२८ जेठ २०८३, बिहीबार
नियात्रा

रहस्यले भरिएको ‘बरमुडा त्रिभुज’को नजिकबाट...

चैत २, २०८१
काठमाडौं
रहस्यले भरिएको ‘बरमुडा त्रिभुज’को नजिकबाट...

हामी त्यस दिन मायामीमा थियौं । मायामी फ्लोरिडाको अति सुन्दर महानगरी रहेछ । त्यहाँका पचासौं तले घरहरू एकनासले अनन्तसम्म फैलिएर रहेका रहेछन् । संसारकै उच्च भवनहरू भएको मायामी शहरको विशालतालाई निर्निमेष हेरेर मजा लिने हामी चार प्राणी थियौं त्यहाँ । मायामी साँच्चै मायानगरी रहेछ । हुन त विशाल भवनहरू त वेस्ट पामबिच, सेन्टपिटरवर्ग र ओरल्यान्डोमा पनि नदेखिएका  होइनन् । अन्तभन्दा यस शहरका भवनमा भिन्नता रहेको महसुस हामीलाई भइरहेको थियो । 

फ्लोरिडाको मायामी शहर संयुक्त राज्य अमेरिकाको एक प्रमुख गन्तव्य मानिन्छ । आफ्नो अति मनोरम समुद्री किनार, त्यस्तै आकर्षक मौसम, अद्वितीय कला र सांस्कृतिक विविधताले संसारभरिका मानिसलाई आफूतिर आकर्षित गर्ने  पर्यटकीय स्थलका लागि यसको महिमा अवर्णनीय मानिन्छ । मायामी डेड काउन्टीमा पर्ने एक प्रमुख शहर हो । यो दक्षिण फ्लोरिडाको आर्थिक मात्र नभएर र सांस्कृतिक केन्द्रका रूपमा समेत प्रसिद्ध छ ।

मायामीका समुद्रहरूः जस्तै साउथबिच, संसारभरिका पर्यटकहरूका लागि आकर्षणका केन्द्रविन्दु हुन् । यहाँको सफा बालुवा, नीलो पानी र स्वच्छ नीलो आकाश ‘रउसे पर्यटक’हरूलाई शक्तिशाली चुम्बकले फलाम तानेजस्तो आफूतिर तान्ने साँच्चै जादूमय मानिने रहेछन् ।​ साउथबिच आफ्नो विशिष्ट वास्तुकला शैलीका भवनका निम्ति संसारभरि प्रसिद्ध छ । यहाँका यी आकाश नै छेडुँला झैँ गरेर उचालिएका भवनहरू ऐतिहासिक महत्वका मात्र होइनन्, कलात्मक सौन्दर्यका लागि पनि उत्तिकै कहलाएका रहेछन् ।

मायामीलाई ल्याटिन अमेरिकाको प्रवेशद्वार पनि भनिँदोरहेछ । मायामीका धेरैजसो बासिन्दा भेनेजुएला, अर्जेन्टिना, क्युवालगायत ल्याटिन अमेरिकी र क्यारेबियन मुलुकबाट आएका हुँदा रहेछन् । त्यसैले यहाँको भाषा र यहाँको खानपान विशेष खालको र विशिष्ट रहेछ । मायामीको कला र संस्कृति विविधताले भरिएको हुँदोरहेछ ।

अन्तर्राष्ट्रिय व्यापार, बैंकिङ व्यवसाय र पर्यटन उद्योगका लागि अमेरिकाका प्रमुख शहरमध्ये पनि यो अग्रणी मानिँदो रहेछ । संसारभरिका अति व्यस्त पानीजहाजका बन्दरगाहमध्ये मायामीको बन्दरगाह पनि एक रहेछ । पारिवारिक रूपमा घुमफिर गर्न जंगल आइल्यान्ड, मायामी सिक्वेरियम र लिटिल हवाना यहाँका प्रमुख पर्यटकीय क्षेत्र मानिँदा रहेछन् । ऊर्जाशीलता, जीवनशैली र मनोरञ्जनका लागि मायामी संसारमै अब्बल मानिँदोरहेछ ।

मायामी नगरी गगनचुम्बी महलहरूको शहर रहेछ । जतापनि धेरै अग्ला घरहरू रहेछन् । हामीले ती घरभन्दा अगाडिका फराक सडकमा उभिएर घर समेत आउने गरी तस्विर खिचायौं । मायामी शहरका विभिन्न क्षेत्रमा हामी कतै गाडी लिएर त कतै पैदल हिँडेर यहाँको सौन्दर्यको भरपूर रसपान गर्‍यौं ।  

मायामीका समुद्र किनारहरू ज्यादै प्रसिद्ध रहेछन् । विश्वमै सबैभन्दा प्रख्यात नै मायामी बिच (बगर) रहेछ ।  हुन त हामीले क्लियर वाटर बिच, सेन्ट पिटरबर्ग बिच, वेस्टपाम बिच , ग्यालबेस्टन बिच, क्यानकुन बिच र कोजुमेल बिच पनि नदेखेका होइनौं, तर मायामीका मायामी बिच र साउथ बिचले अरू धेरै बिचलाई पछि पारेका रहेछन् भन्ने हामीले तब मात्र थाहा पायौं, जब हामी एट्लान्टिक महासागरको सफा बालुवैबालुवाले भरिएका किनारामा उभिएका थियौं । समुद्र किनारमा अनगिन्ती मानिस  देखिन्थे । युवक–युवतीहरू बालुवामा लमतन्न सुतेर घामको मजा लिइरहेका थिए । 

null

मायामी बिचमा पनि गोही लडेजस्ता भएर गोरागोरीहरू नाङ्गानाङ्गै  बालुवामाथि लमतन्न लडेका देखिन्थे । उनीहरू घामले डढेर आफ्नो गोरो छाला कालो पार्नसके त्यसलाई निकै ठूलो पुरुषार्थ ठान्दा रहेछन् । कोही गोरा हुन चाहने, फेरि गोराहरू काला हुन चाहने, संसार थरि–थरि ।

हामीलाई लोभ्याउन एट्लान्टिक महासागरमा माथि–माथि उचालिएर परबाट छाल आइरहेको थियो । हामी पनि त्यो छालसित जिस्कन त्यही पुग्यौं । केहीबेरसम्म छालसित जिस्केर रमाइलो गरेपछि हामी पौडी खेल्न तयार भयौं ।  ज्वाइँ र म पौडी खेल्न हाफ पेन्ट मात्र लगाएर एट्लान्टिक महासागरमा पस्यौं । ला, बिहान हतारहतार गञ्जी फेर्दा जनै त गञ्जीमै पो छुटेछ, ज्वाइँका अगाडि पहिले त मलाई लाज लाग्यो । तर, पछि ज्वाइँको काँधमा पनि जनै नदेखेपछि मात्र केही हदमा शंकोच हट्यो । मलाई अलिकति राहत मिलेजस्तो भयो ।  

हामी ज्वाइँ–ससुरा एट्लान्टिक महासागरमा पौडी खेल्न थाल्यौं । ज्वाइँले त मजासित पौडी खेल्नुभयो, तर आफू त सानै छँदा उहिले बूढीखोला, हसिनी खोलामा बाँध बाँधेर जमाएका पानीमा खेलेको सम्झिँदै पौडी खेलें । धेरै पर पुगेर किनारतिर हेर्दा मेरी सपना धेरै उता नजानू भनेर आफूतिर हातले इसारा गर्दै बोलाइरहेकी रहिछन् । त्यसपछि परबाट फर्किएर आएँ ।  

त्यहाँ हजारौं हजारको संख्यामा मानिसहरू थिए । मैले पौडी खेल्दा बेलाबेला मेरो टाउकोमाथि आएको छालले छपक्क पुर्दथ्यो । हामीले त्यहाँ पौडी खेल्दाखेल्दै झण्डै दुई घण्टा बितेको कुरा त बाहिर निस्केपछि मात्र थाहा भयो । सपना र छोरी साधना महासागरका किनारमा उभिएर हामी पौडेको दृश्यलाई क्यामेरामा कैद गरिरहेका थिए ।  मायामीको एट्लान्टिक महासागरका नजिकै बालुवा नै बालुवाले भरिएको किनारमा हामीले निकैबेर समय बितायौं । समुद्रमाथिको पुलमा उभिएर हामीले निकै टाढाटाढासम्म आँखा पुर्‍यायौं । समुद्रको नीलो पानी आँखाले देखुञ्जेल टाढा क्षितिजसम्म फैलिएर रहेको थियो, अनन्त अनन्तसम्म ।

रहस्यले भरिएको ‘बरमुडा त्रिभुज’ क्षेत्र त्यतै पर्दोरहेछ । त्यस बरमुडा त्रिभुजले मायामी बिचको नजिकैको एउटा ठाउँलाई छुन खोजेको रहेछ । बरमुडा क्षेत्रलाई केही संकेतहरूले छुट्याएको हामीले थाहा पायौं । बरमुडा त्रिभुजलाई  अमेरिकीहरू ‘बरमुडा ट्राङ्गल वा डेभिल्स ट्राङ्गल (मभखष्कि तचष्बलनभि) भन्दा रहेछन् । डेभिल्स ट्राङ्गल अर्थात् बरमुडा त्रिभुज एट्लान्टिक महासागरको अत्यन्त रहस्यमय त्रिभुजाकार क्षेत्र त्यतै नजिकै पर्ने रहेछ  । 

बरमुडा त्रिभुजको त्यस क्षेत्रबाट विगत दुई सय वर्षअघिदेखि आजसम्ममा पचासभन्दा बढी ठूला पानीजहाजहरू, बीसवटा भन्दा बढी हवाइजहाजहरू, असङ्ख्य मोटरबोट र डुंगाहरू गायब भइसकेका रहेछन् । त्यहाँ गायब भएका पानीजहाजहरू कहाँ जान्छन् भन्ने कुरा कसैले भन्न नसक्ने रहेछ ।  यस त्रिभुजका पश्चिमतर्फ अमेरिकाको फ्लोरिडा राज्यको जादूमयी शहर मायामी पर्दोरहेछ । त्यसका उत्तरतर्फ बरमुडा भन्ने ठाउँ नै रहेछ भने त्यसको दक्षिणतर्फ प्रुटोरिको भन्ने ठाउँ पर्दोरहेछ । 

रहस्यले भरिएको यो बरमुडा त्रिभुज क्षेत्र २५ डिग्रीदेखि ४० डिग्री उत्तरी अक्षांश अनि ५५ डिग्रीदेखि ८५ डिग्री पश्चिमी देशान्तर रेखा बीचमा फैलिएर रहेको रहेछ । यसको क्षेत्रफल १५ लाख बर्गमिल रहेछ । यसक्षेत्रका अनेक रोमाञ्चकारी घटना संसार किम्बदन्तीका रूपमा सुनाउने चलन रहेछ  । 

बरमुडा त्रिभुज विश्वकै सबैभन्दा रहस्यमय ठाउँ मानिँदो रहेछ । त्यस क्षेत्रमा कुनै पनि जहाज प्रवेश गर्नेबित्तिकै त्यससित रहेको रेडियो संकेत काटिएर जहाज वा वायुयान सम्पर्कविहीन बन्दा रहेछन् । अनि जहाज अचम्मसित गायव हुँदारहेछन् । ती डुब्छन् कि कुनै शक्तिशाली अन्य ताराका ब्ल्याक होलभित्र छिर्छन् भन्ने कसैले आजसम्म यकिन गर्न सकेका रहेनछन् ।  

यस क्षेत्रमा सबैभन्दा रहस्यमय घटना सन १९६८ मा भएछ । संयुक्त राज्य अमेरिकाकाको परमाणु शक्तिबाट चल्ने स्कोर्पियन (बिच्छी) नाम गरेको एउटा पनडुब्बी यही बरमुडा त्रिभुज क्षेत्रमा प्रवेश गर्नासाथ अचानक बेपत्ता भएछ । त्योभन्दा पहिले सन १९४५ को डिसेम्बर महिनामा पाँचवटा वमवर्षक विमानहरू उड्दाउड्दै त्यही क्षेत्रमा लापत्ता भएका रहेछन्  । ती यानको उद्धार गर्नका लागि  गएका अरू यानहरू पनि त्यही क्षेत्रमा पुगेपछि लापत्ता भएछन् । यसैगरी, त्यस बरमुडा त्रिभुजाकार क्षेत्रमा मात्र हजारौं हजार मानिसको ज्यान गइसकेको रहेछ । उनीहरू कहाँ गए, आजसम्म कसैलाई थाहा छैन । 

बरमुडा त्रिभुजाकार क्षेत्रमा किन जहाजहरू लापत्ता हुन्छन् भनेर युगौंदेखिको  रहस्य आजसम्म कसैले पनि पत्ता लगाउन सकेको रहेनछ । बरमुडा त्रिभुज क्षेत्रका विषयमा अनेकौं सिद्धान्त र अनुमानका विविध शृंखलाहरू प्रस्तुत हुने गरे पनि कुनै पनि पूर्ण र सन्तोषजनक मानिएका रहेनछन् ।

कुनै वैज्ञानिकले यस क्षेत्रमा शक्तिशाली बतास माथितिरबाट तलतिर चलेर हवाइजहाज वा पानीजहाजलाई एट्लान्टिक ओसनमा चुर्लुम्मै डुबाइदिन्छन् भन्ने कुरामा विश्वास गर्दारहेछन् । वैज्ञानिकले भनेअनुसार यस बरमुडा त्रिभुजाकार क्षेत्र विशाल र अत्यन्त शक्तिशाली चुम्बकीय क्षेत्र हुनुपर्दछ, त्यसैले त्यस क्षेत्रमा पुगेका पानीजहाज, हवाइजहाज आदिमा भएको रेडियो संकेत च्वाट्ट काटिदिन्छ अनि पानीजहाज वा हवाइजहाजलाई सधैंका लागि बेपत्ता पारिदिन्छ । यस त्रिभुजाकार बरमुडा क्षेत्रमा बेपत्ता हुने ती जहाजहरू कुनै ब्ल्याक होलमा गएर पसेको हुनसक्छ भन्ने अनुमान लगाउनेहरू पनि प्रशस्त छन् ।  

मैले त बरमुडा त्रिभुजका रहस्यका विषयमा पहिले पनि धेरै कुरा पढेको र सुनेको थिएँ । त्यसैले मलाई यसको अद्भुत रहस्यका विषयमा त्यति उदेक लागेन, तर मेरी पत्नी सपना भने त्यो कुरा सुन्दा तीनछक परेकी देखिन्थिन् । उनले बिस्तारै भनिन्– ‘बाफ्रे! अमेरिकाका वैज्ञानिकले पनि पत्ता लगाउन नसकेको रहस्य भनेपछि कस्तो होला त त्यो ठाउँ  ?’

हामी बरमुडाको रहस्यका विषयमा निकै बेरसम्म घोत्लिएर बस्यौं अनि विश्वकै अति सुन्दर मानिने मायामी बगरलाई बाई–बाई गरेर अर्को गन्तव्य वेस्टपाम बिचतिर लाग्यौं ।

salt training

कमेन्ट गर्नुहोस्