२५ असार २०८३, बिहीबार
गणतन्त्रवादी-राजावादी आमने-सामने

काठमाडौंमा दोहोरो शक्ति प्रदर्शन : एसएसपीको कमाण्डमा ३५ सय प्रहरी परिचालन

चैत १५, २०८१
काठमाडौं
काठमाडौंमा दोहोरो शक्ति प्रदर्शन : एसएसपीको कमाण्डमा ३५ सय प्रहरी परिचालन

काठमाडौंमा आज दोहोरो शक्ति प्रदर्शन हुने भएको छ । गणतन्त्र र राजावादीले काठमाडौंका विभिन्न ठाउँमा शक्ति प्रदर्शन गर्न लागेका हुन् । 

राजसंस्था पुन:स्थापनाका लागि राजावादीले तीनकुने र गणतन्त्रवादीले भृकुटीमण्डपमा सभा गर्ने तय भएको छ । 

समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् । 

समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्नेगरी रुट तय गरेको छ ।

सभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिने मोर्चाले जनाएको छ । बबरमहल (पुलको छेउ), कुपण्डोल, त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्तिबाटिका, मैतीदेवीबाट जुलुस निकाल्ने तय भएको छ । मोर्चाले निकाल्ने जुलुस भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजे सभामा परिणत हुनेछ ।

यता, नवराज सुवेदी नेतृत्वको राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेको छ । उनीहरूले तीनकुनेमा सभा गर्ने तयारी गरेका छन् । 

काठमाडौंका दुई स्थानमा हुने बेग्लाबेग्लै समूहको प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमाण्डमा तीन हजार पाँच सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी काठमाडौं उपत्यका प्रहरी कार्यालयको छ । 

सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले प्रदर्शनीमार्ग र तीनकुनेमा सादा पोशाकमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ  ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले सुरक्षा कमाण्डको नेतृत्व गर्नेछन् । तीनकुनेमा बानेश्वर, गौशाला वृत्तका डीएसपी खटिनेछन् भने प्रदर्शनीमार्गमा जनसेवा, दरबारमार्ग र सिंहदरबार वृत्तका डीएसपी खटिने छन् । 

काठमाडौं परिसरमै कमाण्ड सेन्टर बनाएर प्रहरी खटनपटन गर्ने व्यवस्था मिलाइएको छ । कमाण्ड सेन्टरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसमेत बसेर निर्देशन दिने भएका छन् । प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई संयुक्त रूपमा परिचालन गरिने काठमाडौं प्रहरी प्रमुख, एसएसपी अधिकारीले जानकारी दिए । 

सुरक्षा रणनीति अनुसार पूर्वराजाका समर्थकलाई सकभर रिङरोडमा मात्रै जुलुस निकाल्नेगरी ‘कर्डन’को व्यवस्था मिलाइएको छ । भक्तपुरबाट आउने राजावादीहरूलाई तीनकुनेमै रोक्ने रणनीति प्रहरीले बनाएको छ । त्यस्तै, समाजवादी मोर्चाका समर्थकलाई भने भक्तपुरतिरबाट कोटेश्वर हुँदै बालकुमारीतर्फ ‘डाइभर्ट’ गर्ने तयारी प्रहरीको छ । 

‘सकभर मुठभेड हुन दिने अवस्था आउन दिँदैनौं, शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी चुक्दैन’, एसएसपी अधिकारीले भने, ‘प्रदर्शनमा उत्रिनेहरूलाई पनि संयम भएर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न हामी सुझाउँछौं ।’

salt training

कमेन्ट गर्नुहोस्