काठमाडौं, ८ मंसिर — उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले आणविक आक्रमणको हिटलिस्टमा अमेरिका र जापानका ठूला शहरहरू राखेका छन् ।
थिंक ट्यांक युरोपियन कमिसन अफ फरेन रिलेसनको रिपोर्टअनुसार, उत्तर कोरियाको लिस्टमा अमेरिकाको ह्वाइट आउस, पेन्टागन, सरकारी भवनहरू, म्यानह्याटन, गुआम अनि जापानको क्योटो र टोकियो सहित १५ वटा नाम छन् ।
यसका अलावा प्रशान्त महासागरमा जापान र दक्षिण कोरियाका सैनिक अड्डा तथा आणविक विमानपोतहरू पनि लिस्टमा छन् ।
बिहीवार प्रकाशित रिपोर्टमा प्योङयाङले लगातार अमेरिकी शहरहरू र एसिया प्रशान्त क्षेत्रमा वाशिङटनका अड्डाहरूमा आक्रमणको धम्की दिइरहेको कुरालाई गम्भीरतापूर्वक लिनुपर्ने लेखिएको छ ।
बेलायतबाट प्रकाशित हुने द डेली मेल पत्रिकाका अनुसार, ईसीएफआरको अध्ययनको लक्ष्य विभिन्न परिस्थितिमा प्योङयाङको प्रतिक्रिया मूल्यांकन गर्नु थियो । त्यसबाट उत्तरले आफ्ना आणविक हतियारलाई कसरी हेर्छ र कुन बेलामा प्रयोग गर्छ भन्ने कुरा बुझ्न सकिन्छ । रिपोर्टमा किमले आफ्नो देशमाथि खतरा अनुभव भएमा आणविक युद्ध गर्ने दाबी गरिएको छ ।
अमेरिकाले उत्तर कोरियालाई आतंकवाद प्रायोजित गर्ने मुलुकको सूचीमा हालेपछि प्योङयाङले त्यसको कडा निन्दा गरेको बेलामा यो रिपोर्ट आएको हो । उत्तरको विदेश मन्त्रालयले आफ्नो देश कुनै पनि किसिमको आतंकवादी आक्रमणमा संलग्न नरहेको प्रतिक्रिया दिएको छ ।
एजेन्सी