
सशस्त्र प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट एकैपटक १६ सय ३६ किलो गाँजा बरामद गरेको छ ।
शुक्रबार गाँजासहित दुई वटा ट्रक र दुई जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलाम जिल्लाको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षीय गंगा बहादुर बस्नेत छन् । उनीहरू शुक्रबार पक्राउ परेका हुन् ।
ईलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा नम्बर १ बराह बाहिनी मुख्यालय र नम्बर २ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई नियन्त्रणमा लिईएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
साथै उनीहरूको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद भएको छ ।
नियन्त्रणमा लिइएकाहरूलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको थापाले जानकारी दिए ।