
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् ।
तनहुँको डुम्रेमा बुधबारदेखि शुरू हुने डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि पुगेकाका मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताए ।
‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र ? सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ’, मन्त्री खड्काले भने ।
मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गरे ।
नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक किन ? भन्ने सञ्चारकर्मीसँगको प्रश्नमा मन्त्री खड्काले भने, ‘विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ ?, यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अंक प्राप्त गर्न नसक्नुभएको हो ।’