०९ असार २०८३, मंगलबार

लामो प्रतीक्षापछि पोर्चुगलमा नेपाली दूतावास

फागुन २६, २०८१
काठमाडौं
लामो प्रतीक्षापछि पोर्चुगलमा नेपाली दूतावास

लामो प्रतीक्षा र संघर्षपछि पोर्चुगलमा नेपाली दूतावास स्थापना भएको छ । ​लिस्बनमा दूतावास स्थापना भएसँगै अब राहदानी नवीकरण, कागजात प्रमाणीकरणलगायत काम गर्न सहज हुने भएको छ । यसअघि यी काम गर्न स्पेन वा फ्रान्सस्थित नेपाली दूतावासमा जानुपर्ने बाध्यता थियो । 

नेपाली दूतावास लिस्बनले सूचना प्रकाशित गर्दै कागजात प्रमाणीकरणलगायत सेवा अब दूतावासमार्फत् नै प्रदान गरिने जानकारी गराएको छ । हाल दूतावास अस्थायी कार्यालयबाट केही प्रकृयागत कामहरू मिलाइरहेको र चाँडै नै भाडाको आफ्नै भवनमा स्थानान्तरण हुने तयारी भइरहेको दूतावासले जनाएको छ। 

स्थायी कार्यालय सञ्चालनमा आएपछि सम्पूर्ण सेवा उपलब्ध गराइने हुँदा सेवाग्राहीलाई केही समय धैर्य गर्न अनुरोध गरिएको छ।

पोर्चुगलमा करिब ६० हजार नेपाली रहेको अनुमान गरिएको छ । यसअघि नेपालीहरू घुम्ती सेवामार्फत् फ्रान्सस्थित नेपाली दूतावास वा नेपालबाट आएका राहदानी विभागका टोलीको सहयोगमा सेवा प्राप्त गर्दै आएका थिए।

पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगल, विभिन्न नेपाली संघसंस्था, सामाजिक अभियन्ता तथा यहाँका नेपालीहरूले लामो समयदेखि निरन्तर संघर्ष गर्दै आएका थिए। 

उनीहरूले विभिन्न चरणमा दबाबमूलक कार्यक्रम, हस्ताक्षर अभियान तथा नेपाल सरकारलाई अनुरोध गर्दै आएका थिए । 

दूतावास स्थापना भएको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अध्यक्ष उमेश कुमार खड्काले खुसी व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्