
पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन क्याम्पस)को स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको प्रारम्भिक मतपरिणाममा अनेरास्ववियुको अग्रता देखिएको छ ।
२०० मत गन्दा एमाले निकट अनेरास्ववियुका विष्णु पोखरेलले अध्यक्षमा ८७ मतसहित अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका नेपाल विद्यार्थी संघका सुशील न्यौपानेले ३८ र स्वतन्त्र उम्मेदवारी दिएकी विप्लवी न्यौपानेले २४ मत पाएका छन् ।
अखिल क्रान्तिकारीका नवीन अधिकारीले १७, संयुक्त प्यानलका सन्तोष पौडेलले १२, प्राज्ञिक परिषद्का दिप्सन गुरुङले ४ र अर्का स्वतन्त्र उम्मेदवार कमल सुवेदीले ९ मत ल्याएका छन् ।
सचिवतर्फ पनि अखिलकै अग्रता छ । अखिलका विराट सुवेदीले ९८ मत ल्याउँदा नेविसंघका विवेक भट्टराईले ४६ मत ल्याएका छन् । अखिल क्रान्तिकारीका मिराज थापा मगरले ११, संयुक्त प्यानलका किरण खड्काले २० मत ल्याएका छन् ।
कोषाध्यक्षतर्फ सन्दिका गुरुङले ९८, अभिषा यादवले ४३, सृजना शर्माले ८, सचिन पौडेलले २५ र अम्बर धिमालले ३ मत पाएका छन् ।
विवादका कारण चैत ५ हुन नसकेको निर्वाचन पीएन क्याम्पसमा आइतबार भएको थियो ।