
प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालसम्म आइपुग्दा भारतले विश्व मञ्चमा आफ्नो प्रभावलाई उल्लेखनीय रूपमा बिस्तार गरेको छ ।
पछिल्ला घटनाक्रमहरूले भारतको कूटनीतिक पहुँच, आर्थिक प्रगति र सामाजिक एकताको संयोजनलाई पुष्टि गरेका छन् ।
रमजानको अवसरमा विभिन्न धर्मका मानिसको एकताबाट शुरू गरिएको रायसीना डायलगमा वैश्विक नेताहरूसँगको भेट, अमेरिकासँगको रणनीतिक सम्बन्ध र भारतमै एप्पलको उत्पादन गर्ने जस्ता आर्थिक कदमले भारतको बहुआयामिक उदयलाई प्रतिबिम्बित गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ओमानको सरकारी समाचार संस्था ओमान अब्जर्भरले भारतमा रमजानको समयमा विभिन्न धर्मका मानिसहरू एकजुट भएर इफ्तारमा सहभागी भएको भन्दै खुसी व्यक्त गरेको छ ।
दिल्ली, मुम्बई र कलकत्ता जस्ता सहरहरूमा आयोजित यस्ता कार्यक्रमले मुस्लिम समुदायसँगै हिन्दू, सिख र इसाईलाई पनि समेटेका छन् ।
ओमान अब्जर्भर लेख्छ, 'भारतीय नेताहरूले यस्ता अवसरलाई साम्प्रदायिक सद्भाव र एकताको प्रतीक बनाएका छन् । उदाहरणका लागि, दिल्लीमा आयोजित एक इफ्तारीमा स्थानीय नेताले मुस्लिम समुदायसँग संवाद गरेर सामाजिक एकताको सन्देश दिए । यो परम्पराले भारतको बहुसांस्कृतिक पहिचानलाई बलियो बनाउँछ र विश्वलाई उदाहरण प्रस्तुत गर्छ ।'
यो एकताले भारतको आन्तरिक स्थिरताको आधार मात्र होइन, उसको कूटनीतिक छविलाई पनि सुदृढ गरिरहेको टिप्पणी ओमान अब्जर्भरले गरेको छ ।
विश्वमा धार्मिक र सांस्कृतिक विभाजनका घटनाहरू बढिरहेका बेला भारतको यो समावेशी दृष्टिकोणले उसलाई शान्तिको सन्देशवाहकको रूपमा स्थापित गरेको छ । रमजानमा गरिएको यस्तो पहलले भारतको सामाजिक संरचनालाई बलियो बनाउँदै वैश्विक मञ्चमा उसको नैतिक प्रभावलाई पनि उजागर गरेको टिप्पणी गरिएको छ ।
कूटनीतिक पहुँच: रायसीना डायलग र विश्व नेताहरूसँगको संवाद
भारतीय सञ्चार संस्था द प्रिन्टले विदेशमन्त्री एस जयशंकरले रायसीना डायलग-२०२५ को साइडलाइनमा विभिन्न देशका नेताहरूसँग भेटघाट गर्दै भारतको कूटनीतिक पहुँचलाई थप सुदृढ गरेको जनाएको छ ।
यो सम्मेलनले भारतलाई वैश्विक भूराजनीतिक बहसको केन्द्र बनाएको छ । जयशंकरले बेलायत, जापान र दक्षिण कोरियाका समकक्षीसँग द्विपक्षीय सम्बन्ध, व्यापार र जलवायु परिवर्तन जस्ता मुद्दामा छलफल गरेका थिए ।
यो कदमले भारतको बहुपक्षीय कूटनीतिलाई देखाउँछ, जहाँ उसले पश्चिमी शक्ति र एसियाली साझेदारहरूसँग सन्तुलन कायम गरिरहेको छ ।
रायसीना डायलग भारतका लागि 'विचार नेतृत्व'को महत्त्वपूर्ण मञ्च बनेको छ । यसमा उठाइएका विषयहरू- जस्तै क्षेत्रीय सुरक्षा र आर्थिक सहकार्यले भारतको बढ्दो प्रभावलाई संकेत गरेको छ ।
जयशंकरको सक्रिय कूटनीतिले भारतलाई विश्वव्यापी समस्याको समाधानमा अग्रपंक्तिमा राखेको छ । यसलाई भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यता (२०२१-२२) लिएपछिको निरन्तरताका रूपमा भारतीय सञ्चारमाध्यमहरूले व्याख्या गरेका छन् ।
भारत-अमेरिका सम्बन्ध: रणनीतिक गठबन्धनको नयाँ उचाइ
भारत र अमेरिकाबीचको सम्बन्ध पछिल्लो समयमा थप गहिरिएको छ । द प्रिन्ट र बिजनेस स्ट्यान्डर्डका अनुसार, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र रक्षामन्त्री राजनाथ सिंहले अमेरिकी गुप्तचर प्रमुख तुलसी ग्याबार्डसँग दिल्लीमा भेट गरे ।
यी भेटमा भारत-अमेरिका सम्बन्ध, क्षेत्रीय सुरक्षा र प्रविधि साझेदारीमा छलफल भएको छ । डेली हन्टले ग्याबार्डले डोनाल्ड ट्रम्पको इस्लामी आतंकवादविरुद्धको प्रतिबद्धताको उल्लेख गरेको जनाएको छ जसलाई भारतले समर्थन गरेको छ ।
द प्रिन्टमा प्रकाशित एक समाचार प्रतिवेदनका अनुसार, प्रधानमन्त्री मोदीले ट्रम्पको 'अमेरिका पहिलो' नीतिलाई 'भारत पहिलो'सँग तुलना गर्दै उनको सहनशीलताको प्रशंसा गरेका छन् ।
यो समानान्तर सोचले दुई देशको रणनीतिक संयोजनलाई देखाएको छ । भारत र अमेरिकाले क्वाड (भारत, अमेरिका, जापान, अष्ट्रेलिया)मार्फत हिन्द-प्रशान्त क्षेत्रमा सहकार्य गरिरहेका छन् ।
यो गठबन्धनले चीनको प्रभावलाई सन्तुलन गर्न र क्षेत्रीय स्थिरता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । यी भेटघाटले भारतको सुरक्षा र प्रविधि क्षेत्रमा अमेरिकासँगको साझेदारीलाई गहिरो बनाउने संकेत गर्छ ।
एप्पलको उत्पादन र भारतको औद्योगिक उन्नति
इकोनोमिक टाइम्सका अनुसार, विश्व प्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एप्पलले यही अप्रिलबाट हैदराबादको फक्सकन प्लान्टमा एयरपड्सको उत्पादन शुरू गर्ने भएको छ । विश्वबजारमा निर्यात गर्नका लागि भारतमै एयरपड्सको उत्पादन हुने भएको हो ।
यस्तो कदमले भारतको 'मेक इन इन्डिया' पहलको सफलता देखाएको सञ्चारमाध्यमहरूको टिप्पणी छ । फक्सकनले १५ सय करोड रुपैयाँ लगानी गरेको यो प्लान्टले २० हजार प्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ ।
भारत विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार हो । एप्पलको यो निर्णयले प्रविधिको क्षेत्रमा चीनले उत्पादन गरिरहेका सामानहरूलाई विस्थापित गर्ने लक्ष्य लिएको छ ।
यी र यस्तै अन्य धेरै आर्थिक प्रगतिहरूले भारतको औद्योगिक क्षमता थप बलियो बन्दै गएको संकेत गर्छन् ।
सन् २०२४ मा भारतको निर्यात ४५० अर्ब डलर पुगेको थियो भने एप्पल जस्ता कम्पनीहरूको आगमनले यो आँकडालाई थप बढाउने आशा भारतले लिएको छ ।
हैदराबादको यो परियोजनाले प्रविधि क्षेत्रमा भारतको विश्वसनीयता र प्रतिस्पर्धात्मकता देखाएको छ । यसले थप विदेशी लगानीलाई आकर्षण गरेको छ भने भारतको आर्थिक आत्मनिर्भरता र वैश्विक आपूर्ति शृंखलामा रहेको भूमिकालाई थप सुदृढ गरेको छ ।
भारत-चीन सम्बन्ध: विश्वास र स्वस्थ प्रतिस्पर्धाको आशा
द हकमा चार दिनअघि प्रकाशित समाचारअनुसार, प्रधानमन्त्री मोदीले भारत-चीन सम्बन्धमा आफू निकै आशावादी रहेको आशय व्यक्त गरेका छन् ।
उनले विश्वास, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको आधारमा दुवै देशबीचको सम्बन्ध सुध्रने अपेक्षा राखे । सन् २०२० को गलवान झडपपछि तनावग्रस्त रहेको यो सम्बन्धमा पछिल्लो समय सुधारको संकेत देखिएको छ ।
सन् २०२४ मा दुई देशबीचको व्यापार १३० अर्ब डलर पुगेको छ भने यसले आर्थिक सहकार्यको सम्भावना बढिरहेको देखाएको छ ।
मोदीको यो अभिव्यक्तिले भारतको सन्तुलित कूटनीतितर्फ पनि संकेत गरेको छ । एकातिर, अमेरिकासँग रणनीतिक साझेदारीको कुरा गरिएको छ भने अर्कोतिर चीनसँग पनि तनाव कम गर्ने प्रयास चलिरहेको छ ।
यसअनुसार भारतले हिन्द-प्रशान्त क्षेत्रमा शक्ति सन्तुलनको भूमिका खेलिरहेको छ । यदि, यो प्रयास सफल भएमा भारत-चीन सहकार्यले क्षेत्रीय स्थिरता र आर्थिक वृद्धिमा जोड दिन सक्ने सम्भावना रहेको द हकले जनाएको छ ।