नेपालको प्रसिद्ध डिजिटल लर्निङ प्लेटफर्म ‘माई सेकेन्ड टिचर नेपाल’ ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजन, २०२५’ का लागि धनगढी एफसीको मुख्य प्रायोजक बनेको छ ।
बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आगामी चैत १६ देखि वैशाख १३ सम्म हुने फ्रेन्चाइज फूटबल प्रतियोगिताका लागि यसबारे सम्झौता गरिएको हो ।
सम्झौतामा माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराई र धनगढी एफसीका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरेका छन् ।
यस प्रायोजनमार्फत माई सेकेन्ड टिचर नेपालले शिक्षा र खेलकुदलाई सशक्त रूपमा जोड्ने लक्ष्य राखेको छ।
सहकार्यबारे जानकारी दिँदै माई सेकेन्ड टिचर नेपालकी प्रमुख भट्टराईले आगामी नेपाल सुपर लिगमा धनगढी एफसीसँग सहकार्यले, नेपालको शिक्षा सँगसँगै खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । 'माई सेकेन्ड टिचर नेपालले प्रविधिको माध्यमबाट नेपालले शिक्षाको रुपान्तरणमा कार्य गर्दै आएको छ,' भट्टराईले भनिन्, 'यो सहकार्य प्रविधि र नवप्रवर्तनसहितको शिक्षालाई खेलकुदसँग जोड्ने महत्त्वपूर्ण कदम हो ।'
यसैगरी धनगढी एफसीका अध्यक्ष शाहीले माई सेकेन्ड टिचरसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै यस सहकार्यले शिक्षालाई खेलकुदसँग जोड्ने नयाँ सम्भावनाको उजागर गरेको बताए । यसबाट फूटबलको व्यवसायीकरणमा सहयोग पुग्ने विश्वास शाहीको छ ।
माई सेकेन्ड टिचर नेपाल र धनगढी एफसीबिच आगामी दिनमा ग्रासरुटदेखि राष्ट्रिय स्तरसम्म शिक्षा र खेलकुदको विकासमा सहकार्य गरेर अगाडि बढ्ने समझदारी पनि भएको कार्यक्रममा जानकारी दिइएको थियो ।