
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले चैत ७ गतेदेखि देशभर एकैसाथ शुरू हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक आइतबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।
००००
काठमाडौं, ललितपुर र भक्तपुर ३ जिल्ला हेर्ने कार्यक्षेत्र रहेको उपभोक्ता अदालत सञ्चालनमा आएको पहिलो दिन ३ थान मुद्दा दर्ता भएका छन् । काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र त्यस अस्पतालमा कार्यरत २ जना चिकित्सकसहित ३ विपक्षीविरुद्ध ५ करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित पहिलो मुद्दा दर्ता भएको छ ।
००००
नेपाल समाजवादी पार्टीले गणतन्त्रका विरुद्ध राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्र भइरहेको भन्दै त्यसलाई विफल पार्न अपील गरेको छ ।
पार्टीका अध्यक्ष महिन्द्र राय यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुर्नउत्थानवादी तत्वहरु सल्बलाएको बताएका छन् । उनले यसको सशक्त प्रतिवाद गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न नेसपा प्रतिवद्ध भएको बताए । अध्यक्ष यादवले प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्न आम नागरिकलाई अपील गरेका हुन् ।
००००
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का भएको छ ।
अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै थापा प्रहरी प्रमुख बन्ने पक्का भएको उच्च सरकारी स्रोतले लोकान्तरलाई जानकारी दियो ।
कुनै नाटकीय परिवर्तन नभए थापा नेपाल प्रहरीको नेतृत्वमा पुग्ने निश्चित भएको स्रोतको दाबी छ।
००००
राप्रपाका युवा नेता निराजन बम रिहा भएका छन् । आइतबार दिउँसो मकवानपुरबाट पक्राउ परेका बम साँझ रिहा भएको राप्रपा प्रवक्ता सगुन लावतीले जानकारी दिए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको छ ।
रास्वपा केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको हो ।
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले स्थायी कमिटीको आकस्मिक बैठक यही चैत ४ गते काठमाडौँमा आह्वान गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो २ बजे बोलाइएको उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्ने, यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौँमा हुने बृहतर्् याली तथा विशाल आमसभालाई सफल बनाउन कार्ययोजना तयार गर्नेलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
००००
शेयर बजारमा आइतबार पनि ठूलो अंकको गिरावट आएको छ ।
नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ बिन्दुमा कायम भएको छ ।
००००
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ ।
आइतबार मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले आमनागरिकलाई थप भार नपर्नेगरी स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिने र त्यो बाटोमा सरकार लागिरहेको बताए ।
००००
नेपालको राजतन्त्रबारे एमाले सांसद रघुजी पन्त र राप्रपा सांसद ज्ञानेन्द्र शाहीबीच संसद्मै भनाभन भएको छ । ईतिहास तोडमोड गर्न खोजेको भन्दै राप्रपाका सांसद शाहीले नियमापत्ति गरेपछि पन्त प्रतिकारमा उत्रिएका हुन् ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले सांसद पन्तले राजा त्रिभुवन भारत प्रवासमा रहेको बेलाको प्रशंगको कुरा गरेका थिए । नेपालका राजाले कोलकत्ताको क्लबमा महिलासँग रसरंग गरेको विषयमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले समेत बोलेको सांसद पन्तले बताएका थिए ।
त्यसपछि राप्रपा संसदीय दलका प्रमुख सचेतक शाहीले आपत्ति जनाए । सांसद पन्तले इतिहास तोडमोड उनले गरेको आरोप लगाए ।
त्यसपछि आक्रोशित हुँदै सांसद पन्तले भने, ‘इतिहास पढेर आउनू, जुम्लामा हा हु गरेजस्तो होइन ।’ त्यसपछि संसद्मा केहीबेर भनाभन भएको थियो ।
सांसद पन्तले विश्वमै राजतन्त्र भनेको षडयन्त्र भएको टिप्पणी गरे ।