
विपद् व्यवस्थापन सम्बन्धी परिदृश्यमा आधारित रही सोमबारदेखि काठमाडौंमा संयुक्त अभ्यास शुरू भएको छ ।
विपद् व्यवस्थापन सम्बन्धी सैनिक, गैरसैनिक तथा अन्य विभिन्न निकायबीच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदानका लागि अभ्यास थालिएको हो ।
यस प्रकारको अभ्यासले भविष्यमा प्रभावकारी रूपमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको छ । यो अभ्यास चैत १४ गतेसम्म चल्नेछ ।
नेपाली सेना तथा यूएस इन्डोपाकमको संयुक्त आयोजनामा सञ्चालन भएको अभ्यासमा नेपालबाट नेपाली सेनाका २५ सहित अन्य सुरक्षा निकाय, नेपाल सरकार सम्बद्ध सरकारी तथा गैरसरकारी निकायहरूका ५८ जना र विभिन्न १५ देशका ३७ गरी कूल ९५ जनाको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उद्घाटन कार्यक्रममा नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसन, बलाध्यक्ष रथी प्रदीप जङ्ग केसी, रथीवृन्द, नेपाल सरकार सम्बद्ध विभिन्न सरकारी एवं गैरसरकारी निकाय तथा विदेशी संघ संस्थाका उच्चस्तरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।