आज संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ । बिहान ११ बजे प्रतिनिधि सभा र मध्याह्न १२ बजे राष्ट्रिय सभा बैठक बस्ने छ।
यसअघि बुधबार विपक्षी दलहरूको अवरोधका कारण दुवै सदनको बैठक स्थगित भएको थियो ।
कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयलाई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै सबै विपक्षी दलहरूले संसद्मा विरोध जनाएका थिए।
आजको प्रतिनिधि सभा बैठकमा अर्थ मन्त्रालय , गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।
राष्ट्रिय सभा बैठकका लागि पनि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।
घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले आज पनि संसद् अवरोध गर्ने जनाएका छन् ।