२६ जेठ २०८३, मंगलबार
प्रचण्डको आह्वान

राजाहरूले गरेका कुकर्मबारे युवालाई सचेत गराऔं, कालरात्रि फर्काउन दिनु हुँदैन- प्रचण्ड

चैत ४, २०८१
काठमाडौं
राजाहरूले गरेका कुकर्मबारे युवालाई सचेत गराऔं, कालरात्रि फर्काउन दिनु हुँदैन- प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाले गरेको कुकर्मबारे नयाँ पुस्ताका युवालाई सचेत गराउनुपर्ने बताएका छन् । राजावादीहरूले अहिले गरिरहेको काम संविधान विपरीतको भएको उनले बताए ।

समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले लेखेको पुस्तक विमोचन समारोहलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले राजाहरूका कुकर्मबारे युवालाई सचेत गराउनु पर्ने बताएका हुन् । 

‘इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस गर्दैछन्, अलिकति मूर्खता दरबारियाबाट पहिला पनि भइसकेको हो, अहिले फेरि नगरून्’, उनले भने ।

प्रचण्डले राजावादीले सडकमा गरिरहेको प्रदर्शन संविधान विपरीतको काम भएको बताए । ‘तथाकथित राजावादीले गरेको काम, संविधान विपरीतको काम हो । जनतालाई रैती बनाउने कुरा दिइने छैन । फेरि कालरात्रि फर्काउनेतिर लाग्नु हुँदैन’, प्रचण्डले भने, ‘नयाँ पुस्ताका युवालाई कोत पर्व, भण्डारखाल पर्व र विदेशीको चाकडी कसरी गरेका थिए त्यो बारे जानकारी गराऔं । राजाहरू कलकत्ताको वेश्यालयमा गएर नेहरू (भारतीय प्रधामनन्त्री)ले सम्झाउनु परेको घटना, नमिता–सुनिता हत्याकाण्ड कसले गरेको युवालाई बुझाउनु पर्‍यो ।’​

राजावादीहरूले प्रचार गरेजस्तो पार्टीहरूले बिगारे, नेताले बिगारे भन्ने कुरा गलत भएको बताए । ‘हामीले आत्मसमीक्षा गर्छौं, गरिपनि रहेका छौं । गणतन्त्र आइसकेपछि भौतिक पूर्वाधारका क्षेत्रमा सय प्रतिशत भएको छ । तथाकथित राजावादीले भनेजस्तो होइन’, उनले भने । 

राजावादीले प्रतिगमनको कोसिस गरेपनि जनतामा गएको सार्वभौमसत्ता संविधानबाट परिवर्तन गर्न नसकिने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्