
प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् ।
प्रगतिशील इन्जिनियर्स एसोसियसन नेपाल (पिन)को ललितपुरको कुपण्डोलमा आयोजित १०औं महाधिवेशनमा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले मजबुत संरचना निर्माणमा इन्जिनियरहरूको ध्यान जानुपर्नेमा जोड दिए ।
'हाम्रो देशमा पहाडी संरचना भएकाले पहिरो जाने समस्या छ, इन्जिनियरले यो परिवेशलाई बुझेर भौगर्भिक अवस्थाको मूल्याङ्कन गरी सुरक्षित संरचना निर्माणमा ध्यान दिनुपर्छ, खतरायुक्त स्थानमा संरचना बनाउनु हुँदैन, कानुनी कुरामा भएका समस्या सुधार गर्न सुझाव दिनुहोला, सरकारले त्यसमा ध्यान दिने छ,' उनले भने ।
समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा प्रतिपक्षको भूमिका रचनात्मक र सकारात्मक हुनुपर्ने बताए ।
विक्रम संवत् २०४६ पछि देशमा विकासको गति तीव्ररूपमा अगाडि बढेको र आफू प्रधानमन्त्री हुँदा भूकम्पले देश थिल्थिलिएको अवस्थामा ‘विल्ड वेटर’को नारा दिएर पुनर्निर्माणमा जुटेको बताए ।
'पूर्वाधारको विकास विना विकास सम्भव छैन, पूर्वाधारको विकासले बजारको सृजना गर्छ, उद्यमशीलता प्रवर्द्धन गर्छ, बलियो पूर्वाधार निर्माण गर्न इन्जिनियरहरूको योगदानका लागि धन्यवाद छ, त्यसको प्रशंसा गर्न चाहन्छु,' प्रधानमन्त्री ओलीले भने, 'विमानस्थल बनिरहेका छन्, पुल र ट्रान्समिसन लाइनहरु बनिरहेका छन्, केही पनि भएन देश खत्तम भयो भन्ने हल्ला निराधार छ ।'