२१ जेठ २०८३, बिहीबार

कोशीका विभिन्न जिल्लामा आगलागीका घटना, २५ घर जले

चैत ४, २०८१
विराटनगर
कोशीका विभिन्न जिल्लामा आगलागीका घटना, २५ घर जले

कोशी प्रदेशका विभिन्न जिल्लामा आगलागीका घटना भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार भोजपुर, तेह्रथुम, खोटाङ, धनकुटा, संखुवासभा, उदयपुर र मोरङ जिल्लाका विभिन्न क्षेत्रमा सोमबार आगलागी भएको छ ।

भोजपुरमा छुट्टाछुट्टै तीन स्थानमा आगलागी हुँदा दर्जनौं घर जलेका छन् । भोजपुर नगरपालिका-१२ स्थित इनामे सामुदायिक वनबाट लागेको आगो बस्तीमा फैलिँदा १२ वटा घर जलेका छन् । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बिहान साढे ९ बजेदेखि शुरू भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अरविन्द कुमार साहका अनुसार आगलागीबाट १० जनाको घर र पाली जलेर नष्ट भएका छन् । 

रामप्रसादराई गाउँपालिका–४ केरावारीमा पाँच घर जलेर नष्ट भएको र अरुण गाउँपालिका–४ सुधिलाबारीमा तीन घर जलेर नष्ट भएको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीम बहादुर दाहालले बताए । 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा ४० जनाको टोली परिचालित रहेको प्रहरीले जनाएको छ । 

तेह्रथुमको लालीगुराँस नगरपालिका–७ मा एक गोठमा आगो लाग्दा  एक गाई र एक बाछा पनि जलेर मरेका छन् । फेदाप गाउँपालिका–५ इसिबु, छथर गाउँपालिका–३ र आठराई गाउँपालिका–६ का सामुदायिक वनमा आगलागी भएको छ ।  हालसम्म ५ लाख ३५ हजार रूपैयाँको क्षति भएको अनुमान गरिएको छ।

यस्तै, खोटाङमा तीन वटा सामुदायिक वनमा आगलागी भएको छ । प्रहरीका अनुसार धनकुटाको चौबिसे गाउँपालिका–३ सोगुममा एक घर जलेर नष्ट भएको छ। 

संखुवासभाको खाँदबारी नगरपालिका–३ स्थित भिरकुना सामुदायिक वनमा आगलागीबाट कृषि टहरा र कागतीका बिरुवा गरी अन्दाजी ५ हजार रूपैयाँको क्षति भएको छ।

उदयपुरको उदयपुरगढी गाउँपालिका–८ खोल्सेमा ६ जनाको खरबारीमा आगलागी भइरहेको प्रहरीले जनाएको छ ।  

मोरङको विराटनगर महानगरपालिका–१ परोपकारघाटमा आगलागीबाट ४ वटा घर जलेर नष्ट भएका छन । जसबाट १२ लाख रूपैयाँको क्षति भएको अनुमान गरिएको छ ।

प्रहरीले सबै स्थानमा आगो नियन्त्रणका लागि प्रयास गरिरहेको र क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ । चैत शुरू भएसँगै आगलागीका घटना हुन थालेका छन् । हावा चलेर सुख्खा मौसम भएका कारण आगो नियन्त्रण गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्