०७ असार २०८३, आइतबार

बागलुङमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द

चैत १२, २०८१
बाग्लुङ
बागलुङमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द

 बागलुङमा पछिल्लो साढे दुई वर्षमा तीन सय ४३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । बढ्दो बसाइँसराइ र युवा शक्ति विदेश पलायन हुँदै गएपछि जिल्लामा सञ्चालित उद्योग बन्द भएका हुन् । आर्थिक वर्ष २०७९/८० देखि हालसम्म चार सय ५६ उद्योग दर्ता भएका छन् ।

पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा ७१ वटा उद्योग बन्द भएका छन् । यस अवधिमा ७२ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० मा  एक सय १७ उद्योत तथा व्यवसाय बन्द भएका छन् । जसमा उद्योगतर्फ ४४ र वाणिज्यतर्फ ७३ रहेका छन् ।

त्यस वर्ष दुई सय २८ व्यवसाय दर्ता भएका छन् । जसमा उद्योगतर्फ ९७ र वाणिज्यतर्फ एक सय ३१ रहेका छन् । कार्यालय प्रमुख थापाका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा उक सय ५५ उद्योग व्यवसाय बन्द भएका छन् । 

उद्योगतर्फ ६७ र वाणिज्यतर्फ ८८ व्यवसाय बन्द भएको उनले जानकारी दिए । अघिल्लो वर्ष उद्योगतर्फ ४३ र वाणिज्यतर्फ १०४ गरि एक सय ४७ व्यवसाय दर्ता भएको थापाको भनाइ छ । चालु आर्थिक वर्षमा भने उद्योगतर्फ ३१ र वाणिज्यतर्फ ४० गरि ७१ व्यवसाय बन्द भएका छन् । यस वर्ष उद्योगतर्फ २७ र वाणिज्यतर्फ ४५ गरि ७२ व्यवसाय दर्ता भएको प्रमुख थापाले बताए ।  

व्यवसाय गरेको छोटो समयमै बन्द गराउनेको सङ्ख्या बढी रहेको उनको भनाइ छ । बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले कोभिड–१९ पछि आर्थिक गतिविधि साँघुरिँदै जाँदा त्यसको असर व्यापार व्यवसायमा परेको बताए ।  दुई वर्षको अवधिमा बागलुङ बजारबाट मात्रै ७० व्यवसायीपलायन भएको उनको भनाइ छ । मुलुकमा राजनीतिक अस्थितरता र राज्यको कर नीतिका कारण पनि व्यवसायी निराश भएर व्यवपार व्यवसाय बन्द गर्न बाध्य भएको कँडेले बताए । 

अध्यक्ष कँडेलले भन्नुभयो, “दिनदिनै बागलुङमा व्यवसाय बन्द हुँदै गएका छन्, व्यवसाय बन्द हुने पहिलो कारण त कोभिड–१९ नै हो, आर्थिक मन्दि भयो, त्यसको प्रत्यक्ष प्रभाव व्यवसायमा पर्‍यो, यहाँका धेरै व्यवसायीले सामान लिलाम गरेर विदेश गए, अब राज्यले व्यवसायीमुखी नीति र कार्यक्रम ल्याउन नसके अझै धेरै उद्योग व्यवसाय बन्द हुने देखिन्छ ।” 

salt training

कमेन्ट गर्नुहोस्