२० असार २०८३, शनिबार
एउटा सम्बन्धको कथा

पत्रमित्रताले जोडेको साइनो, प्रेम हुँदै विवाहमा बदलिएपछि झन् कसिलो

चैत २, २०८१
पाेखरा
पत्रमित्रताले जोडेको साइनो, प्रेम हुँदै विवाहमा बदलिएपछि झन् कसिलो

एक दिन पत्रिकाको पाना पल्टाउँदै जाँदा ‘छायाँदेवी’ नामको रुचीसहितको फोटो देखे प्युठानका भावेश भुमरीले । अनि, वैशाख महिनाको गर्मीमा शीतल दार्जिलिङतर्फ पत्र लेखेर पठाए, पत्रिकामा उल्लिखित ठेगानामा । छायाँदेवीको नाममा पठाएको पत्र प्रणिता चामलिङलाई पुग्यो । प्रणिता असमञ्जसमा परिन्- पत्रको जवाफ पठाउँ कि नपठाउँ !

भावेशले २०५३ साल वैशाखमा लेखेको पत्रको जवाफ पठाउन प्रणिताले लगभग १० महिना लगाइन् । यता, भावेशले बिर्सिसकेका थिए, कसैलाई पत्र पठाएछु भनेर । पत्रमित्रताको समयमा पत्रमार्फत् जोडिने साथी धेरै हुन्थे । जवाफ नआएको पत्रको ख्याल पनि हुन्थेन । 

करिब १० महिनापछि काठमाडौंको ठेगान बोकेर दार्जिलिङबाट प्रणिताले ‘छायाँदेवी’को नाममा पत्र पठाइन्, भावेशलाई । प्रणिता असमन्जसमा हुनुको कारण नाम थियो । मित्र बनाउने रहरले आफ्नो नाम नराखी छद्म नाम राखेर पत्रिकामा मित्रताको हात अगाडि बढाउन खोजेकी थिइन् । ‘छायाँदेवी’को नाममा पत्र आएपछि भने उनलाई अप्ठ्यारो लाग्यो । महिना दिनपछि उनले पत्र लेख्ने निर्णय गरिन् । जसको जवाफ भावेशले पत्र हात पर्न साथ दिए । प्रणिताको रुचीसँग उनको रुची मिल्थ्यो त्यसैले चिठी लेख्ने ढिला गरेनन् भावेशले । 

‘उनको रुचीमा साहित्य संगीत थियो । म पनि साहित्यमा लागेको मान्छे, दार्जिलिङतिरको मान्छेसँग पत्रमित्रता गर्‍यो भने साहित्य, कला, संगीतको बारेमा केही नयाँ कुरा थाहा पाइन्छ भनेर मैले चिठी लेखेको थिएँ’, भावेश ती दिन सम्झिन्छन् ।

त्यसपछि पत्र आदानप्रदान भइरह्यो । मित्रता शुरू भयो । एक आपसमा रुची साटासाट भयो । प्रविधिको समय थिएन । यात्रा पनि अहिलेजस्तो सहज थिएन । पत्रमा फोटो आउँथ्यो, एकअर्काको । त्यसैलाई हेर्थे दुवैले । डेढ वर्षसम्म लगातार चिठी आदानप्रदान भयो । प्रणिता उतै स्नातक अध्ययन गरिरहेकी थिइन् । साहित्यदेखि राजनीतिको गफगाफको उनीहरू पत्रमै गरिरहेका हुन्थे । कहिले पत्र आउला भनेर प्रतीक्षा हुन्थ्यो । पत्रमार्फत् गरिका गफमा प्रेम झल्किन्थ्यो । अक्षरहरूमा माया बगेको हुन्थ्यो । तर, दुवै यो कुरा खुलेर स्वीकार गरेका थिएनन् ।

त्यहीबीच भावेशलाई परिवारबाट विवाहको लागि आयो । काठमाडौं बसेर पढेको छोरा उतै भुल्छ कि भन्ने बाआमाको डरले छोरालाई ‘जहान’ खोज्न हतारिएका थिए । 

‘त्यतिबेला मलाई बिहे गर्न घरबाट एकदमै कर गर्नुभएको थियो । ६/७ जना केटी खोजेर राख्नुभएको थियो । उनलाई मैले घरमा बुबाआमाले विवाह गर्ने भन्दै हुनुहुन्छ म घर जानुपर्छ भनेको थिएँ । त्यसपछि हामी प्रस्ट भएको हो’, भावेशले भने । 

भावेशको पत्रले प्रणिता झस्किइन् । थाहै नपाइ उनी भावेशलाई प्रमे गर्न थालिसकेकी थिइन् । तुरुन्तै उनले भावेशलाई पत्र लेखिन्– तपाईंलाई म साथ दिन्छु । 

प्रणिताको पत्रले भावेश हर्षित भए । मनमा दबाएर राखेको कुरा शब्दमा पोखिएका थियो त्यो क्षण । अर्को पत्रमा उनीपनि पोखिन पाउँथे प्रणिताजस्तै । 

‘त्यहाँबाट हाम्रो प्रेम गाढा भएको हो । उनले त्यो कुरा लेखेपछि एकले अर्कालाई बुझ्यौं । पढाइ लेखाइ मिल्यो’, भावेशले भने । 

null

२०५३ सालदेखि शुरू भएको मित्रताले प्रेमको बाटो लियो । २०५५ सालमा भेटघाट । देखभेटका लागि प्रणिता आफैं काठमाडौं आइन् । दार्जिलिङदेखि काठमाडौंको यात्रा तय गर्दा प्रणितासँग मात्र थियो, पत्रमा साटिएको प्रेमको आशा । फोन संवादका लागि हातहातमा अहिलेजस्तो फोन हुन्थेन । थियो त केवल भावेशले दिएको एक/दुई स्थानको जानकारी । काठमाडौं आएपछि एउटा स्टेशनरीमा सम्पर्क गर्ने भनी भावेशले प्रणितालाई नम्बर दिएका थिए । त्यही फोन नम्बरको आधारमा उनी ५ सय किलोमिटरभन्दा टाढाको यात्रा तय गरेर काठमाडौं आइन् । 

प्रणिताले मुस्कुराउँदै भनिन्,‘प्रेमले आँट दिने रहेछ । प्रेम भएपछि विश्वास पलाउने रहेछ । विश्वासले आँट दिने रहेछ । प्रेम र विश्वास त पर्यावाची रहेछ । त्यतिबेला कसरी आँट आयो आयो !’
 
प्रेमले दिएको विश्वास र आँटले घरमा सल्लाह गरेर उनी दिदीसँग काठमाडौं हिँडेकी थिइन् । २०५५ साल असोजको महिना काठमाडौं ओर्लिएपछि भावेशले दिएको स्टेशनरीको फोनमा सम्पर्क गरिन् । जवाफ आयो- ‘भावेश दाजु यता नआएको त धेरै भइसक्यो।’ उनी झसङ्ग भइन् । 

‘असोजमा म आएको । खाली एउटा फोन नम्बर दिनुभएको थियो । प्रभात सुवेदीको । उहाँको कलंकीमा स्टेशनरी थियो । त्यहाँ फोन गरेँ । पहिला आएर मलाई त्यहीँ फोन गर्न भन्नुभएको थियो । फोन गरेको त, ‘ला भावेश दाजु त कति भयो आउनुभएको छैन’ भन्नुभयो । त्यतिबेला त म खङ्गग्रङ्ग भएँ’, प्रणिता भन्छिन् । 

भावेश आरआर क्याम्पसमा पढ्ने थाहा थियो उनलाई । भेट्नका लागि क्याम्पस पुगिन् । आफ्नोतिर क्यापसमा पढाइ दिउँसोको समयमा हुन्यो । दिउँसो क्याम्पसमै भेट होला भन्ने आशमा उनी । तर, क्याम्पसमा कक्षा बिहान चल्न रहेछ । उनलाई भोलि बिहानै आउन सुझाए । बागबजारको एउटा लजमा प्रणिता र उनकी दिदी बास बस्न पुगे । 

‘बागबजारको लजमा बस्यौं । बिहानै दिदी क्याम्पस जानुभयो । अरुबेला डर लागेन, त्यतिबेला चाहिँ मलाई डर लागेको थियो  । ओख्खो ! म घरबाट यसोउसो भनेर आएको छु । मैले उहाँलाई भेटिनँ भने पो के गर्ने भन्ने भयो । अहिले जस्तो जमाना होइन नि त्यतिखेर । तर, विश्वासले नै त होला आँट आएको’, प्रणिताले भनिन् । 

मन मिले विवाह गरेर आउँछु भनेर आएकी थिइन् । भावेशसँग भेट भएको थिएन । अञ्जान शहरमा एक दिन मात्र खबर नहुँदा पनि उनलाई छटपटी भएको थियो । आरआर क्याम्पस पुगेकी दिदीको भेट भावेशसँग भयो । प्रणिता आएको खबर पाएपछि भावेश उनी बसेको ठाउँ पुगे । 

‘दिदीले आरआर क्याम्पसमा चिनेर बोलाउनुभयो । प्रणिता आएकी छन् जाउँ भनेपछि हामी बागबजारको गेस्ट हाउसमा गयौं । सामान्य देखाभेट भयो । चकलेट ल्याएकी रहिछिन् । चकलेट दिइन् । चकलेट खाएँ’, भावेश भन्छन् ।

भावेशसँग प्रणिता र उनकी दिदी कोठामा गए । घुमघामपछि प्रणिता काठमाडौं बसिन् । दिदी दार्जिलिङ फर्किइन् ।  दशैंको नजिकिएको थियो । घरमा कुरा भइरहेकै थियो । भावेश प्रणितालाई लिएर प्युठान पुगे । अनि, दशैंको छेको पारेर विवाह गरे । 

null

२६ वर्ष भयो वैवाहिक सम्बन्धमा जोडिएको । प्रणिताको अनुहारमा अझैपनि उही नौलोपनको खुशी झल्किन्छ । कुराकानी गर्दा समयसमयमा लजाउँदै बोल्छिन् । भावेश पनि उत्तिकै रोमाञ्चक हुँदै प्रणिताको गफमा जोडिन्छन् । एकअर्कालाई राम्रोसँग बुझेका कारण खुशी भएको बताउँछिन् प्रणिता । प्रेम तपस्या रहेको सुनाउँछन् भावेश । 

‘हाम्रो त्याग थियो । तपस्या थियो । एक अर्कालाई बुझेका थियौं, त्यागको परिणाम न हो यो । नत्र गाह्रो हुन्छ । प्रेमलाई जीवनमा कन्भर्ट गर्न कति गाह्रो हुन्छ । व्यवाहारिक रूपमा अगाडि लैजान सक्नुपर्छ’, भावेशले भने । 

प्रणिताले भावेशबाट प्रेम मात्र होइन, विश्वास र सम्मान पनि पाइन् । त्यसैले सम्बन्ध झन् प्रगाढ बन्यो । उनले सुन्छिन् कतिपय साथीको, ‘श्रीमान्‌ले यस्तो गर्न दिएन, यस्तो भन्यो ।’ तर,भावेशले उनलाई कहिल्यै पनि त्यो बन्धनमा बाँधेनन् ।

‘प्रेममा विश्वास हुनुपर्छ । विश्वास छैन भने प्रेम हुँदैन । विश्वासबिनाको प्रेम धोका हो । प्रेम सफल हुन विश्वास चाहिन्छ । हाम्रो २६ वर्ष भयो, कहिले लड्दै, जुझ्दै, हाँस्दै, खेल्दै, बाँचिरहेका छौं । तर, हाम्रो प्रेमको गाडी अहिलेसम्म दौडिरहेको छ । कतै रोकिएको छैन’, प्रणिताले भनिन् । 

यो विश्वास र प्रेम दोहोरो हो । प्रेम र स्वतन्त्रता खोजेकी प्रणिताले भावेशलाई पनि उत्तिकै विश्वास गर्छिन् । उनको साथमा साथ दिन्छिन् । यही साथ र भरोसाको जगले बलियो बनाएको छ प्रणिता र भावेशको प्रेमिल संसार ।

salt training

कमेन्ट गर्नुहोस्