२३ असार २०८३, मंगलबार

वीरेन्द्रनगरको नीतिः एक घर दुई बिरुवा, हामी आफैं कुरुवा

फागुन २३, २०८१
सुर्खेत
वीरेन्द्रनगरको नीतिः एक घर दुई बिरुवा, हामी आफैं कुरुवा

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरको रूपमा विकास गरिँदै लगिएको छ । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियाली शहर बनाउने दीर्घकालीन सोचका साथ हरित नगरको रूपमा विकास गर्न लागिएको हो । 

जसअन्तर्गत नगरपालिकाले ‘एक घर दुई बिरुवा, हामी आफैं कुरुवा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । 

यो कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरभित्र नयाँ घर निर्माण गर्ने घर धनीले आफ्नो आगनमा दुई बिरुवा वृक्षारोपण गर्नुपर्ने हुन्छ भने त्यसको रेखदेख पनि आफैँ गर्नुपर्ने हुन्छ । 

नगरपालिकाको यो नीतिले वीरेन्द्रनगरलाई हरियाली, सुन्दर बनाउन सघाउ पुग्ने अपेक्षा लिइएको छ ।

नगरप्रमुख मोहनमाया ढकाल भन्छिन्, 'नयाँ घर निर्माण गर्नेले दुइवटा बिरुवा वृक्षारोपण गर्ने हाम्रो नीतिमा पनि छ, अहिले नगरपालिकामा वृक्षारोपण अभियान समेत चलाएको छ । विगतभन्दा वीरेन्द्रनगर सुन्दर र सफा बन्दै गएको छ ।' 

नगरभित्र निर्माण भएका नयाँ सडकको आसपासमा समेत वृक्षारोपण गरिएको भन्दै उनले दुई वर्षमा करिब दश हजार नयाँ बिरुवा सडक छेउछाउमा रोपिएको उनको भनाइ छ । 

सडक छेउछाउमा अहिले फलफूलका बिरुवा समेत रोपिएको भन्दै प्रमुख ढकालले एकातिर वृक्षारोपण र अर्कोतर्फ नगरपालिकाको आम्दानीमा समेत वृद्धि हुने अपेक्षा लिइएको बताइन्। नगरपालिकाले अहिले ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरिरहेको छ ।

नगरपालिकाले प्लाष्टिकमुक्त नगर बनाउने गरी योजना बनाएको र त्यसको कार्यान्वयनको लागि आम नागरिकलाई सचेतना जगाइरहेको उनको भनाइ छ । 'अहिले हाम्रो वीरेन्द्रनगर नगरपालिकामा ३५० भन्दा धेरै टोल विकास समिति छन्, ती समितिमा प्रशिक्षक पनि राखेका छौं । उहाँहरूमार्फत गाउँगाउँमा हरियाली शहर बनाउनुपर्छ भनेर अभियान र सचेतना जगाइरहेका छौँ । मलाई लाग्छ अबको पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिका हरियाली, सुन्दर प्लाष्टिकमुक्त भइसक्छ ।'

नगरपालिकाले जलवायु परिवर्तनले पारेका असर न्यूनीकरण गर्न समेत विभिन्न योजना बनाएर काम गरिरहेको उनको भनाइ छ । रासस

salt training

कमेन्ट गर्नुहोस्