२४ जेठ २०८३, आइतबार

गण्डकी र कोशीपछि लुम्बिनी यात्रामा विद्या भण्डारी

चैत १४, २०८१
बुटवल
गण्डकी र कोशीपछि लुम्बिनी यात्रामा विद्या भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार रूपन्देही आइपुगेकी छन् । एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चा भइरहँदा भण्डारी गण्डकी र कोशीपछि लुम्बिनी प्रदेशको यात्रामा निस्किएकी हुन् ।

रुपन्देहीमा भण्डारीको चार दिने ‘व्यस्त कार्यक्रम’ रहेको एमाले केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले जानकारी दिइन् ।

‘अहिले उहाँ भैरहवामा उद्यमी महिलाहरूसँग भेटघाटमा हुनुहुन्छ । साँझ पाँच बजे बुटवलको लुम्बिनी केबलकारबाट पाल्पाको नुवाकोट गएर कामाख्या मन्दिर दर्शन गर्ने कार्यक्रम छ । साँझ उहाँ भैरहवाको सिद्धार्थ भिलासा होटलमा बस्नुहुन्छ’, अर्यालले भनिन्, ‘भोलि १५ गते उहाँले लुम्बिनीमा बुद्धिष्टले बनाउन लागेको गुम्बाको शिलान्यास गर्ने कार्यक्रम छ । त्यसपछि उहाँ केहीबेर लुम्बिनी घुम्नुहुन्छ । लुम्बिनीबाट फर्किएर उहाँ नवलपरासीको त्रिवेणी दर्शन गर्नुहुन्छ । साँझ भैरहवा नै आउनुहुन्छ ।’ 

१६ गते सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको लुम्बिनी प्रदेशसभाका महिला सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षसहित सबै पार्टीका महिला नेतृत्वहरूको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको अर्यालले बताइन् । 

त्यसपछि भण्डारी १७ गते काठमाडौं फर्किने कार्यतालिका रहेको बताएको छ । 

बिहीबार भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा ओर्लिँदा एमाले सचिव पद्मा अर्याल, एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी, सांसद वासुदेव घिमिरे, प्रदेश सांसद जानकी न्यौपाने र स्थानीय तहका उपप्रमुखहरू भण्डारीलाई स्वागत गर्न पुगेका थिए । 

एमाले सांसद घिमिरेले विभिन्न महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी रुपन्देही आएको जानकारी दिए । धार्मिक र सामाजिक यात्राको नाममा विभिन्न जिल्ला पुग्दा भण्डारीलाई समर्थकहरूले पार्टी राजनीतिमा सक्रिय हुन आह्वान गरेको देखिन्छ । 

एमाले कार्यकर्ताहरूका साथै शुभेच्छुक र समर्थकहरूले भण्डारीको लुम्बिनी यात्रालाई महत्वपूर्ण चासोका साथ हेरेका छन् । एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन आवश्यक रहेको उनी समर्थक नेताहरूले बताउँदै आएका छन् । 

भण्डारी भने सक्रिय राजनीतिमा फर्कने–नफर्कने अहिलेसम्म औपचारिक रूपमा बताएकी छैनन् । तर,उनको सक्रियता हेर्दा राजनीतिमा फर्किने संकेत देखिन्छ ।  

एमालेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गुटबन्दी र निषेध गरेको भन्दै असन्तुष्टि बढेकाले केही नेताहरूले एमालेलाई एक ढिक्का राख्न पनि भण्डारी सक्रिय राजनीतिमा आउनुपर्ने बताउँदै आएका छन् । 

हालै एमाले मोरङको जिल्ला अधिवेशनमा पार्टीको संस्थापन समूहलाई भण्डारीको साथ रहेको समूहले ‘क्लिन स्वीप’ पारेपछि उनको चर्चा अझै बढ्दै गएको छ । 

salt training

कमेन्ट गर्नुहोस्