
पाँचथर र तेह्रथुमलाई जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बनाउन सरकारले बजेट नदिएको भन्दै स्थानीय तहका जनप्रतिनिधिसहितले आन्दोलनको घोषणा गरेका छन् ।
म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जय कुमार तुम्बाहाम्फेको संयोजकत्वमा सर्वदलीय संघर्ष समिति बनाएर आन्दोलनको घोषणा गरिएको छ । समितिको बुधबार बसेको बैठकले पाँच वटा निर्णय गरेको छ ।
संघर्ष समितिले सांसदहरूलाई नगरपालिका प्रवेशमा रोक लगाउनेदेखि मन्त्रालयमा धर्ना दिनेसम्मको निर्णय गरेको छ । समितिले गरेको ४औं नम्बरको निर्णयमा भनिएको छ ‘जिल्लाबाट निर्वाचित संघीय तथा प्रदेशका माननीयज्यूहरूलाई लम्भुघाटको पुलको निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन नगरे म्याङ्लुङ नगरपालिका प्रवेशमा रोक लगाउने ।’
यस्तै, सडक डिभिजन कार्यालयका कर्मचारीलाई पनि नगरपालिका क्षेत्रमा प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ । सडक डिभिजन कार्यालय र भौतिक पूर्वाधार मन्त्रालयमा धर्ना दिनेसम्मका कार्यक्रम संघर्ष समितिले तय गरेको छ ।
तीन वर्षमा बन्नुपर्ने पुल ११ वर्षसम्म नबनेपछि सर्वदलीय समिति बनाएर आन्दोलन थालिएको मेयर तुम्बाहाम्फेले बताए ।
‘हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरै पटक भेटेर फोटो खिचाएका छौं । ज्ञापन पत्र बुझाएका छौं । तर, काम हुँदैन । अब कति दु:ख सहनु’, उनले भने, ‘ठेकेदारले काम गर्न थालेपछि मन्त्रालयका कर्मचारीले बजेट छैन भन्छन्। म एमालेबाट जितेको हु । एमाले-कांग्रेस मिल्दा पनि अवस्था उस्तै भएपछि अब आन्दोलन गर्नुको विकल्प भएन । मेरो पद गए पनि जाओस् ।’
तेह्रथुम र पाँचथर बासीले यसअगाडिदेखि नै आन्दोलन गर्ने चेतावनी दिँदै आएका थिए ।
सडक डिभिजन कार्यालय धनकुटाले स्वच्छन्द निर्माण सेवा काठमाडौंलाई ३ वर्षमा काम सम्पन्न गर्ने गरी २०७० सालमा ठेक्का सम्झौता गरेको थियो । तर, अहिलेसम्म उक्त पुल भने बनेको छैन । म्याद सकिएको र पैसा नभएको भन्दै ठेकेदारले काम गर्न छाडेपछि जनप्रतिनिधिसहित विभिन्न राजनीतिक दलका नेताहरूले संयुक्त आन्दोलन गर्ने निर्णय गरेका हुन् ।
सडक डिभिजन कार्यालयका अनुसार १ सय ६० मिटर लामो पुल बनाउन स्वछन्द निर्माण सेवाले १५ करोड ३६ लाख रूपैयाँको लागतमा निर्माण सम्पन्न गर्न ठेक्का सम्झौता गरेको थियो । ‘ठेकेदारलाई दबाब दिएपछि ७० प्रतिशत काम सकिएको छ’, मेयर तुम्बाहाम्फेले भने, ‘तर अहिले म्याद पनि सकिएको र बजेट पनि अभाव भएको भन्दै ठेकेदार हिँडेपछि हामी आन्दोलन गर्न बाध्य भएका हौं ।’
केही समय अगाडि काम चाँडो गर्न माग गर्दै म्याङ्लुङका युवा अर्जुन ढुंगानासहितको टोलीले मन्त्रालयदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएको थियो ।
पुल निर्माणको काम चाँडो सम्पन्न गर्न माग गर्दै जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरू पटक–पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालयसम्म पुगेर मन्त्रीहरूको ध्यानाकर्षण गराएका थिए ।
पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङ्लुङ नगरपालिकालाई जोड्ने उक्त मोटरेबल पुल निर्माण सम्पन्न भएपछि दुवै जिल्लाको सदरमुकाम जोड्न सहज हुने स्थानीयहरू बताउँछन् ।
पाँचथर सदरमुकाम फिदिमबाट ४५ किलोमिटर र तेह्रथुम सदरमुकाम म्याङ्लुङबाट १९ किलोमिटरको दूरीमा तमोर नदी रहेको छ । स्थानीय उत्पादन बजारसम्म ल्याउन समेत समस्या भएको नागरिकहरू बताउँछन् ।
तेह्रथुमबाट प्रतिनिधिसभामा सीता गुरुङले जितेकी छन् भने प्रदेशसभामा किशोरचन्द्र दुलाल र दुर्गा प्रसाद चापागाईंले जितेका छन् । गुरुङ र चापागाईं मन्त्री समेत भएका थिए ।
आयोजनाको थपिएको म्याद अघिल्लो वर्ष असार २५ गते सकिएका थियो । म्याद थपका पुन: निवेदन दिए पनि अहिलेसम्म म्याद थप नभएको आयोजनाका प्रोजेक्ट म्यानेजर अजय लामिछानेले बताए ।
‘हामीले काम थालेपछि पुलको रिडिजाइन पनि गर्नु पर्ने अवस्था आएकाले दुई वर्षसम्म होल्ड भयो’ पुलका प्रोजेक्ट म्यानेजर लामिछानेले भने, ‘हामीले साढे तीन करोडभन्दा बढी भुक्तानी लिन बाँकी भएकाले काम रोकिएको हो ।’ उनले पुलको भौतिक प्रगति ७० प्रतिशत भइसकेको पनि दाबी गरेका छन् ।