
सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषले स्वरोजगार व्यवसाय गर्न चाहने दुई हजार नौ सय १६ विपन्न व्यक्तिलाई विनाधितो रु ६० करोड दुई लाख कर्जा प्रवाह गरेको छ ।
प्रदेश सरकार, आर्थिक मामिला मन्त्रालय मातहतको स्वरोजगार विकास कोषले सहकारी संस्थासँगको वित्तीय साझेदारीमार्फत कर्जा उपलब्ध गराउन थालेको हो । कोषका कार्यकारी निर्देशक चुडामणि तिम्सिनाले कोषबाट थोक कर्जा प्राप्त गरेका सहकारीमार्फत विपन्न व्यक्तिले बढीमा रु तीन लाखसम्म सहुलियत ब्याजदरमा खुद्रा कर्जा प्राप्त गरिरहेको बताए ।
कोषको कार्र्यक्रमको पहुँच प्रदेशभरिका सबै पालिका तहमा भने पुगेको छैन । ३७ स्थानीय तहमा कोषको पहुँच पुगेको छ । यी स्थानीय तहमा सञ्चालित ९९ सहकारीसँग वित्तीय साझेदारी गरेर कर्जा प्रवाह गरिरहेको छ । बाँकी ५१ स्थानीय तहमा कोषको पहुँच विस्तार गरी कर्जा प्रवाह गर्ने प्रयास भइरहेको छ ।