२३ असार २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

पूर्वराजालाई प्रचण्डको गम्भीर आरोपदेखि सुनको मूल्यमा रेकर्डसम्म

चैत २, २०८१
काठमाडौं
पूर्वराजालाई प्रचण्डको गम्भीर आरोपदेखि सुनको मूल्यमा रेकर्डसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको संगीन आरोप लगाएका छन् । वंश विनाश गर्नेहरूले राजा बन्ने धाक देखाएको भन्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई खबरदारी गरे । 

सिन्धुपाल्चोकको मेलम्चीमा शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डले ज्ञानेन्द्र शाहको नाम उच्चारण नगरी मूर्ति चोर र सुन तस्करको समेत आरोप लगाए । प्रचण्डले १० हजार जना सडकमा उफ्रिँदैमा देशमा गणतन्त्र खतरामा नपर्ने र त्यसको लागि जवाफ दिन माओवादी तयार रहेको बताए ।
००००
नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई महामन्त्री गगन थापा र डा शेखर कोइराला समूहले पदाधिकारीको अफर गरेका छन् ।

१४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाट सह–महामन्त्री जितेकी डिनालाई १५ औं महाधिवेशनका लागि आफ्नो टीममा आउन गगन र शेखर समूहले पहल गरिरहेका हुन् ।

सभापतिमा अब देउवाको दाबेदारी रहने छैन । यसैले उनको टीमका नेतालाई तान्ने प्रयासमा गगन र शेखरको दुवै समूह लागिरहेका छन् ।
००००
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । 

विद्यार्थी सङ्गठनबीच विवाद हुँदा ११ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नसकेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । विद्यार्थी सङ्गठनबीच भर्ना प्रक्रियामा विवाद हुँदा ती क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढ्न नसकेको उनले बताए । 

निर्देशक अधिकारीका अनुसार देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि नबढेको हो ।
००००
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।

पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भुसालले अहिलेसम्म सार्वजनिक पदमा धारण गरेका सबैको सम्पत्ति छानबिन गर्न संवैधानिक तथा कानुनी व्यवस्थासहितको आयोग गठन गर्नुपर्ने बताए ।
००००
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएको छ । 

नेविसंघले शुक्रबार पत्रकार सम्मेलन गरी ‘स्वतन्त्र विद्यार्थी युनियन’ (स्ववियु) को चुनावी घोषणापत्र सार्वजनिक गर्दै हरेक विश्वविद्यालय तथा क्याम्पसमा ‘डिजिटल लाइब्रेरी’ र ‘निःशुल्क वाइफाइ व्यवस्थापन’ का लागि पहल गर्नेसमेत जनाएको छ ।  
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको संगीन आरोप लगाएपछि राप्रपा सचेतक ज्ञानेन्द्र शाही प्रतिवादमा उत्रिएका छन् ।

सिन्धुपाल्चोकको मेलम्चीमा शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डलेवंश विनाश गर्नेहरूले राजा बन्ने धाक देखाएको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई खबरदारी गरेका थिए । 

त्यसको केही घण्टापछि जवाफ फर्काउँदै राप्रपा सचेतक शाहीले विदेशीको इसारामा प्रचण्ड र तत्कालीन सरकारको मिलेर वीरेन्द्रको वंशनाश गरेको बताएका छन् ।
००००
वन क्षेत्रमा अवैधरूपमा ढुंगा खानी सञ्चालन गरी अवैध उत्खनन्, ओसारपसार, निकासी र बिक्री वितरण गरेको भन्दै डिभिजन वन कार्यालय ललितपुरले ३ जना व्यवसायीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

ललितपुरको गोदावरी नगरपालिकामा स्वीकृत उत्खनन् क्षेत्रबाहिर ढुंगा उत्खनन् गरेको भन्दै वीरेन्द्र महर्जन ढुंगा उद्योग प्रालिका सञ्चालक वीरेन्द्र महर्जन, निराकार रोडा ढुंगा उद्योग प्रालिका सञ्चालक मधुसूदन डोटेल र मछिन्द्रनाथ मल्टीप्रपोज प्रालिका सञ्चालक केदारनाथ तिमल्सिनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
००००
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा धनुषाकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पतालमै यसअघि १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्टका रूपमा सेवा गरेकी पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
००००
१० वर्षीया बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा महोत्तरीमा सशस्त्र प्रहरी बल नेपालका नायब निरीक्षक (सई) पक्राउ परेका छन् । 

महोत्तरीको लोहारपट्टी नगरपालिका–४ स्थित सशस्त्र प्रहरी रेल्वे ट्रयाक पोस्टका तीन बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा सशस्त्र प्रहरीका सई धर्मेन्द्रसिंह महतो पक्राउ परेका हुन् ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । 

आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठूला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गरेका हुन् ।
००००
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)ले भ्रष्टाचार नियन्त्रणका लागि अहिलेसम्म सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठनको प्रस्ताव गरेको छ । 

पार्टीका निर्णय सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एसका महासचिव घनश्याम भुसालले राजनीतिक भ्रष्टाचारमा डोजर चलाउन सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने बताएका हुन् ।
००००
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा गठित ‘नीति प्रयोगशाला’ कार्यान्वयनमा आएको छ ।  नेपाल सरकारले बनाउने नीति निर्माणलाई व्यवस्थित, वैज्ञानिक र वस्तुपरक बनाउने उद्देश्यले नीति प्रयोगशाला बनाइएको हो ।

अब कुनैपनि मन्त्रालयले राष्ट्रिय नीति तर्जुमा, हेरफेर वा संशोधन गर्नुपर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहने नीति प्रयोगशालाबाट राय लिनुपर्ने हुन्छ । २०८१ फागुनमा अस्तित्वमा आएको उक्त प्रयोगशालाको पहिलो बैठक यही फागुन २२ गते बसेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाउन लागेको श्रम आप्रवासन नीतिका विषयमा उक्त बैठकमा छलफल समेत भएको छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई चुनौती दिएका छन्।

बिहीबार मकवानपुरको थाहा नगरपालिका शिखरकोटमा आयोजना भएको दोस्रो थाहा नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थामा गए राप्रपाको समर्थन रहने बताएका हुन् ।
००००
नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघिको उच्च विन्दु १ लाख ७१ हजार रुपैयाँ थियो ।
००००
चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत् जनसभा आयोजना गर्ने भएको छ ।

शुक्रबार बसेको मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्