादा गफ अर्थात् बढाइचढाइ कुरा गर्ने, अनावश्यक घमण्ड गर्ने, चाहिनेभन्दा बढी फुर्ती लगाउने र गर्न नसक्ने, हुन वा गराउन साह्रै गाह्रो पर्ने काम पनि एक चुड्कीमा गराइदिने हावादारी गफ कसैले दिन्छ भने त्यसलाई 'फुटानी' भनिन्छ । त्यस्तै, एकदुई काम पार लगाएको भरमा अनगिन्ती ठूल्ठूला धमास दिनु र शक्तिशाली व्यक्तिसँगको चिनजान देखाएर धाक/रवाफ देखाउनु पनि फुटानी नै हो ।

फुटानी थरिथरिका हुन्छन् । तर, आजको चर्चा यसका विभिन्न प्रकारका विषयमा भने होइन । हामीले विशेष ध्यान दिनुपर्ने विषय के छ भने यतिबेला नेपालको राजनीतिलाई फुटानीवादले खर्लप्पै निलेको छ । हाम्रो समाजमा जसले ज्यादा फुटानी गफ गर्छ, उसैको तामझाम बढी देखिन्छ । समाज परिवर्तनका लागि थोरबहुत काम गरेका अर्थात् योगदान पुर्‍याएकादेखि माखो नमारेका पात्रसम्मका बकवासले हामी सबै नेपाली आक्रान्त छौं । अब हामीले यस्तो दुष्चक्रलाई कहिलेसम्म झेल्नुपर्ने हो, थाहा छैन । सबैभन्दा दुःख त त्यतिबेला लाग्छ, जब निजी स्वार्थबाहेक अन्य विषयमा महत्त्व नै नदिने व्यक्ति वा पात्रहरू राष्ट्र निर्माण र जनहितका राग अलापिरहेका पाइन्छन् । अझ उदेकलाग्दो दृश्य त कस्तो छ भने बारम्बार राष्ट्र निर्माणको दायित्व सम्हालेर असफल भएका व्यक्तिहरूले नै बाँचुञ्जेल देशको बागडोर अँठ्याइराख्ने प्रयत्न गरिरहेका छन् । उनीहरूका मुखबाट बेलाबेला नेपालको उज्ज्वल भविष्यवाणी मुखरित र प्रसारित हुन्छ, जसलाई सुन्न र बेहोर्न हामी नेपाली अभिशप्त छौं ।

सधैँभरी मै जान्ने, मै बुझ्ने भन्ने भावका साथ कुरा गर्ने, आफूले गरेको वा आफूबाट भएको कामभन्दा ज्यादा गफ अर्थात् बढाइचढाइ कुरा गर्ने, अनावश्यक घमण्ड गर्ने, चाहिनेभन्दा बढी फुर्ती लगाउने र गर्न नसक्ने, हुन वा गराउन साह्रै गाह्रो पर्ने काम पनि एक चुड्कीमा गराइदिने हावादारी गफ कसैले दिन्छ भने त्यसलाई 'फुटानी' भनिन्छ ।

संसारको कुनै पनि समाज अनावश्यक फुटानीले बनेका होइनन् । यसका पछाडि ठूलो मेहनत, दुःख, पौरख र संघर्षको कथा छ । मानव सृष्टिदेखि आदिम जंगली युग हुँदै सभ्यताको वर्तमान चरणसम्म आइपुग्दा हाम्रा पुर्खा र अग्रजहरूले झेल्नु परेका अनेकन दुःखका धेरै लामा शृंखला छन् । अनुत्पादक बकवास र फुटानीले वर्तमान समृद्धि हासिल भएको होइन । यसमा हाम्रा पुर्खाहरूले हुर्काएका विभिन्न सभ्यताहरूको अतुलनीय योगदान छ । संसारसामु अहिलेको नेपालको वर्तमान दुर्गतिका कारण हामी स्वयं हौं । हाम्रो दैनिकी, चालचलन र व्यवहार हो । र, अनुत्पादक बहस पनि यसको कारण हो । हामीले हाम्रो मानवीय, सामाजिक, राष्ट्रिय र व्यक्तिगत दायित्व नबुझ्नाले अहिलेको दुरावस्था कायम रहेको हो । यसको मूल कारण हामीले विश्वास गरेका राजनीतिक र सामाजिक अगुवाहरू हुन्, जसको भरमा नेपाली जनताले वर्षौंसम्म काकाकुल भएर जीवन व्यतीत गरे । परिणामस्वरूप आजको दिन देख्नु र भोग्नु परेको छ । नत्र हामी धेरै अघि बढिसकेका हुन्थ्यौं र दुनियाँसामु ठूलो प्रतिष्ठा आर्जन भइसक्थ्यो ।

हाम्रो दुर्भाग्य त के छ भने अहिले पनि प्राकृतिक र धार्मिक सम्पदा देखाएर आफ्नो परिचय दिनुपरेको छ । यसका अलावा अर्को छुट्टै पहिचान बनाउन नसक्नुका पछिल्तिर हामी आफैं कारण र जिम्मेवार छौं । अहिलेसम्म पनि यस सत्यलाई बुझ्न वा 'रियालाइज' गर्न हामी तयार छैनौं । हाम्रो एकोहोरो भद्दा प्रलाप निरन्तर कायम छ, जसको बहुआयामिक दुष्प्रभावले नेपाली समाजलाई भतभती पोलेको छ । शायद यो पनि एउटा फुटानीको भद्दा र दिक्दार शृङ्खला नै हो । आखिर यो कहिलेसम्म ? जनजनको मनमा यही औडाहा छ ।

हामीले एउटा कुरा खुलस्तसँग बुझ्नुपर्छ कि व्यक्ति विशेषको करिस्माले मात्र देश वा कुनै पनि समाज बन्दैन । संसारका विकसित समाजको रहस्य अर्कै छ । नेतृत्वको लगन, पौरख, इमान, क्षमता, त्याग र दृढता बेगर कुनै देश वा समाज बन्दैन र बनेको पनि छैन । अझ प्रजातान्त्रिक प्रणालीमा त विधिको सर्वोपरिता प्रमुख कुरा हो । सर्वस्विकृत विधि र पद्धति भत्काउने व्यक्तिलाई ठूलो क्रान्तिकारी ठान्ने मानसिकता हुर्केको नेपाली समाजमा समुन्नति कसरी आउँछ? नेपालमा वि.सं. २००७, २०४६ र २०६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्ति र जनआन्दोल मार्फत नयाँ युगको सूत्रपात भयो, जसले नेपाली जनतामा नयाँ आशा सिर्जना गर्‍यो । तथापि, २००७ र २०४६ को राजनीतिक परिवर्तनलाई विभिन्न कारणले सार्थक बनाउन सकिएन । यसमा कतै राजा र कतै नेता दोषी छन् । यसको समीक्षा आउने पुस्ताले गर्ने नै छ ।

अहिले हामीसँग त्यसलाई कोट्याएर गलफत्ति गर्ने समय छैन । अब एकअर्कालाई दोषारोपण गर्नुको पनि अर्थ छैन । हामीले बुझ्नुपर्छ कि राजनीतिक परिवर्तन भन्नाले जनताको जीवनमा आशातीत र गुणात्मक परिवर्तन हो । राजनीतिक प्रणाली र त्यसलाई चलाउने नेता विशेषको मात्र सुख सुविधा र जीवन परिवर्तनका लागि जनताले साथ दिएको होइन । तर, अहिले त्यस्तै देखिएको छ । आजसम्म जनताको जीवनमा तात्विक परिवर्तन छैन र त्यसको कुनै सम्भावना पनि देखिँदैन । नेताको ध्यान र प्राथमिकता अन्यत्रै छ । यसले जनतालाई पुनः काकाकुल बनाएको छ र अन्यौलपूर्ण भविष्यतर्फ धकेलेको छ । अब के गर्ने भन्ने कसैसँग गतिलो कार्ययोजना छैन, बनेका योजना कागजमा सीमित छन् । आशा गर्न सकिने भरपर्दो राजनीतिक नेतृत्व छैन । देखिएको नेतृत्व औसत क्षमताको छ, जसको ध्यान सत्ताको अंकगणित र क्षुद्र वैयक्तिक स्वार्थमा मात्र केन्द्रित छ ।

मूलतः राष्ट्रिय नेतृत्वले देशको चित्र सदैव मन र मस्तिष्कमा राख्नुपर्छ भन्ने ज्ञानको अभाव छ ।

अब केहीबेर वर्तमान नेपालको चित्र हेरौं । नेपालको अर्थतन्त्र खराब र दयनीय बन्दै गएको छ । सरकारले चालू आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो । उक्त बजेटका लागि स्रोत जुटाउन नसक्दा मध्यावधि मूल्यांकन र समीक्षाबाट बजेटको आकार नै घटाएर १६ खर्ब ९२ अर्बमा सीमित गरिएको छ । यो बजेट पनि कार्यान्वयन हुने अवस्था छैन । यसको कारण सरकारको असक्षमता नै हो । गत पुस मसान्तसम्ममा पुँजीगत खर्च जम्मा ५६ अर्ब र चालू खर्च ४ खर्ब ५२ अर्ब छ । विकास खर्चभन्दा चालू खर्च ४ खर्बले बढी छ । विकास खर्चको अवस्था अत्यन्तै दयनीय छ । अनि कसरी तीव्र गतिमा भौतिक विकास सम्भव होला?

देशभित्र आर्थिक गतिविधि सुस्ताउँदै गएर थप लगानी हुन नसक्दा सरकार लक्ष्यअनुसार राजस्व संकलन गर्न असमर्थ भएको छ । चालू आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब राजस्वको लक्ष्य लिइएकोमा १२ खर्ब ८७ अर्ब मात्रै संकलन हुने प्रक्षेपण छ । तर, उक्त राजस्व पनि संकलन हुने अवस्था छैन । यसको जिम्मा कसले लिने? देशको अर्थतन्त्र धानेर बसेका उद्यमी व्यवसायीमाथि राजनीतिक प्रतिशोध साँध्ने क्रम जारी छ । केही राजनीतिक दलका अगुवाहरूले उद्यमी व्यवसायीका विरुद्ध घृणा फैलाउने काम गरिरहेका छन् । देशका वास्तविक उद्यमी व्यवसायीलाई हतोत्साहित बनाउने र विदेशी एजेन्टहरूलाई राष्ट्रिय संस्थाहरू सुम्पिने क्रम जारी छ । यसले नेपालमा लगानीका लागि दीर्घकालीन रूपमा गम्भीर र नकारात्मक असर पर्ने अवस्था छ । नेपालमा जे पनि हुनसक्छ भन्ने अन्तर्राष्ट्रिय लगानीकर्तालाई लागेको छ । यसले हाम्रो राष्ट्रिय भविष्यमाथि उच्च जोखिम थपिएको छ ।

नेपाली उद्यमी व्यवसायीहरूले जोखिम मोलेर देशको अर्थतन्त्रलाई अर्को तहमा पुर्‍याउन लगानी गर्न चाहेका परियोजनाहरू खोस्ने र एजेन्टहरूलाई पोस्ने काम निरन्तर छ । हालै १९ सय मेगावाट क्षमताको मुगु–कर्णाली जलविद्युत् परियोजनामा लगानी गर्न स्वदेशी उद्यमीहरू तयार हुँदा उक्त परियोजना असफल पार्न नकारात्मक, स्वार्थी र पूर्वाग्रही मानसिकता भएका सबै एकजुट भएको दृष्टान्त सबैले देखेका छन् । यसैगरी, व्यापार घाटाको उच्च वृद्धिदर कायमै छ । छ महिनामा मात्रै नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड पुगिसकेको छ । वर्षको अन्त्यसम्ममा व्यापार घाटा १६ खर्ब पुग्ने अनुमान छ । यसले नेपाललाई कहाँ पुर्‍याउला?

बैंकमा लगानीयोग्य पुँजी थुप्रिएको छ । ब्याजदर आधाले घटेको छ । तर, लगानीकर्ता देशमा लगानी गर्न तयार छैनन्, किनभने उनीहरूले यहाँ लगानीको भरोसायोग्य वातावरण भएको महसुस गरिरहेका छैनन् । जोखिम मोलेर लगानी गर्न चाहनेहरूलाई पनि लगानीअगावै असुलीको बार्गेनिङले गर्दा हैरान छ ।

नेपाल विश्वमा उच्च भ्रष्टाचार हुने देश बनिरहेको छ भन्ने वास्तविकतालाई गत माघ २९ गते सार्वजनिक ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टले स्पष्ट पारेको छ । जसका अनुसार विश्वका १८० देशमध्ये नेपाल १०७औं स्थानमा छ । नेपालभन्दा पछाडि गृहयुद्धमा फसेका अफ्रिकी मुलुक र अन्य अविकसित मुलुकहरू मात्र छन् । नेपालभित्र गुणस्तरीय शिक्षाको अभावमा युवा विदेश जाने क्रम झनै तीव्र बन्दै गएको छ । एक वर्षमा अध्ययनका लागि बाहिर जाने विद्यार्थीका लागि १ खर्ब रुपैयाँ विदेशिने गरेको छ । देशले इन्जिनियर, डाक्टर, नर्स, सीएलगायत योग्य जनशक्ति गुमाइरहेको छ । रोजगारीको अभावमा वैदेशिक रोजगारीका लागि जाने युवाहरूको संख्या प्रतिदिन बढ्दो छ । समग्रमा प्रतिदिन झण्डै अढाइ हजारभन्दा बढी युवाले देश छाडिरहेका छन् ।

बैंकमा लगानीयोग्य पुँजी थुप्रिएको छ । ब्याजदर आधाले घटेको छ । तर, लगानीकर्ता देशमा लगानी गर्न तयार छैनन्, किनभने उनीहरूले यहाँ लगानीको भरोसायोग्य वातावरण भएको महसुस गरिरहेका छैनन् । जोखिम मोलेर लगानी गर्न चाहनेहरूलाई पनि लगानीअगावै असुलीको बार्गेनिङले गर्दा हैरान छ । विदेशी लगानीकर्ताहरू यस्तो वातावरणमा नेपालतर्फ फर्केर पनि हेर्न चाहिरहेका छैनन् । फलतः देशभित्र रोजगारीका अवसरहरूको सिर्जना नकारात्मक बन्ने अवस्था छ ।

यस्तो वातावरणमा युवाहरू निराश छन् । राजनीतिप्रति उनीहरूको मोहभङ्ग भएको छ । मुख्य राजनीतिक दलहरूप्रति उनीहरूको वितृष्णा बढेर गएको छ । यस्तो पृष्ठभूमिमा देशको अर्थतन्त्र सम्हाल्न सक्ने, नेपालको अर्थतन्त्रलाई गहिरोसँग बुझेको, राष्ट्रिय विकासलाई परिणाममुखी बनाउन सक्ने, युवाको भावनालाई बुझेको, लगानी वृद्धि गर्ने क्षमता राख्ने, राजस्व र रोजगारी बढाउने क्षमता भएको तथा गहिरो देशप्रेमको भावना भएको व्यक्तिको खोजी गरेर देशको अर्थतन्त्रको जिम्मा दिनुपर्ने अवस्था देखिएको छ । यसमा विलम्ब गर्नुहुँदैन ।

फेरि पनि हामीले बुझ्नुपर्छ कि फुटानीले देश बन्दैन । देश बनाउन वस्तुनिष्ठ कार्ययोजना, कुशल नेतृत्व, राष्ट्र निर्माणको सपना र योग्य सहयोगी समूह, साधन स्रोतको सुनिश्चितता, विकासको प्राथमिकता र दृढ इच्छाशक्ति चाहिन्छ । नेपालको सुदूर क्षितिजमा धिपधिपे जुनकिरी मात्र बाँकी छ, मुख्य अगेनाहरूमा भुतभुते मात्रै छ । यसैबाट विकासको उज्ज्वल प्रकाश फैलाउन सकिन्छ । तर राजनीतिकर्मीहरूको अनावश्यक फुटानी चरित्र अन्त्य हुनुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्