
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सुरु भएको हो ।
तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा भएको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।
००००
चालु आर्थिक वर्ष २०८१–८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ ।
००००
नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध रहेको जनाएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानले तोकेको जिम्मेवारी पूरा गर्न तत्पर रहेको स्पष्ट पारेको हो ।
विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न टीका टिप्पणी र विश्लेषणहरु सम्प्रेषण भएकाले नेपाली सेनासम्बन्धी जानकारी लिन जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरु सम्प्रेषण गर्न अनुरोध गरेको छ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र गणतन्त्रमाथि छेडखानी गर्न नहुने बताएका छन् ।
बाराको सिमरामा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘शान्ति सम्झौता वर्तमान संविधानको एउटा अङ्ग हो । संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो ।’
००००
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा उत्पन्न असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्ने बताएका छन् ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ तनहुँद्वारा बुधबार दमौलीमा आयोजित दोस्रो क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले आमनागरिकलाई समस्या परेका बेला समाधानको नेतृत्व गर्दै आएको बताए ।
००००
नेकपा एमाले मोरङमा जिल्ला अधिवेशनअघि देखिएको समूहको राजनीति थप पेचिलो बन्न थालेको छ । पदाधिकारीमा इतर पक्ष (पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको समूह)ले क्लिन स्वीप गरेपछि संस्थापन पक्ष थप रणनीति बनाउन सक्रिय भएको छ । जसका लागि बुधबार यो पक्षले विराटनगरको एक होटलमा छुट्टै भेला समेत गरेको छ ।
अधिवेशनपछिको पहिलो पूर्ण बैठकको पूर्वसन्ध्यामा संस्थापन समूह छुट्टै छलफलमा जुटेको हो । जिल्ला अधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठक भोलि बिहीबार बिहान ११ बजेदेखि विराटनगरस्थित होटल श्री कृष्णामा बस्दैछ ।
००००
पशुपति क्षेत्र विकास कोषको विद्युतीय शवदाह मशिन खरिद प्रक्रियामा व्यापक अनियमितता भएको पाइएको छ । ४ थान विद्युतीय शवदाह मशिन र १ थान जेनेरेटर खरिद गर्नका लागि २०८० असोजमा नै कोष र आपूर्तिकर्ताबीच सम्झौता भएपनि हालसम्म कार्य सम्पन्न हुन सकेको छैन ।
आपूर्तिकर्ताले २ थान विद्युतीय मशिन मात्र जडान गरेको छ भने बाँकी २ थान मशिनका लागि कोषले साइट नै उपलब्ध नगराएको बताएको छ । २०८० चैत २३ गते २ थान विद्युतीय शवदाह मशिन र १ थान जेनेरेटर जडान गरी सञ्चालनमा ल्याएको भएपनि हालसम्म त्यसको भुक्तानी नपाएको आपूर्तिकर्ताको गुनासो छ ।
००००
सरकारको पूर्ण स्वामित्व भएको नेपाल विद्युत प्राधिकरणको यथार्थ कागज मन्त्रालयसँग नरहेको भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का रुष्ट भएका छन् ।
बुधबार राष्ट्रियसभाका सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारलाई गुमराहमा राख्न खोजेको मन्त्री खड्काले आरोप लगाएका हुन् ।
००००
विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ जना पदाधिकारीविरुद्धको रिटमा अब वैशाख ३ गते सुनुवाइ हुने भएको छ ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भएपनि हेर्दाहेर्दैमा राखेर वैशाख ३ गतेका लागि अर्को पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए ।
००००
शेयर बजारमा झण्डै २ सातादेखिको गिरावटले बुधवार पनि निरन्तरता पायो ।
पछिल्ला १२ मध्ये ११ दिन गिरावट आउने क्रममा बुधबार नेप्से परिसूचक १४।८८ बिन्दुले घटेर २६८२.१५ बिन्दुमा कायम भएको छ ।
००००
सरकारले यही चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राम नवमीको अवसरमा चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
००००
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सोमबार काठमाडौंबाट करिब २५ करोड अवैध रकम बरामद भएको घटनामा गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
बैठकको आकस्मिक समयमा सांसद माधव सापकोटाले सोमबार राति ११ बजे काठमाडौंको टोखा नगरपालिका–२ झोरबाट नेपाल प्रहरीले करिब २५ करोड अवैध रकमसहित एउटा गाडी बरामद गरेको घटना उल्लेख गर्दै घटनाबारे गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।
००००
मंगलबार सम्पन्न स्ववियु निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ । जसअनुसार नेविसंघ पहिलो, अनेरास्ववियु दोस्रो र अखिल क्रान्तिकारी तेस्रो स्थानमा देखिएका छन् ।