२२ असार २०८३, सोमबार
गुलशना हत्या प्रकरण

सिरहामा १३ वर्षीया किशोरीको वीभत्स हत्या– २ कोणबाट अनुसन्धान गर्दै प्रहरी

चैत १३, २०८१
काठमाडौं
सिरहामा १३ वर्षीया किशोरीको वीभत्स हत्या– २ कोणबाट अनुसन्धान गर्दै प्रहरी

सिरहाको गोलबजार नगरपालिका– ९ गोविन्दपुरकी १३ वर्षीया गुलशना खातुन बेपत्ता भएको १३ दिनपछि वीभत्स अवस्थामा शव भेटियो ।

गुलशनाका परिवारले खोजतलासका लागि प्रहरीमा जाहेरी पनि दिएका थिए ।

प्रहरीले खोजतलास गर्दा गुलशना भेटिइनन् । एकाएक मंगलबार खोला किनारामा बोराभित्र गुलशनाको शव फेला पर्‍यो । अहिले प्रहरी गुलशनाको हत्या कसले र किन गर्‍यो भनेर अनुसन्धानमा जुटेको छ ।

घर जान्छु भनेकी छोरी जब भेटिइनन् ...

फागुन २९ गते आमा जेहेदा खातुनसँगै घाँस काट्न खेतमा पुगेकी गुलशना घर जान्छु भन्दै फर्किइन् । पछि आफू फर्किँदा घरमा छोरी नदेखेपछि उनकी आमाले छरछिमेकमा सोधीखोजी गरिन् ।

साँझसम्म छोरी नआएपछि गुलशनाका आफन्त इलाका प्रहरी कार्यालय मिर्चैया पुगे । उनी स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् । अहिले विद्यालय बिदा छ ।

मिर्चैया प्रहरीले गुलशनाको खोजी कार्य अघि बढायो । गोविन्दपुरमा धुइँधुइँती खोजी गर्‍यो । उनी भेटिइनन् ।

केही दिनपछि स्थानीयले खोला किनारामा बोरामा झिंगा भन्किएको र गन्ध समेत आएको भन्दै प्रहरीमा खबर गरे ।

प्रहरीले बोरा हेर्दा शव देखेपछि गुलशनाको आमालाई बोलाएर सनाखत गरायो । शव सडेगलेको अवस्थामा थियो ।

मुचुल्का उठाएर प्रहरीले शव पोस्टमार्टमका लागि धरान अस्पताल पठायो । गुलशनाको हत्या अनुसन्धान पेचिलो हुने भएपछि मिर्चैया प्रहरीलाई प्राविधिक सहयोग गर्न मधेश प्रदेश प्रहरी कार्यालयबाट प्राविधिक टोली पनि पुगेको छ ।

प्रहरीले गुलशनाकै परिवारको मोबाइलको कल डिटेल समेत हेर्दैछ । शव फेला परेको स्थाननजिकै रहेको टेलिकमको टावरसँग जोडिएका मोबाइल नम्बरहरू समेत ‘ट्रेस’ गरिरहेको छ ।

प्रहरीले २ वटा कोणबाट अनुसन्धान शुरू गरेको छ । पहिलो, कसैले गरेको गलत हर्कतलाई गुलशनाले देखेपछि प्रमाण नष्ट गर्न हत्या गरेको र दोस्रो बलात्कारपछि प्रमाण लुकाउन हत्या गरेको आशंकामा अनुसन्धान अघि बढेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए ।

ती अधिकृतले भने, ‘गुलशनाका बाबु बेचन दुई दिनअघि मात्रै वैदेशिक रोजगारीका लागि कतार उडेका थिए । घरमा आमाछोरी मात्रै थिए । कसैले गलत फाइदाका लागि गुलशनाको हत्या गर्‍यो कि भन्ने आशंका छ ।’

मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको बताए ।

‘खोजतलासको निवेदन आएपछि गुलशनाको खोजी कार्य अगाडि बढाएका थियौं । गाउँमा र आसपासमा समेत फोटो देखाएर सोधीखोजी गरेका थियौं,’ बाखुले लोकान्तरसँग भने, ‘तर, मंगलबार एकाएक शव फेला पर्‍यो । दुःखद घटना भयो । हामी संवेदनशील भएर अनुसन्धानमा जुटेका छौं ।’

उनले मधेश प्रदेशबाट प्राविधिक टोली आएर अनुसन्धानलाई सहयोग गरिरहेको बताए ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी लालमणि आचार्यले घटनालाई विभिन्न पाटोमा केलाएर सूक्ष्म अनुसन्धान भइरहेको बताए ।

उनले भने, 'मैले यहाँबाट पनि प्राविधिक टोली पठाएको छु । अनुसन्धान अलि जटिल नै छ । केही शंकित व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान अघि बढाएका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्