
प्रमुख तीन दलका शीर्ष नेताबीच शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सर्च कमिटी गठन गर्ने समझदारी भएको छ ।
सोमबार साँझ भएको छलफलले संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउन दुई आयोगका पदाधिकारी नियुक्तिका लागि सर्च कमिटी गठन गर्ने समझदारी भएको एमाले नेता अग्नि खरेलले जानकारी दिए ।
‘प्रमुख तीन दलका शीर्ष नेताबीच शान्ति प्रक्रियाका बाँकी काम सकाउन बेपत्ता पारिएका व्यक्ति तथा सत्य निरुपण तथा मेलमिलाप दुवै आयोगका अध्ययक्ष र सदस्यहरूको नियुक्तिको लागि सिफारिस समिति (सर्च कमिटी) गठन प्रक्रिया अगाडि बढाउने सहमति भएको छ,’ खरेलले भने, ‘प्रधानमन्त्रीज्यूले दुवै दलका नेतासँग परामर्श गर्नुभयो । परामर्श बमोजिम सिफारिस समिति अगाडि बढ्छ ।’
गृहमन्त्री रमेश लेखकले पनि सोमबार आज संक्रमणकालीन न्याय (टीआरसी)को विषय अगाडि बढाउन दुवै आयोग गठन गर्न सिफारिश समिति गठन गर्ने समझदारी प्रमुख दलका शीर्ष नेताबीच भएको जानकारी दिए । अब सरकारले चाँडै सिफारिश समिति गठन गर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका नेताहरू शक्ति बस्नेत र खिमलाल देवकोटा तथा प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेललगायत नेताहरू सहभागी थिए ।