
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरुद्ध बैठक सञ्चालन गर्ने सम्बन्धमा राजनीतिक दलका सचेतकहरूसँग छलफल गरेका छन् ।
नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न पाँच दलका नेताहरूसँग छलफल गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।
बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिलो गरी शुरू भएको थियो । बैठक शुरू भएलगत्तै प्रतिपक्षी दलले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए ।
विपक्षी दलको अवरोधपछि सभामुखले बैठक ३० मिनेटका लागि स्थगन गरेर संवाद शुरू गरेका हुन् ।
छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरु सहभागी छन् ।
३० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक बुधबार साढे २ बजेसम्म शुरू हुन सकेको छैन ।