१९ असार २०८३, शुक्रबार

ललित मण्डपमा सर्वसाधारणको आकर्षण

चैत ७, २०८१
काठमाडौं
ललित मण्डपमा सर्वसाधारणको आकर्षण

ललितपुर महानगरपालिका– ४ जावलाखेल चोकस्थित ललित मण्डप उचित व्यवस्थापनसँगै सर्वसाधारणका निम्ति आकर्षणको केन्द्रका रूपमा परिणत हुँदै गएको छ ।

केही वर्षअघि अस्तव्यस्त  मण्डप परिसर ललितपुर महानगरले व्यवस्थित बनाएपछि नागरिकका लागि प्रतीक्षा स्थलका रूपमा पनि विकसित भएको छ । महानगरले ललित मण्डप परिसरलाई पार्कका रूपमा व्यवस्थित गरेपछि थप आकर्षक बनेको स्थानीय बताउँछन् ।

बस्न चारैतिर बेञ्च र ठाउँठाउँमा गमलामा हरियो बिरुवा राखिएका छन् । मुख्य चोकमा व्यवस्थित पार्क निर्माण भएपछि नागरिकले सहजका साथ आराम गर्न र प्रतीक्षा गर्न पाएका छन् । 

ललितपुरलाई सुन्दर सांस्कृतिक शहरका रूपमा स्थापित गर्ने लक्ष्यका साथ जावलाखेलको ललित मण्डप परिसरलाई व्यवस्थित गरिएको महानगरप्रमुख चिरीबाबु महर्जनले बताए । 

उनले भने, 'जावलाखेल ऐतिहासिक ठाउँ हो । ऐतिहासिक सम्पदाको संरक्षण गर्दै यहाँको सम्पदाको प्रवर्द्धन र व्यवस्थापनमा महानगर योजनाबद्ध रूपमा लागेको छ ।'

यहाँ हरेक वर्षको रातो मच्छिन्द्रनाथको रथारोहनपछि अन्तिम दिनमा भोटो देखाउने गरिन्छ । ललितपुर–४ का वडाध्यक्ष सन्तोष खड्काका अनुसार रातो मच्छिन्द्रनाथको रथ तानेपछि राष्ट्र प्रमुखद्वारा भोटो देखाउने अन्तिम दिन यहाँ राखिएका गमला र बेञ्चहरू अर्को ठाउँमा सारिन्छ । ​

ललित मण्डप छेउमा रहेका पाटी (फल्चा) र जावलाहिटी (गैरेधारा) भने ललितपुर महानगरले यसअघि पुनः निर्माण गरिसकेको छ ।

ललित मण्डपलाई ऐतिहासिक शैलीमा पुनः निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिए ।

नजिकै रहेको सदर चिडियाखाना, जिल्ला प्रहरी परिसरलगायत अन्य सरकारी कार्यालय यहाँ रहेकाले पनि जावलाखेल चोकको ललित मण्डप परिसरमा निर्मित पार्क आमनागरिकका लागि उपयोगी हुने उनले विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्