
नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई महामन्त्री गगन थापा र डा. शेखर कोइराला समूहले पदाधिकारीको अफर गरेका छन् ।
१४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाट सह–महामन्त्री जितेकी डिनालाई १५ औं महाधिवेशनका लागि आफ्नो टीममा आउन गगन र शेखर समूहले पहल गरिरहेका हुन् ।
सभापतिमा अब देउवाको दाबेदारी रहने छैन । यसैले उनको टीमका नेतालाई तान्ने प्रयासमा गगन र शेखरको दुवै समूह लागिरहेका छन् ।
तर, अफर लिएर आउनेलाई आफूले अहिले यताउता नगर्ने जवाफ दिएको डिनाले बताइन् ।
‘१४ औं महाधिवशेनमा सभापति शेरबहादुर दाइकै टीमबाट समहामन्त्री जितेको हुँ । उहाँ हुञ्जेल उहाँकै विश्वासमा काम गर्ने हो । दाइ अब नउठे पनि दाइले पूर्ण, शेखर, गगन जसलाई भन्नुहुन्छ, उसकै टीमलाई सहयोग गर्ने हो,’ डिनाले भनिन्, ‘सम्पर्कमा आउनेलाई यसै भनेको छु । कार्यक्रममा जहाँ बोलाउँछन्, त्यहाँ जान्छु । तर, टीमको हिसाबले अहिले नै यताउता गर्ने मानसिकतामा म छैन ।’
पार्टीका गतिविधिमा काठमाडौंबाहिर धेरै बस्ने गरेको उनले बताइन् । तर, काठमाडौं आउँदा भने सभापति देउवासँग निरन्तर सम्पर्कमा बसिरहेको उनले बताइन् ।

‘सभापतिसँग भेट भइरहन्छ । काठमाडौं आएको बेला कुराकानी हुन्छ । निरन्तर सम्पर्कमा छु । दाइसँग मेरो सम्बन्ध राम्रो छ,’ डिनाले भनिन्, ‘पार्टी एउटै हो । शेखर दाइको टीमका मान्छे पनि नजिक छन् । नजिक भएपछि अफर गर्नु अस्वाभाविक होइन । गगनको टीमकाले पनि दिदी हाम्रोबाट महामन्त्री उठ्नुपर्छ भन्छन् ।’
डिनाले सभापति देउवासँग छलफल भैरहेको बताइन् । ‘सभापतिसँग मेरो छलफल भैरहेको छ । उहाँले अहिले नै निर्णय गर्ने बेला भएको छैन, अलि समय पख्नुस् भन्नुहुन्छ,’ डिनाले भनिन्, ‘शक्ति नहुँदा पनि गिरिजाप्रसाद कोइरालासँग लड्दादेखि नै देउवा दाइलाई हामीले सहयोग गरेको हो । यसैले महाधिवेशन नजिक आएपछि शेरबहादुर दाइले जे भन्नुहुन्छ, त्यही गर्ने हो ।’
तर, शेखर कोइरालासँग भेट नभएको लामो समय भएको उनको भनाइ छ ।
‘मलाई शेखर समूहको कार्यक्रममा बोलाएका छैनन् । शेखर दाइसँग पनि भेट नभएको लामो समय भयो,’ डिनाले भनिन्, ‘मैले उहाँहरूको मान्छेसँग कुरा गर्दा यताउता गर्दिनँ भनेको छु । आफ्नै तयारीमा देशभर घुम्ने योजना बनाएको छु ।’
अपग्रेड हुने चाहना
सहमहामन्त्रीमा जितेकी डिना अहिले कांग्रेसका महिलामध्ये सिनियर र सबैभन्दा प्रभावशाली नेता हुन् । कांग्रेसमा महिला नेताहरूले समानुपातिकमै बस्ने इच्छा गर्दा डिना गत निर्वाचनमा मकवानपुरबाट उम्मेदवार बनेकी थिइन् । जीतनजिक पुगेर उनी राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएकी थिइन् ।
१४ औं महाधिवेशनमा डिनाले समहामन्त्रीमा शेखर समूहकी कमला पन्तलाई पराजित गरेकी थिइन् । डिनाले २५३३ मत प्राप्त गर्दा पन्तले २१०५ मत प्राप्त गरेकी थिइन् । डिना अब हुने महाधिवेशनमा भने सह–महामन्त्रीमा नलड्ने भएकी छिन् ।
‘चुनाव जितेरै सहमहामन्त्री भएँ । अब फेरि यही पदमा लड्दिनँ । अपग्रेड हुने चाहना छ,’ उनले भनिन्, ‘महामन्त्री वा उपसभापतिको लागि मेरो दाबेदारी हुनेछ ।’
पार्टीमा ३३ प्रतिशत नै महिला पदाधिकारी हुनुपर्ने बहस चलाएको समेत उनले बताइन् ।
‘ममात्रै अपग्रेड हुने भन्ने होइन । पार्टीमा महिला पदाधिकारीको संख्या ३३ प्रतिशत हुनुपर्छ भन्नेमा हामी छौं । कम्तीमा एक उपसभापति, एक महामन्त्री हुनुपर्छ भनेर पार्टी र सभापतिसँग अपिल गरेका छौं,’ डिनाले भनिन्, ‘पार्टीले विधान संशोधन गर्दा यो विषय मिलाउँछ भन्ने हाम्रो अपेक्षा छ ।’
नेताहरूको छटपटीबारे डिना
लामो समयदेखि देउवा टीममा रहेका नेताहरू भने यतिखेर बलियो समूहको छहारी खोजिरहेका छन् । देउवा अब सक्रिय राजनीतिमा नहुने भएपछि आफ्नो लागि नेताहरूले स्पेश खोजेको हुन सक्ने उनको भनाइ छ ।
‘शेरबहादुर दाइ नउठ्दा भोलि को हो त भनेर नेताहरूले मनस्थिति बनाएका हुन् । राजनीति गर्नेका लागि यो नौलो होइन, स्वाभाविक कुरा हो,’ डिनाले भनिन्, ‘तर, महाधिवेशनको ६ महिनाअगाडि मात्रै कसको केमा दाबी र कतातिर भन्ने कुराको टुंगो लगाउनुपर्छ भन्नेमा म छु ।’ अघिल्लोपटक देउवालाई साथ दिएका एनपी साउँद, बालकृष्ण खाँणसहितका नेता शेखर कोइरालानजिक देखिएका छन् । अन्य नेताहरूले पनि गुट अदलबदलको प्रयास गरेका छन् ।
जितिसकेको चुनाव हारेपछिको दुःख
सभापति देउवासँग विश्वासिलो सम्बन्ध भएकी डिनाले २०७९ सालमा समानुपातिक होइन, प्रत्यक्ष चुनाव लडेकी थिइन् । आफ्नो गृहनगर मकवानपुर– १ बाट उनी उम्मेदवार बनेकी थिइन् । उनीविरुद्ध कमल थापा एमालेको सूर्य चिह्न र राप्रपाका दीपक सिंह हलो चिह्नबाट उठेका थिए ।

मतगणनामा डिनाले जित्ने जस्तो देखिएको थियो । तर, अन्तिमतिर पुग्दा डिना सिंहसँग पराजित भइन् । सिंहले २७ हजार ८१६ मत ल्याउँदा डिनाले २५ हजार ४३४ मत ल्याइन् । थापाले २५ हजार ४२० मत ल्याएका थिए ।
त्रिपक्षीय प्रतिस्पर्धामा पराजित भएपछि डिनाले आफूलाई पार्टीभित्रैबाट हराइएको प्रतिक्रिया दिएकी थिइन् । प्रदेशमा राजनीति गरिरहेका इन्द्र बानियाँको समूहका कारण डिना हारेको चर्चा चलेको थियो । त्यसपछि भने डिना संस्थापन पक्षसँग केही चिढिएको नेताहरू बताउँछन् ।
तर, डिना हारजित स्वभाविक भए पनि नजिक पुगेर पराजित हुँदा ठूलो अवसर गुमेको बताउँछिन् । ‘राजनीति गरेको मान्छेले चुनावमा हारजित सहनुपर्छ । तर, हार्दा ठूलो अवसर गुम्यो । यसमा त दुःख लागिहाल्छ । तर, चुनाव हारियो मात्रै भनेर बसेको छैन,’ उनले भनिन् ।