०८ साउन २०८३, शुक्रबार

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ सार्वजनिक

चैत २, २०८१
काठमाडौं
कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ सार्वजनिक

कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक भएको छ । 

कीर्तिपुरमा शनिबार आयोजित कार्यक्रममा कठामाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी, वरिष्ठ साहित्यकार एवं समालोचक प्राडा. कृष्णहरि बराल, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले संयुक्त रूपमा कविता तथा गजलसङ्ग्रह सार्वजनिक गरे । 

कार्यक्रममा सांसद केसीले कवि तथा गजलकार सुदिम्न दाहालले साहित्यमार्फत् समाजमा जागरण ल्याउन गरेको प्रयत्न प्रशंसनीय भएको बताए । 

सुदिम्नको परिवारसँग आफू चिरपरिचित रहेको र लोकतान्त्रिक आन्दोलनमा उनी र उनका परिवारले निरन्तर सहभागिता जनाउने गरेको बताउँदै सांसद केसीले भने, ‘साहित्यमार्फत् लोकतान्त्रिक मूल्यमान्यतालाई अझ परिस्कृत गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।’ 

कीर्तिपुर क्षेत्रमा रहेर साहित्य सिर्जना गर्ने सर्जकहरूलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता सांसद केसीले व्यक्त गरे । 

वरिष्ठ सहित्यकार एवं समालोचक प्राडा. बरालले कवि तथा गजलकार सुदिम्नले समाजमा व्याप्त विकृतिका बारेमा कविता तथा गजलमा चिन्ता व्यक्त गर्दै अध्यात्मवादी र मानवतावादी रचनाहरू सिर्जना गरेको बताए । 

माया प्रेमका विषयवस्तुदेखि लिएर राजनीतिक गैरजिम्मेवारीपनसम्मका चिन्तन सुदिम्नका रचनामा पढ्न पाइने उल्लेख गर्दै प्राडा. बरालले भने, ‘देशमा व्याप्त असमनताप्रति उनले आक्रोश प्रकट गरेका छन् ।’

एपीएफ स्कुल कीर्तिपुरका शिक्षक आचार्य केदारप्रसाद भण्डारीले यस सङ्ग्रहमा सङ्ग्रहित गजलहरूमा संरचनात्मक परिपक्वता रहेको र गजलका आधरभूत मान्यतालाई इमान्दार भएर परिपालन गरिएको बताए । 

नेपाली गजल साहित्यको आशलाग्दा गजलकारका रूपमा सुदिम्न स्थापित हुन सक्ने प्रतिभा रहेको भण्डारीले बताए । 
उपप्राध्यापक दीपक ढकालले जीव विज्ञानका विद्यार्थी सुदिम्नको साहित्यप्रतिको रुची लोभलाग्दो भएको बताए । उनले मानवीय संवेदनालाई साहित्यमार्फत् व्यक्त गर्नु आफैंमा प्रसंशनीय कार्य भएको बताए । 

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले कवि तथा गजलकार सुदिम्न प्रतिभाशाली साहित्यकारका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । लेखक दाहालले गजलकारहरूको सामीप्यले गजल लेखनतिर झुकेको कलम अझै सशक्त हुन प्रयासरत रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्