३१ जेठ २०८३, आइतबार

राजावादी र हिन्दू राष्ट्रको अन्योल चिर्न कांग्रेसलाई दबाब

चैत १०, २०८१
काठमाडौं
राजावादी र हिन्दू राष्ट्रको अन्योल चिर्न कांग्रेसलाई दबाब

नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई राजावादीहरूको विरोध प्रदर्शन र पार्टीभित्र उठिरहेको हिन्दू राष्ट्रको विषयमा निर्णय लिन दबाब परेको छ । 

यसअघि बसेको पदाधिकारी बैठकले राजावादीहरूको विरोध प्रदर्शनपछि कांग्रेसको आधिकारिक धारणा तय गर्न सकेको थिएन ।

पार्टीको औपचारिक फोरम कार्यसम्पादन समितिबाट आवश्यक निर्णय गर्ने कांग्रेसको तयारी थियो । यसैले आज १ बजे बस्ने कार्यसम्पादन समितिको बैठकबाट यस विषयमा निर्णय लिइने सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना'ले जानकारी दिइन् ।

‘राजावादीहरूको विरोध प्रदर्शनपछि हाम्रो पार्टी किन बोलेन भनेर केही अन्योल देखिएको छ । हामीले दबाब महसुस गरेको भन्दा पनि गणतन्त्रविरुद्ध राजावादी सडकमा आएपछि एउटा मत बनाएर जानुपर्छ भन्ने भएको हो,’ डिनाले लोकान्तरसँग भनिन्, ‘यसैले यो विषयमा आजको बैठकले औपचारिक निर्णय गर्छ ।’

राजावादीको प्रदर्शनपछि सत्ताको नेतृत्व गरिरहेको एमालेले चैत ११ र १८ गते देशभरका वडामा प्रदर्शन र विरोधसभा गर्दैछ । तर कांग्रेसले अहिलेसम्म विरोधमा कार्यक्रम राखेको छैन । 

तर पछिल्लो समय पार्टीभित्रै हिन्दू राष्ट्र, समानुपातिक प्रणाली हटाउने, प्रतिनिधिसभाको आकार घटाउने विषयमा संविधान संशोधन गर्ने बहसमा आएको छ । 

यसैले धर्मसँग राजावादी पनि जोडिएका हुन् कि भनेर निर्णय लिन कांग्रेसलाई दबाब परेको हो । 

‘पार्टीभित्रै धर्मको कुरा उठेका छन् । धर्मसँग राजावादी जोडिने विषय हो कि भनेर प्रष्ट पार्नुपर्छ भन्नेमा हामी छौं,’ डिनाले भनिन्, ‘पार्टीको पेशागत तथा बुद्धिजीवी विभागले प्रतिवेदन पेश गरेपछि चर्चा बढी नै भयो । तर कांग्रेसले औपचारिकरूपमा एजेन्डा र मत नबनाएको विषयमा बढी चर्चा भयो ।’​

पेशागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनले  देशका सातवटै प्रदेशमा ‘संविधान संशोधन आजको आवश्यकता र चुनौती’ विषयक अन्तरक्रियाबाट आएका सुझावलाई समेटेर तयार तयार पारेको प्रतिवेदन केही दिन अगाडि सभापति शेरबहादुर देउवालाई बुझाएको थियो ।

विभाग प्रमुख डा. डिला संग्रौलाले हिन्दू राष्ट्रको पक्षमा उभिनुपर्ने, समानुपातिक हटाउने, प्रतिनिधिसभामा सदस्य संख्या घटाउने जस्ता विषय सो प्रतिवेदनमा समेटिएको जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्