
फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाँदले कपाल मिलाउनकै लागि हरेक महिना लगभग १२ लाख रुपैयाँ खर्च गर्ने गरेको तथ्य सार्वजनिक भएको छ ।
फ्रान्सको व्यंग्यात्मक तथा अनुसन्धानमूलक पत्रिका ले कनार्ड अचाँले यसका बारेमा समाचार छापेपछि फ्रान्स सरकारका प्रवक्ता स्टेफानी ले फोलले यसलाई पुष्टि गर्दै आफ्ना हाकिमलाई बचाउन खोजेका थिए, एपीले बताएको छ ।
“यसका बारेमा गरिने प्रश्न र दिइने धारणा म बुझ्छु,” ले फोलले भने । “सबैजनाले कपाल मिलाउँछन् नि ।” ओलाँदले आफ्नो हजामलाई तिर्ने पैसा लगभग मन्त्रीको तलबजत्तिकै हुन्छ, द न्युयोर्क टाइम्सले बताएको छ । हजामको काम सजिलो छैन, यसको महत्वपूर्ण जिम्मेवारी हुन्छ ।
हजामले गोपनीयतामा प्रतिबद्ध हुनुपर्ने तथा चौबीसै घण्टा उपलब्ध हुनुपर्ने हुन्छ भनी फ्रान्स २४ ले लेखेको छ । हजामको पूरा नाम खुलाइएको छैन र ओलिभियर भनी चिनाइएको छ । समाजवादी राष्ट्रपतिले यति ठूलो खर्च गरेकोमा फ्रान्सेली जनताहरू रिसाएको भनी एफपीले लेखेको छ ।
यस्तै कारणहरूले गर्दा ओलाँदको समर्थन लगातार घट्दै गएको र अर्को वर्ष राष्ट्रपतिको निर्वाचनमा आफैं नलडेर अर्को उम्मेदवार खोज्ने स्थितिमा पुगेको भनी न्युयोर्क टाइम्सले छापेको छ ।उता, ओलाँदकी पूर्वश्रीमती भ्यालेरी ट्रायरवाइलरले उनको बचाउ गरेकी छिन् । “साँचो कुरा भन्नुपर्दा ओलाँदलाई नै हजामको तलबका बारेमा थाहा थिएन । पछि यो थाहा पाउँदा उनी रिसाएको कुरालाई म प्रमाणित गर्न सक्छु,” उनले भनिन् ।