०७ असार २०८३, आइतबार
सरसर्ती २४ घण्टा

सलबलाए राजावादी, माओवादीको जागरण अभियान स्थगित

फागुन २५, २०८१
काठमाडौं
सलबलाए राजावादी, माओवादीको जागरण अभियान स्थगित

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले तत्कालका लागि ‘जनतासँग माओवादीः तराई मधेश जागरण अभियान’ स्थगित गरेको छ । राजावादीहरु सलबलाइरहेका बेला सदन र अन्य मोर्चाबाट त्यसको प्रतिरोध गर्ने उद्देश्यका साथ अभियान हाललाई स्थगित गरिएको बताइएको छ । 

मुलुकको राजनीतिक परिस्थिति र अभियानबारे छलफल गरी थप कार्यक्रम तय गर्ने उद्देश्यका साथ अभियान तत्कालका लागि स्थगित गरिएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन् ।

शनिबार बिहान रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले राखेका  जिज्ञासाको उत्तर दिँदै अध्यक्ष प्रचण्डले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव रहेको बताए । 

‘इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदि उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ,’ उनले भने ।
००००
पछिल्लो समय राजावादीहरुले आफ्नो गतिविधिलाई तिव्रता दिँदै आएका छन् । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले अब चुप लागेर नबस्ने बताएसँगै उत्साहित भएका राजावादीले राजतन्त्र फर्काउने दाबी गर्दै अभियानहरु बढाएका हुन् ।

सोहीअनुसार आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँबाट फर्किँदा राप्रपासहितका राजावादीले स्वागतको तयारी गरेका छन्  ।
००००
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले केही समययता सडक र सामाजिक सञ्जालमा अस्वाभाविक रूपले फेरि राजतन्त्रलाई फर्काउने र संविधानका सकारात्मक पक्षलाई उल्ट्याउने भन्ने किसिमका गतिविधिहरू हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै भूमिका खोज्ने हो भने नेपालको वर्तमान संविधानअन्तर्गत त्यो ठाउँ नरहेको उनले बताएका छन् । सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता तथा जनतामा नीहित सार्वभौमसत्तालाई संविधानको असंशोधनीय प्रावधान भनेर राखिएको भट्टराईले स्मरण गरेका छन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा उनीहरूबीच शनिबार साँझ भेटवार्ता भएको हो ।

उनीहरूबीच मुलुकको पछिल्लो समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
००००
गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । 

भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियन डोटीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरंकुशता हुन सक्दैन ।’
००००
नेपाल शिक्षक महासंघले काठमाडौंमा प्रदर्शन गरेको छ । 

पहिलो चरणको आन्दोलन अन्तर्गतको अन्तिम कार्यक्रम अन्तर्गत शिक्षकहरूले शनिबार माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् । 

शनिबारको आन्दोलनमा महासंघले ७७ वटै जिल्लाबाट ३६ हजार १०० जना शिक्षकलाई माइतीघर मण्डलामा उतार्ने लक्ष्य राखेको थियो । आन्दोलनमा सहभागी हुनका लागि महासंघले विभिन्न समूहमा विभाजन गरेको थियो ।
००००
रास्वपाका केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढिरहेको बताएका छन् । 

पार्टीको भिमाद नगर समितिको शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले देशभर पार्टीको पक्षमा जनलहर बढेरहेकाले जनताको विश्वास कायम राख्नेगरी काम गर्न सबै नेता, कार्यकर्तालाई आग्रह गरे ।  
००००
काठमाडौं उपत्यकामा शनिबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो दुई बजेर ३६ मिनेटमा उपत्यकाका भूकम्पको धक्का महसुस भएको हो ।

चीनको तिब्बतको सिगात्से केन्द्रविन्दु भएर दिउँसो २स्३५ मा ५.९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
००००
नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । शनिबार उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्