२४ असार २०८३, बुधबार

राजतन्त्र फर्काउने गतिविधि हुन थालेका छन्, यो चिन्ताको विषय हो : बाबुराम भट्टराई

फागुन २४, २०८१
काठमाडौं
राजतन्त्र फर्काउने गतिविधि हुन थालेका छन्, यो चिन्ताको विषय हो : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही समययता सडक र सामाजिक सञ्जालमा अस्वाभाविक रूपले फेरि राजतन्त्रलाई फर्काउने र संविधानका सकारात्मक पक्षलाई उल्ट्याउने भन्ने किसिमका गतिविधिहरू हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै भूमिका खोज्ने हो भने नेपालको वर्तमान संविधानअन्तर्गत त्यो ठाउँ नरहेको उनले बताएका छन् । सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता तथा जनतामा नीहित सार्वभौमसत्तालाई संविधानको असंशोधनीय प्रावधान भनेर राखिएको भट्टराईले स्मरण गरेका छन् ।

‘बहुदलीय लोकतन्त्रमा दल र विचारहरू फरक हुनसक्छन् । समाजमा अगाडि बढ्ने, यथास्थितिमा रहने र पछाडि फर्कने प्रवृत्ति जहिले पनि भइरहन्छ । यस्ताखालका समस्याको समाधान पनि लोकतान्त्रिक विधिमार्फत खोज्नुपर्छ’, राष्ट्रिय समाचार समिति (रासस)सँग कुराकानीमा भट्टराईले भनेका छन्, ‘तर, अहिले जसरी प्रायोजित हिसाबले हल्ला चलेको छ, म त्यस्तो सम्भावना देख्दिँन । यस्तो प्रवृत्तिले अनावश्यक समय र शक्ति बर्बाद गर्छ ।’

लामो संघर्ष गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको भट्टराईले बताएका छन् । त्यसले जनतालाई अधिकार सम्पन्न बनाएसँगै देश क्रमशः सकारात्मक दिशातर्फ अघि बढिरहेको तर विकास, समृद्धि र रोजगारीको आवश्यकता पूरा हुन नसक्दा जनतामा केही असन्तुष्टि भने देखिएको उनले बताएका छन् ।  

‘राजतन्त्रमा एउटा व्यक्ति र परिवारमा सर्वाधिकार रहन्छ । यो सिधै वर्तमान संविधानसँग बाँझिन्छ । जनताको बलिदान र संघर्षमार्फत संविधानसभाबाट जारी भएको संविधानलाई उल्टयाइयो भने थप समस्या सृजना गर्दछ’, भट्टराईले भनेका छन्, ‘नेपालजस्तो जटिल भूराजनीतिमा रहेको मुलुकमा कसैको आग्रह वा बहकाउमा लागेर यस्ता गतिविधि गर्न थालियो भने देश र जनतालाई ठूलो नोक्सान पुग्छ ।  देश र जनतालाई माया गर्नेहरू सबैले यस्ता विषयलाई खेलबाड गर्नुहुँदैन । लोकतन्त्रका कमजोरी हुन्छन्, त्यसलाई लोकतन्त्रभित्रैबाट सच्याउनुपर्छ । लोकतन्त्रको विकल्पमा उन्नत लोकतन्त्र खोज्ने हो ।’

लोकतन्त्रलाई नै अन्त्य गरेर अलोकतान्त्रिक वंशाणुगत कुनै प्रणाली ल्याउने भन्नु देश र जनतामा हितकारी नहुने भट्टराईको टिप्पणी छ। 

salt training

कमेन्ट गर्नुहोस्