३० असार २०८३, मंगलबार

नि:शुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन गरिने

चैत २, २०८१
काठमाडौं
नि:शुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन गरिने

नेपाल नेत्रज्योति सङ्घ खोटाङले यही चैतमा  जिल्लाका तीन स्थानमा नि:शुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविर सञ्चालन गर्ने भएको छ । यही चैत ४, ५ र ६ गते बाक्सिला बजार, चैत ९, १० र ११ गते दिक्तेल तथा चैत १४, १५ र १६ गते त्रिधार्मिकस्थल हलेसीमा शिविर सञ्चालन गर्ने जनाएको हो । 

सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानको प्राविधिक सहयोगमा सञ्चालन गरिने शिविरमा जटिल किसिमका आँखाका बिरामीको निशुल्क शल्यक्रिया, आँखा जाँच, औषधि तथा चस्मा वितरण गरिने आयोजक संस्था नेपाल नेत्रज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए । 

“दश स्थानीय तह रहेको खोटाङमा एक हजार ५४२ जनामा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ । उनीहरुलाई संसार देखाउने उद्देश्यले शिविर आयोजना गरिएको हो”, उनले भने, “शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल लहानबाट डा दिवाकर चौधरीको नेतृत्वमा १४ जनाको प्राविधिक टोली आउँदै हुनुहुन्छ ।” 

आयोजकका अनुसार शिविरमा करिब दुई हजार १०० जनाले सेवा लिने अनुमान गरिएको छ । शिविरमा शल्यक्रिया गराएका बिरामी र कुरुवाका लागि खाना, खाजा र बासको समेत व्यवस्था गरिएको छ । 

विसं २०६० वैशाख १० गतेबाट जिल्लामा औपचारिक रुपमा सेवा सुरु गरेको सङ्घले २७ हजार ५०१ जनाको आँखा उपचार गराइसकेको जनाइएको छ । निःशुल्क आँखा उपचार शिविर सञ्चालनका लागि नेत्रज्योति सङ्घ र सम्बन्धित स्थानीय तहको रु तीन लाख ५० हजारदेखि रु चार लाखसम्म खर्च हुने जनाइएको छ । शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानले औषधि, उपकरण तथा प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ । 

सङ्घले सदरमुकाम दिक्तेल बजार र हलेसीमा आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्