
कालीगण्डकी नदीको पाल्पा क्षेत्रमा दुई जना पुरुषको शव फेला परेको छ । बगनासकाली गाउँपालिकामा पर्ने नदीमा २ जना पुरुष मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख नरेन्द्र चन्दले सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटी कालीगण्डकी नदीमा मृत अवस्थामा भेटिएको लोकान्तरलाई जानकारी दिए ।
मृत भेटिएका दुवैजना कालीगण्डकी करिडोर सडक खण्डमा काम गर्दै आएका मजदुर रहेको बताइएको छ ।
मृतक अस्लामी बगनासकाली गाउँपालिका –६ दर्पुकस्थित कालीगण्डकी करिडोर सडक खण्डको अस्थायी क्याम्पमा बसी सोही सडक खण्डमा डोजर अपरेटरको काम गर्दै आए थिए ।
गत फागुन २६ गते बेलुका खाना खाएर साथीहरूसँगै क्याम्पमा सुतेकोमा २७ गते बिहान हेर्दा अस्लामी विस्तारामा नभएको र खोजतलास गर्दा ५ दिनपछि शनिबार राति मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
रास्कोटी भने नदीको किनारमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । उनलाई खोजतलास गर्ने क्रममा घटनास्थलदेखि २०० मिटर तल पानीमा मृत अवस्थामा फेला पारिएको एसपी चन्दले बताए ।
प्रारम्भिक अनुसन्धानपछि अस्लामीको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं र रास्कोटीको शवलाई जिल्ला अस्पताल पठाइएको पाल्पा प्रहरीले जनाएको छ ।