
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री एवं भाजपा नेता योगी आदित्यनाथले नेपालमा भइरहेको धर्मान्तरणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले नेपाल–भारत सम्बन्ध बिथोल्ने प्रयास भइरहेकोप्रति पनि चिन्ता व्यक्त गरे ।
मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहलगायत नेपालका नेताहरूसँग बिहीबार यूपीको बलरामपुर जिल्लाको माँ पाटेश्वरी मन्दिर तुलसीपुरमा भएको भेटमा योगीले नेपालमा भइरहेको तीब्र धर्मान्तरणको बारेमा चासो व्यक्त गरेका हुन् ।
‘उहाँले नेपालमा धर्मान्तरण भइरहेको भन्दै निकै चासो र चिन्ता व्यक्त गर्नुभयो,’ भेटमा सहभागी नेपाली कांग्रेसका नेता अभिषेकप्रताप साहले लोकान्तरसँग भने, ‘नेपालमा चीनको गतिविधि बढेकोमा पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो ।’
मुख्यमन्त्री आदित्यनाथले नेपाल–भारत सम्बन्ध बिथोल्न कतिपय तत्त्वहरू लागिपरेको गुनासो गरेका थिए । उनले सदियौं पुरानो सम्बन्ध रहेको भारतको विकासबाट नेपालले आर्थिक लाभ लिन सक्ने बताए ।
‘विश्वको पाँचौं अर्थतन्त्र भारतबाट नेपालले आर्थिक लाभ लिनसक्छ । हाम्रो देशको आर्थिक विकासको लाभ नेपालले पनि लिन सक्छ,’ आदित्यनाथको भनाइ उद्धृत गर्दै पूर्व सांसद साहले लोकान्तरसँग भने ।
आफू मुख्यमन्त्री बनेपछि यूपीले विकासमा फड्को मारेको उल्लेख गर्दै त्यसबाट छिमेकी नेपालले पाठ सिक्नुपर्ने उनले बताए । आफू मुख्यमन्त्री बन्नुभन्दा पहिलो यूपीको बजेट ३ लाख करोडको रहेकोमा अहिले ३२ लाख करोडको पुर्याएको उनले बताए । योगी २०१७ मा यूपीको मुख्यमन्त्री बनेका थिए ।
राजावादीले फोटो प्रदर्शन गरेकोबारे मौन !
फागुन २५ गते काठमाडौंमा राजतन्त्र पक्षधरले आयोजना गरेको प्रदर्शनमा आफ्नो तस्वीर राखिएकोबारे आदित्यनाथ मौन बसेका थिए । पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किने क्रममा गरिएको स्वागतमा योगीको तस्वीर राखिएपछि नेकपा एमालेका नेताहरूले आलोचना गरेका थिए ।
उनले न त्यस कुराको समर्थन गरे, न विरोध । राप्रपा नेता प्रदीपकुमार राणाले आदित्यनाथको तस्वीरसहितको ब्यानर प्रयोग गरेको बारे नेपालमा टीकाटिप्पणी भएको थियो ।
नेपालको राजसंस्था र भारतको गोरखनाथ पीठको सम्बन्ध निकै पुरानो रहेको उनले चर्चा गरेका थिए ।
‘नेपाल–भारतबीच रहेको पौराणिक र जनस्तरको सम्बन्ध कायम राख्नुपर्छ भन्ने उहाँको जोड थियो । नेपालको विकास होस् भन्नेमा उहाँ चिन्तित हुनुहुन्थ्यो,’ साहले भने ।
आदित्यनाथसँगको भेटका लागि मधेश प्रदेशका मुख्यमन्त्री सिंह, कांग्रेस नेता डिल्ली चौधरी, अभिषेकप्रताप साहलगायत नेताहरू यूपी पुगेका थिए ।
मुख्यमन्त्री सिंहले योगीलाई जानकी मन्दिरको तस्वीरसहितको उपहार दिएका थिए ।