
नेकपा एमालेका महासचिव शंकर पोखरेलले जन्मको आधारमा शासन गर्ने कुरा आजको आधुनिक समाजमा किमार्थ स्वीकार्य नहुने बताएका छन् ।
आज विराटनगरमा प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेभन्दा राजा हुँदा ठीक भनेर भ्रम फैलाउने काम भइरहेको बताए ।
महासचिव पोख्रेलले राजतन्त्र र पञ्चायत नै ठीक थियो भन्ने तर्क गर्न कसैले नसक्ने बताए । पंचायत कालमा भएका विकास निर्माण र अहिलेको विकास निर्माणको उदाहरण दिँदै राजतन्त्र र पञ्चायत ठीक भनेर मूर्खहरूले पनि भन्न नसक्ने टिप्पणी गरेका छन् ।
‘आज कतिपय राजावादीहरू भन्ने गर्दछन्, आज मुलुकको सङ्कटको कारण त संघीय लोकतान्त्रिक गणतन्त्र हो । के का आधारमा उनीहरू त्यस्तो तर्क गर्दछन्, मलाई अनौठो लाग्छ । राजाको समयमा नेपाली समाज कस्तो थियो भन्ने नबुझेर तर्क गरिरहेका छन् । राजतन्त्र र पञ्चायत नै ठीक थियो भन्ने तर्क मूर्खहरूले पनि गर्दैनन् । आफूलाई राजनीतिज्ञ भन्नेहरूले यस्तो कूतर्क गरेर जनतालाई भ्रम सिर्जना गर्छन् । त्यसको विरुद्धमा हामीहरू दृढतापूर्वक उभिनुपर्छ । मिडियाले पनि तथ्यका आधारमा भ्रम चिर्नुपर्छ,’ उनले भने ।
लोकतन्त्र नै खतरामा परेका बेला लोकतान्त्रिक दल मिलेको उनले बताए ।
उनले राजावादीका कारण नेपाल दुर्घटनामा पर्ने अवस्थालाई नेपाली जनताको लोकतान्त्रिक चेतनाले स्विकार्न नसक्ने बताएका छन् ।
विचारविहीन र अवसरवादी दल जन्मिनु कुनै प्रगति नभएको उनको टिप्पणी छ ।