१२ असार २०८३, शुक्रबार

२७ वर्षे युवाको ठगी धन्दा : साथी बिरामी परेर अस्पतालमा छ भन्दै आफन्तको म्यासेन्जरमा क्यूआर कोड

फागुन २२, २०८१
काठमाडौं
२७ वर्षे युवाको ठगी धन्दा : साथी बिरामी परेर अस्पतालमा छ भन्दै आफन्तको म्यासेन्जरमा क्यूआर कोड

वैदेशिक रोजगारीमा रहेका व्यक्तिका नाममा नक्कली फेसबुक आईडी बनाइ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको ज्वालामूखी गाउँपालिका-७ घर भई काठमाडौंको तार्केश्वर नगरपालिका-५ लोलाङ हाइट बस्ने २७ वर्षीय नारायणदत्त खकुराल छन् ।

उनले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको नामको नक्कली फेसबुक आईडी बनाई उनीहरूको आफन्तसँग आफू र आफ्नो साथी बिरामी भई अस्पतालमा भर्ना भएको र रकमको आवश्यकता परेको भन्दै मेसेज गर्ने गरेका थिए । ती व्यक्तिका आफन्तलाई विश्वास दिलाइ खकुरालले रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनले साथीको क्यूआरमा रकम पठाउनू भनी काठमाडौं उपत्यकाका विभिन्न पसलका क्यूआर कोड प्रयोग गरेका थिए । उनले पसलेलाई आफ्नो मान्छे बिरामी भई अस्पतालमा भर्ना भएको र आफन्तले उपचारका लागि रकम पठाइदिँदैछ, आफ्नो कुनै पनि बैंक खाता छैन भनी उनीहरूकफ क्यूआर कोड माग्ने गरेका थिए ।

पसलेको खातामा पैसा आएपछि उनले त्यहाँबाट नगद लिने गरेको अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए । 

पीडितहरूको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुधबार काठमाडौंको लोलाङ हाइटबाट पक्राउ गरेको हो । 

पक्राउ परेका खकुराललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको एसपी आचार्यले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्